विराटनगर । नेकपा एमालेले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएपनि माओवादीले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनाएको छ ।
माओवादी प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राष्ट्रिय राजनीतिमा जे जस्तो परिस्थिति निर्माण भएपनि प्रदेश १ मा सत्ता समीकरणको फेरबदलबारे अहिले नै नसोचेको बताए ।
आङ्बोले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन कायम रहने पनि प्रष्ट पारेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले भने ‘यो सरकारले नै निरन्तरता पाउँछ । अहिले प्रदेश १ को सत्ता समीकरण परिवर्तन हुँदैन । माओवादीले प्रदेश १ को सरकार परिवर्तनका बारेमा थप सोचेको छैन ।’
प्रदेश १ मा माओवादी, जनता समाजवादी र राप्रपाको समर्थनमा एमाले नेतृत्वको सरकार छ । ९३ सीट रहेको प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सिटसहितको समर्थनमा एमाले नेतृत्वको सरकार बनेको छ । सरकारमा माओवादीका २, राप्रपाका १ र जसपाका १ जना मन्त्री छन् ।


