तिमी घृणा गर्छौ,
म सम्मान गर्छु,
तिमीलाई शिरमा राख्छु,
तिमी पैतालाले किचेर राख्छौ,
कसिङ्गर र फोहोर सम्झिन्छौ,
म अगुवा र ठालू मान्छु,
शदियौंदेखि चलिआएको रित जस्तै भएको छ,
तिमी रितै हो, भनेर सिकाउँछौ,
मैले स्विकारेको छैन,
यहि हो,
तिमी र म बीचको अन्तर,
म भन्छु,
अन्याय भएको छ,
तिमी भन्छौ,
न्याय कायम भएको छ,
समानता छ,
म समाजको चरित्रमा समनता देख्दिन,
त्यसैले समानता छ, भनेर भन्नै सक्दिन,
तिमी समानता देख्छौ,
भन्नलाई अपिल गर्छौ,
यहि हो,
तिमी र म बीचको अन्तर,
म भन्छु,
धेरै बिग्रेका छ्न्,
अब जसरी सच्याउनु पर्छ,
तिमी भन्छौ,
अलि–अलि बिग्रीएका छ्न्,
यसरी नै चल्दै आएको हो,
चलिरहन्छ, सच्याउनु पर्दैन,
फेरी पनि म भन्छु,
हस्तक्षेप गरेर अघि बढनुपर्छ,
समाज विकासको नियमलाई मान्नुपर्छ,
अनि मात्र परिवर्तन सम्भव छ,
यहि हो,
तिमी र म बीचको अन्तर,
म भन्छु,
अधिकार चाहिएको छ, पाईएको छैन,
तिमी भन्छौ,
अधिकार पाईएको छ, कराउनु पर्दैन,
फेरी पनि म भन्छु,
श्रेस्तामा लेखिएको छ,
व्यवहारमा देखिएको छैन,
फेरी तिमी भन्छौ,
लेखिएपछि, आफैं स्थापित हुन्छ,
म भन्छु,
मनबाट स्वीकार गरेर,
सबैले सुरुवात गर्नुपर्छ,
अनि मात्र स्थापित हुन्छ,
यहि हो,
तिमी र म बीचको अन्तर,
तिमी भन्छौ,
म असल छु,
म भन्छु,
मलाई असल लागेको छैन,
तिमी फेरी भन्छौ,
प्रक्रिया पूरा गरेको छु,
अनि नेतृत्व गरेको छु,
म पनि फेरी भन्छु,
प्रक्रिया नै गलत पनि हुन सक्छ,
त्यसैले असल प्रमाणित हुन,
प्रमाणपत्र पेश गर्नु पर्दैन,
अरुलाई महशुस हुनुपर्छ,
यहि हो,
तिमी र म बीचको अन्तर,
‘समाप्त’