जनकऋषि राईको कथा संग्रहभित्रको कथा ‘कुमार मामा’ नाटकमा रुपान्तर

धरान । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको कथा संग्रहभित्रको कथा ‘कुमार मामा’ नाटकमा रुपान्तर भएको छ ।
रंगकर्मी निर्देशक विष्णु मोक्तानको निर्देशनमा कुमार मामा नाटक मञ्चनको तयारी भइरहेको छ ।

धरान ८ स्थित सभागृहमा फागुन १७ गतेदेखि ३० गतेसम्म नाटक मञ्चन हुनेछ । अहिले सभागृहमा रंगकर्मीहरुले नाटकको अभ्यासलगायत अन्य तयारी भइरहेको छ । युवा रंगकर्मीहरुलाई अग्रज रंगकर्मी बिक्रमसिंह थारुले मार्गनिर्देशन गरिरहेका छन् ।

निर्देशक मोक्तानले फागुन १७ गतेबाट निरन्तर मञ्चन हुने बताए । उनले रैथाने बिषय, भुँइमान्छेहरुको कथा लिएर नाटक तयार गरिएको जानकारी दिएका छन् । नाटकमा निर्देशक मोक्तानसँगै उदय बेघा लिम्बु, उदासी पायल राई, विकास कुलुङ, मानबहादुर राई, दिपेन्द्र राई, तीर्थ विश्वकर्मा, एलिना रुम्दाली, करिष्मा क्षेत्री, एञ्जल तामाङलगायत कलाकारहरु छन् ।

नेपथ्यमा रहेर गुरु पोखरेल र बिक्रमसिंह थारुले सहयोग गरिरहेका छन् । नाटकको नियमित शो साँझ ५ बजे हुन्छ । त्यसबाहेक बिहान वा दिउँसो बुकिङ भयो भने मञ्चन गर्ने तयारी छ ।

विद्यार्थीलाई सहुलियत भनेर ३ सय र अन्य ५ सय तोकिएको निर्देशक मोक्तानले बताए । धरानमा पैसा तिरेर नाटक हेर्ने बानी बसेकोले यसपाली पनि टिकट काटेर नै नाटक हेरिने उनले अपेक्षा गरेका छन् । नाटक १ घण्टा २० मिनेटको हुनेछ ।

फाल्गुन १६, २०७९, बिहानको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर