एमाले सचिवालय बैठक बस्दै, सरकारबाट बाहिरिने संभावना

विराटनगर । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पार्टीका महासचिव शंकर पोखरेलका अनुसार अहिले ११ बजे सचिवालय बैठक बस्दैछ ।

परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री प्रचण्डको निर्देशनमा रोकिएपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।

राष्ट्रपति चयनको लागि प्रधानमन्त्रीले विपक्षी दलहरुसँग सहमति गरेपछि सरकारमा सहभागी राप्रपाले आफ्ना मन्त्रीलाई राजिनामा दिन लगाएर सरकारको समर्थन पनि फिर्ता लिइसकेको छ । तर, एमालेले भने राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने निर्णय यसअघि गरेको थियो ।

तत्काल सरकार नछाड्ने निर्णय गरेको भएपनि प्रधानमन्त्रीले परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकेपछि एमालेले आजै सरकारबाट अलग भएर समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने संभावना रहेको पार्टीका एक पदाधिकारीले जानकारी दिए । ‘प्रधानमन्त्रीले समिकरण फेरेपछि तत्काल सरकारबाट अलग हुनुपर्नेमा ढिला भएको थियो’ उनले भने, ‘अब आफ्नो पार्टीका मन्त्रीलाई अपमान गर्न थालेपछि पनि सरकारमा बसिरहनु ठिक नभएकोले अलग हुनुपर्छ ।’

एमालेले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सचिवालय बैठकमा छलफल गर्ने भएको छ । राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

फाल्गुन १५, २०७९, बिहानको १०:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर