विराटनगर । राष्ट्रपति चुनावलाई लिएर सत्ता गठबन्धनमा फाटो आउने जोखिम बढेका बेला नेकपा एमाले नेताहरु संशकित देखिएका छन् । यद्यपि सार्वजनिक रुपमा भने उनीहरुले त्यसको संकेत दिएका छैनन् । तर, आश्वस्त देखिने र ढुक्क हुने अवस्थामा उनीहरु देखिएका छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको दल माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बताएपछि एमाले वृत्त तरंगित छ । निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
त्यही सन्दर्भमा एमाले नेताहरु यसबारे सन्तुलित भएर पेश भइरहेको देखिन्छ । सोमबार विराटनगरमा एमालेका महासचिव शंकर पोखरेल र अध्यक्ष केपी ओलीका विश्वासपात्र गोकुल बास्कोटा विराटनगरमा थिए । पार्टीकै कार्यक्रममा सहभागी हुन आएका यी दुवै नेताले एमाले त्रस्त रहेको संकेत दिए ।
महासचिव शकर पोख्रेलले राष्ट्रपतिको चुनावको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाले प्रचण्ड व्यवहार ‘नकारात्मक नभएको’ बताए । उनले काँग्रेसले अनावश्यक मोह देखाएको आरोप लगाएर आक्रोश पोखे । प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको उनको भनाइ थियो । यद्यपि आन्तरिक बैठकहरुमा एमालेका पदाधिकारीहरुले प्रधानमन्त्रीप्रति आशंका प्रकट गरिरहेको सार्वजनिक भइरहेका छन् ।विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोख्रेलले प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजौँ भन्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने नरहेको बताए । उनले राष्ट्रपतिमा नेपाली काँग्रेसले दाबी गर्न नै नमिल्ने बताएका छन ।
‘नेपाली काँग्रेसले पहिला आफूले आफ्नो पोजिसन कुन हो भनेर प्रस्ट पार्नुपर्छ’, उनले भने ‘अहिले काँग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ । दिशाहीन अवस्थाको जस्तो देखिएकाले पहिला ऊ सच्चिनुपर्छ ।’ काँग्रेसले नेपालका प्रमुख पदहरूमा दाबी गर्नुको अर्थ नरहेको उनले बताएका छन । ‘दाबी गर्नका लागि उसले सत्ता पक्षका रूपमा घोषणा गर्नुप¥यो अहिलेसम्म उसले प्रतिपक्ष भनेर दाबी गर्दै संसद सचिवालयमा पत्र पठाएको छ । काँग्रेसले आफू पहिला सच्चिनु प¥यो अनि मात्रै दाबी गर्न मिल्छ ’ उनले भने ।
राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पना नै गर्न नसकिने उनको तर्क रहेको छ । संघदेखि प्रदेशसम्म नै गठबन्धनको सरकार रहेकाले सत्ता गठबन्धनको उम्मेदवारले राष्ट्रपति हुने बताएका छन । नेपाली काँग्रेसले सत्ता बाहिर रहँदा अस्थिरता ल्याउनका लागेको आरोप पनि उनले लगाएका छन् ।
रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले दबाब दिइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा महासचिव पोख्रेलले अहिले दबाब नदिएको बताएका छन । गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पाटीबीच छलफल भएर मात्रै टुङ्गिने उनको भनाइ छ । उनले रवि लामिछानेको मुद्दाको फैसला प्रति असन्तुष्टि व्यक्त गरेका छन । न्यायालयको भूमिका निष्पक्ष नभएको उनले बताएका छन् ।एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्र भद्रगोल हुने बताएका छन् ।नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बास्कोटाले नेपालको राजनीतिक अवस्था षड्यन्त्रदेखि षड्यन्त्रसम्म र गठबन्धनदेखि गठबन्धनसम्म भएकाले एमालेका उम्मेदवारलाई माओवादीले सघाउने दाबी गरेका छन् ।
सभामुख र राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएकाले माओवादीले नैतिकताका आधारमा सघाउनुपर्ने उनले बताए । ‘बीचमा आएर राजनीतिक परिवर्तन हुन्छ भने एउटाको मात्रै भद्रगोल हुन्छ भन्ने छैन,’ उनले भने, ‘देशकै भद्रगोल हुन्छ ।’ सधैं षड्यन्त्रको राजनीति गरेर कहीँ पनि नपुगिने भएकाले परिवर्तनको बाटो रोज्नुपर्ने उनको तर्क रहेको छ । अब राजनीतिक कोर्स परिवर्तन गर्न नहुने नेता बास्कोटको भनाइ छ ।
नेपालमा राजनीतिक कोर्स परिवर्तन गर्न यस्तो बाह्र–सत्ताइस खेल भयो भने देश दुर्घटनातिर जाने सम्भावना रहेको उनले बताए । ‘देश तुरुन्तै फेरि मध्यावधितिर जानुपर्ने अवस्था पनि आउन सक्छ,’ उनले भने, ‘त्यसैले दलहरूले चेत्नुपर्छ ।’ अहिले राजनीतिक दलहरूले चेत्नुपर्ने बेला आएको उनले बताए । चुनावको परिणामलाई हेर्दा कसैको बहुमत नआएकाले अब दलहरूले चेत्नुको विकल्प नै नरहेको नेता बास्कोटाले बताए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!