सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

विराटनगर। नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज बसेको सचिबालय बैठकले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

एमालेसहितका दलहरुको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपतिको चयनमा प्रचण्डले काँग्रेसका उम्मेदवारलाई समर्थन गरे एमाले र माओवादीको सहकार्य संकटमा परेको थियो ।

पछिल्लो घटनाक्रमको कारण सरकारमा सहभागी राप्रपाले आफ्ना मन्त्रीलाई राजिनामा दिन लगाएर सरकारको समर्थन शनिबार नै फिर्ता लिइसकेको छ । एमालेले भने राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने निर्णय यसअघिको बैठकबाट गरेको थियो ।

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति कार्यान्वयन नगरेकोले एमाले सरकारबाट बाहिरिएको बताए ।

तत्काल सरकार नछाड्ने निर्णय गरेको भएपनि प्रधानमन्त्रीले परराष्ट्रमन्त्री विमला पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकेपछि एमालेले सरकारबाट अलग भएर समर्थन फिर्ता लिनेबारे निर्णय गरेको हो । प्रधानमन्त्रीले समिकरण फेरेपछि तत्काल सरकारबाट अलग हुनुपर्नेमा ढिला भएको भन्दै एमालेभित्र आलोचना भइरहेको थियो ।

फाल्गुन १५, २०७९, दिउँसोको १२:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर