सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिबारे निर्णय भएन

विराटनगर । प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।

रास्वपाको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सरकारमा सहभागिताको विषयमा प्रधानमन्त्रीसँग कुरो नमिलेपछि मन्त्रीहरु फिर्ता गरेर समर्थन कायम राखेको अहिले पनि त्यहि परिस्थिति रहेको ठहर बैठकले गरेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था नदेखिएको भन्दै बैठकले समर्थन कायम राखेको हो ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा सत्तारुढ गठबन्धनको नेतृत्व गर्ने प्रधानमन्त्रीले काँग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि सरकारमा रहेको राप्रपाका मन्त्रीहरु यसअघि नै फिर्ता भइसकेका छन् भने समर्थन पनि फिर्ता लिने निर्णय पार्टीले गरेको छ । एमालेले पनि आज बसेको चिबालय बैठकबाट सरकारमा रहेका एमालेका मन्त्रीहरु फिर्ता गर्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

एमालेसँग नजिक रहेको मानिएको रास्वपाले भने समर्थन कायमै राखेको छ । उसले यसअघि नै एमालेसँगको गठबन्धनमा नरहेको बताइसकेको थियो ।

रास्वपाले राष्ट्रपतिको सन्दर्भमा भने थप छलफल गर्ने बताएको छ । दुवै पक्षले मत मागेको भन्दै बुर्लाकोटीले त्यसबारे अर्को बैठकले निर्णय गर्ने जानकारी दिए ।

फाल्गुन १५, २०७९, दिउँसोको ०१:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर