विराटनगर । राजधानी बाहिरको ठूलो पुरस्कार राशी भएको फुटबल प्रतियोगिता ‘विराट गोल्ड कप’ आज (बिहीबार)देखि सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिता रात्रीकालीन हुनेछ ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् । साँझ ६ बजेदेखि औपचारिक कार्यक्रम सुरु भएर साँझ ७ बजेदेखि प्रतियोगिता सुरु हुने आयोजक विराट गोल्डकपका सहसंयोजक सुवाशिष कोइरालाले बताए ।नेपालमा आयोजना हुने पुरानो प्रतियोगिता मध्येको एक महेन्द्र गोल्डकपको परिमार्जित रुप नै विराट गोल्डकप हो । २०१८ सालमा तत्कालीन बडाहाकिम दामोदर शमशेरले राजा महेन्द्रको नाममा ‘श्री ५ महेन्द्र गोल्डकप’ स्थापना गरेका थिए । गणतन्त्र प्राप्तीपछि भने विराट गोल्डकप राखेर २०६८ सालबाट प्रतियोगिता संचालन गरिएको हो । नेपालमा फुटबल प्रतियोगिता दिउँसोको समयमा हुन्छ । पूर्वाधार अभावका कारण रात्रीकालीन खेलकुदका लागि दशरथ रंगशालाको विकल्प थिएन ।
२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको दशरथ रंगशालामा समेत संचालनमा नहुँदा एक समय लगभग नेपालका रात्रिकालीन खेलकुद ठप्प जस्तै थियो । गर्मी मौसमका कारण दिवाकालीन फुटबल आयोजना गर्नु नै विराटनगरको लागि चुनौती थियो । त्यसमा पनि रात्रीकालीन फुटबल आयोजना गर्न त पूर्वाधार नै थिएन । यद्यपि मोरङ व्यापार संघका तत्कालिन उपाध्यक्षसमेत रहेका नविन रिजाललाई गोल्डकपको संयोजक बनाएपछि २०७४ चैत्र १७ देखि रात्रीकालीन फुटबल सुरु भयो ।
पहिलो संस्करणको रात्रीकालीन फुटबल सम्झँदै तत्कालीन संयोजक रिजाल भन्छन् ‘म संयोजक भएपछि नेपालमा फरक किसिमले प्रतियोगिता गर्ने सोचेर बसेको थिएँ । दिउँसो किन गर्ने राति गर्दा के हुन्छ भनेर साथीभाईहरुसँग सल्लाह भयो । राति गर्ने सोच बनाइयो । तर साधन केही थिएन । १ महिना मात्र बाँकी थियो प्रतियोगिता आयोजना गर्नका लागि एक सय फिटको स्टिलको पोल लगाउन आर्थिक समस्याका कारण सम्भव थिएन । १ सय फिटको बाँसको पोल लगाऊँ भन्ने सल्लाह भयो,’ उनले भने, ‘बाँसको पोल बनाउन सहमत भए पनि अड्याउन समस्या थियो । हामीसँग इन्जिनियर पनि थिएनन् । मात्रै मुढे बलका भरमा अड्याइएको थियो । फ्लड लाइटलाई हामीले हेलोजिन लाइट जस्तै सम्झिएका थियौ । तर, त्यस्तो नहुँदो रहेछ इन्टरनेटमा खोजी गर्दा पनि नेपालमा नपाइने रहेछ । विदेशबाट ल्याउनुपर्ने भयो ।’रिजाल नेतृत्वको गोल्डकप आयोजक टोलीले नेपालमा नपाउने भएपछि विदेशमा लाइट खोज्न सुरु गरे । विदेशमा पाउने भएपनि नेपालमा ल्याउन आर्थिक रुपमा निक्कै महँगो भएपछि भारतको दिल्लीदेखि दक्षिणका धेरै क्षेत्रमा खोजेपछि बल्ल लाइट ल्याउन सफल भएको रिजाल स्मरण गर्छन् ।
‘नेपालमा फ्लड लाइट सम्बन्धी प्राविधिक ज्ञान भएको कोही पनि मानिसहरु थिएनन् । ८० देखि लिएर ३ सयसम्म पु¥यायौं लाइट नपुगेर हल्यान्डदेखि मगाएर खेल आयोजना गरेका थियौं । सबैले व्यवस्थापनको तारिफ गर्नुभयो,’ रिजालले भने । उनको टिमको अथक प्रयासकै कारण नेपाली औद्योगिक क्रान्तिको साक्षी विराटनगरका उद्योगी व्यवसायी र स्थानीय फुटबल प्रेमीहरुले मोफसलमा नयाँ प्रयोग स्वरुप रात्रीकालीन फुटबल हेर्न पाए ।
पहिलो संस्करणको उपाधि भिडन्तमा थ्रीस्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै उपाधि जित्न सफल रहयो । तत्कालीन प्रदेश १ मा आयोजना भएको पहिलो रात्रीकालीन फुटबल भएकाले पनि दर्शकहरु ठेलामठेल गर्दै पाराफिटमा बसेका थिए ।विराटनगरबासीहरुको अपार मायापछि आयोजकलाई शहिद रंगशालामा स्थायी लाइटको व्यवस्था गर्न पाए विराटनगरलाई डे–नाइट स्पोर्टस सिटीको रुपमा विकास गर्न सकिन्छ भन्ने सोच पलाएको रिजाल बताउँछन् । त्यसपछि प्रदेश सरकारले लाइट जडानका लागि रकम विनियोजन गर्यो र हालसम्म उक्त लाइटकै बलमा रात्रीकालीन फुटबल आयोजना भइरहेको छ । ‘जनताको सामुन्ने कबुलेपछि १/२ वर्षसम्म निरन्तर फलोअप गरेर बल्ल बल्ल उहाँहरुले बजेट पास गरेपछि टेन्डर निकालेर फल्र्ड लाइट स्थापना गरेको हो । ५ करोड रुपैयाको लागतमा स्थापना गरिएको फल्र्ड लाइट अहिले ४–५ सय लसको रहेको छ,’ रिजालले भने ।
गर्मीका कारण दिउँसो हुने प्रतियोगिता नरुचाएका विराटनगरबासीहरु आजकाल विराट गोल्डकप पर्खिएर बस्छन् र साँझ हेर्छन् । घरानियाहरु मात्र होइन दिनभर मजदुरी गर्ने मजदुरहरुको चासोसमेत विराट गोल्डकप भन्ने बुझेका छन् । फुटबल क्षेत्रका अनुभवी वसन्त अर्यालले भने, ‘पहिला महेन्द्र गोल्डकप हुँदा बखत नै विराटनगरमा फुटबलको चार्म थियो । बीचको समयमा टेलिभिजनको विकास भएपछि केही कम भएको थियो । तर अहिले रात्रीकालीन फुटबल सुरु गरेपछि दर्शक धान्नै गाह्रो छ । वार्षिक रुपमा नै आयोजना होस् भन्ने विराटनगरबासीको चाहना छ ।’
विराटनगरमा २०७५ चैत मा पहिलोपटक महिला साफको पाँचौ संस्करण विराटनगरको शहिद रंगशाला सम्पन्न भएको थियो । पहिलो पटक काठमाडौं बाहिर महिलाको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भए पनि पूर्वेली दर्शकहरुले खासै रुचाएनन् । तर विराट गोल्डकप पूर्वमा रात्रीकालीन फुटबलमा दर्शकहरु आकर्षित हुँदै आएका छन् ।
यसपटक पनि रंगशालाको सुरक्षाका लागि रेलिङहरु ग्रिलको बनाइएको छ । सुरक्षासँगै रंगशालासमेत सिंगारिएको छ । स्थायी संरचना पनि छ । पुरानो भएकाले प्याराफिट पनि मर्मत गरिएको छ । शहिद मैदानको क्षमता ६ हजार ५ सय हो । रंगशाला आउन नसक्ने दर्शकहरुलाई लक्षित गरेर आयोजक विराट गोल्डकप फुटबल ट्रस्टले प्रत्यक्ष प्रसारणको समेत व्यवस्था गरेको छ । रात्रिकालीन समयमा घरबाट फुटबल हेर्न सक्ने व्यवस्था रहेको सहसंयोजक कोइरालाले बताए । उनले प्रत्यक्ष प्रसारणका लागि गुणस्तरिय क्यामरा जडान हुने बताए ।