मानसिक रोगविरुद्ध सामूहिक अभियान थालौं

 गणेश लम्साल

अपाङ्गता भएका व्यक्तिको विश्व सूचीमा पारिएको भएपनि नेपालमा अझै मानसिक बिरामीहरुले भरपर्दो उपचार पाउन सकिरहेका छैनन । यसैले उनीहरु डिप्रेसनबाट कडा खाले मनोरोगी बनेर अलपत्र र कष्टकर जीवन बाच्नुपर्ने बाध्यतामै छन् । अझै सडकमा भौतारिएर हिँडन बाध्य कडा ्खाले मानसिक रोगीहरु घर, समाज, राज्य सबैतिरबाट उपेक्षामा परिरहेका छन । केही गैरसरकारी संस्थाहरुले सेवाको भावनाले कडा खाले मनोरोगीहरुको उद्धारमा सक्रृयता देखाए पनि राज्यतर्फबाट भने अझै कुनै पहलकदमी भएको छैन । कडा खाले मानसिक रोगीहरुको उपचार र पुनःस्थापनामा चुनौती कायमै छ । तीनवटै तहका सरकारले हेरचाह केन्द्रहरु स्थापना गरेर उनीहरुको उपचार र पुनःस्थापनामा चासो दिन चाहिरहेका छैनन् ।

हाम्रो प्रदेश १ मा अझै मानसिक स्वास्थ्य नीति छैन । सरकारले सस्तो लोकप्रियताका लागि देखावटी उद्धारमा सहयोग गरेजस्तो गरेपनि अझै रोकथामका लागि पर्याप्त जनचेतना जागाउन चासो दिएको छैन । यसैले अझै प्रदेशमा मानसिक रोग लागेका कडा खाले गरिब विरामीहरु सहज रुपमा उपचार पाउनबाट वन्चित भैरहेका छन । उनीहरुका आफन्तहरु सामाजिक विभेद भोग्न बाध्य भैरहेका छन् । विज्ञहरुका अनुसार विभिन्न सामाजिक अवयवहरुले गर्दा आजकल दिनदिनै समाजमा मानसिक रोगीहरुको सख्या बढदै जान थालेको छ । तर, अझै उपचारका लागि राज्यमा विज्ञ चिकित्सक, नर्स आदि दक्ष जनशक्त्ति र भौतिक स्रोतसाधन सम्पन्न विशिष्टकृत अस्पतालको अभाव छ ।

अर्कोतिर मानिसक रोगका बारेमा अझै समाजमा बिभिन्न अन्धविश्वास र गलत धारणाहरु कायमै छन । सरकार मानसिक रोग रोकथाममा लागिपर्नु भन्दा छिःछीःदुरःदुर गर्नेरुलाई टुलुटुलु हेरेर बसिरहेको छ । अझै पनि संघ वा प्रदेश वा पालिका सरकारहरु मानसिक रोगलाई समस्या मान्न तयार छैनन । बरु मानसिक रोगी र उसको विरामीलाई घृणा गर्नुपर्छ भन्ने पक्षमै देखिएका छन् । मानसिक रोगीहरु सबैले आफनो समस्या आफै बताउन र आफना लागि अधिकारको आवाज आफै उठाउन पनि सक्दैनन । यसैले उनीहरुको संरक्षणका लागि राज्य सरकार संबेदनशील हुनैपर्छ । मानसिक स्वास्थ्य र मनोरोगबारे आवश्यक सामाजिक चेतनाको विकास सरकारले गराउनैपर्छ ।

घटना अध्ययन अनुसार ९० प्रतिशत मानसिक रोगीहरुको उपचारमा अझै सहज पहँुच छैन । कमजोर आर्थिक अवस्था र चेतनाको अभाव अनि संकिर्ण सामाजिक मानसिकताले गर्दा अपहेलित भई कठोर यातना सहेर उनीहरुका परिवार जीवन ्यापन गरिरहेका छन । उपचार अभावमा कोही सडकमा भौतारिएर त कोही आफनै घरमा थुनिएर वा डोरी र सांङग्लोमा बाँधिएर बाँच्न विवश छन् । केहीलाई दयालु आश्रमले उद्धार गरेर संरक्षण दिएपनि उनीहरुको उचित उपचार हुन नसक्दा पुनःस्थापनाबाट उनीहरु बंञ्चित भैरहेका छन । सुरुमा उदासिनताको रोगी मात्र भएका उनीहरु समयमै उपचार हुन नसक्दा कडा र जटिलखाले मानसिक रोगी (मेनिया) मा फेरिन बाध्य भैरहेका छन् ।

अझै मानसिक रोग लागेको व्यक्ति र उनीहरुको परिवारलाई समाजले सकारात्मक दृष्टिले हेर्ने गरेको छैन । कार्य ्क्षेत्रमा खटिएका मानसिक रोगीहरुको बारेमा त यो असक्षम हो भनिने मात्र हैन अनेकथरिका प्रताडनाहरु समेत दिने गरिएको छ । यसैले धेरैले आत्महत्या गरेर अकालमा ज्यान पनि गुमाइरहेका छन । मानसिक रोग लाग्न नदिन हामीले उदासिनतामा परेका मानिसहरुको कुरा पनि सुन्ने गरेका छैनौ । मानसिक रोगलाई समाजमा अझै निको नहुने रोग मान्ने गरिएको छ । यो रोग लागेका मानिसहरुलाई ‘पागल ’ भनेर हेप्ने , कुटने , परिवारलाई घृणा र विभिन्न विभेद गर्ने गरिएको छ । घर , परिवार र समाजमा डिप्रेसनमा परेको व्यक्तिका कुरा सुनेर सहयोग गर्ने संस्कारको विकास भएकै छैन । जसले गर्दा समाजमा ‘दिन दुई गुना रात चौगुना ’आत्महत्याको दर बढ्दै गइरहेको छ ।

चिकित्सकहरुका अनुसार मानसिक रोग अरु रोगहरु जस्तै निको हुने रोग हो । यो रोग लागेर उपचार पाएपछि ठीक भएर समाजमा पुनःस्थापना भएका धेरै उदाहरण छन् । अझै पनि यो रोग बिरुद्ध समाजमा व्याप्त अन्धविश्वास र गलत धारणाहरु परिवर्तन भैरहेका छैनन् । अझै मनोरोग भनेको पापीलाई मात्र लाग्ने , निको नहुने , डाक्टरले हैन धामीले मात्र निको पार्ने , बोक्सी र डायन लागेर लाग्ने रोग हो भनेर मान्ने गरिएको छ । मानसिक रोग लागेको व्यक्ति निको भएर समाजमा पु्नःस्थापित हुन सक्दैन भन्ने भ्रम पनि कायमै छ । यस्तै बिहे गरिदियो भने मनोरोग निको हुन्छ , मनोरोगीलाई खुल्ला छाडन हुँदैन, यो रोगको उपचार सहज छैन र महंगो हुन्छ भन्ने जस्ता भ्रमहरु पनि कायमै छन् । मानसिक स्वास्थ्य र मनोरोगबारे यस्ता अनेकौ भ्रमहरु भएपनि जनचेतना जगाउँदै उपचारको अधिकार स्थापित गराउनसरकार गम्भीर हुन आवश्यक छ ।

मानसिक स्वास्थ्यको अधिकार पनि मानवअधिकार भएकोले सवै मानसिक रोगीहरुले राज्यमा निशुल्क कानुनी उपचार पाउनुपर्दछ । किनभने नेपालले अपांङगता भएका व्यक्त्तिहरुको महासन्धि २००६ लाई अनुमोदन गरिसकेकोले मानिसक अपांगता भएकाहरुको कानुनी उपचार गर्नु राज्यको दायित्व हुन्छ । तर यी सबै कुरा अझै कागज र भनाइमै मात्र सिमित छन । यसबारे संघ ,् प्रदेशमा निर्वाचित सांसद र पालिकाका जनप्रनिनिधिहरुले पनि चासो दिन आवश्यक छ । मानसिक रोग बिज्ञहरुका अनुसार पहिले यो विभिन्न कारणहरुले गर्दा डिप्रेसन(उदासिनता) का रुपमा देखापर्छ जसलाई ‘न्यूरोसिस’ भनिन्छ । विभिन्न कारणले भएको डिप्रेसनको समयमै उपचार हुन सकेन भने यो रोग बढदै गएर साइकोसिस (कडा मानिसक रोग)मा फेरिन्छ । जसको उपचार जटिल हुन्छ र लामो समय लाग्दछ । यसैले समयमै मानसिक रोगको उपचार गर्न राज्यले सबै स्वास्थ्यकेन्द्रहरुमा दक्ष चिकित्सक र निशुल्क औषधिको व्यवस्था गर्नुपर्ने आवश्कता खडकिएको छ ।

विशेषज्ञहरुका अनुसार सबैखाले मानसिक रोग उपचारबाट निको पार्न सकिन्छ । विभिन्न कारणले मानसिक रोग देखापर्ने भएकोले यसको उपचारमा लापारवाही हैन सजगता आबश्यक पर्दछ । अझै मानिसहरु धक फुकाएर रोगको उपचार गराउन अस्पतालसम्म आउन सकेका छैनन् । अझै पनि सबै उपचार गरिसकेपछि अन्तिममा कतै मानसिक रोग त हैन ? भन्दै आउने र अझै कसैले देख्ला की भनेर मुख छोपेर वा कसैलाई थाहै नदिई उपचार गराउने गरेका छन् । मानसिक रोग अन्य रोग जस्तै भएकोले यसप्रति भएका गलत धारणाहरु हटाउन अब सबैले सामुहिक हल्ला बोल्न ढिलो गर्नुहुँदैन । तीनै तहका सरकारहरुले पनि अन्य रोगहरुका बारे लोककल्याणकारी ढंगले जनचेतना जगाउने कार्यमा कन्जुस्याइँ गर्नुहुँदैन ।

मनोविज्ञहरुका अनुसार सुरुमा डिप्रेसको मात्र बिरामी भए पनि उचित उपचार र परामर्श नपाउँदा मानिसहरु बिस्तारै ‘क्रोनिक’ बिरामीमा फेरिने गरेका छन् । यसैले चाँडै यसलाई अभियानकै रुपमा मानसिक रोगका बिरुद्ध राज्य र नागरिक समाजले हल्ला बोल्न आवश्यक छ । यदि राज्यले मानसिक स्वास्थ्य नीति बनाएर बिरामीको रोकथाम, उद्धार र उपचार अनि पुनःथापनामा ध्यान दिएमा कसैले पनि साङ्लोमा बाँधिएर वा सडकमा अलपत्र भौतारिएर जीवन विताउनुपर्ने अवस्था भोग्नु पर्दैनथ्यो होला ।

सोमबार, १६ माघ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर