सम्पादकीय
कानेपोखरी गाउँपालिकाले गुन्द्रुक उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि सारेर किसानहरुलाई उत्पादनमा सक्रिय बनाएको छ । यो विषय सामान्य लागेपनि निकै सकारात्मक र सन्देशमूलक छ । हिउँदको समयमा तोरी, रायो र मुलाको उत्पादन बढाएर तत्काल हरियो तरकारी बिक्री गरेर किसानहरुले आर्जन गर्न सक्छन् । बढी भएको साग र मुलालाई गुन्द्रुक बनाएर बजारमा बिक्री वितरण गरी वर्षभरि आम्दानी पनि गर्न सक्छन् ।
कानेपोखरी गाउँपालिका कृषि उत्पादनका दृष्टिले राम्रो सम्भावना भएको र विशेष गरि हिउँदमा तोरी खेती बढी गर्ने गरिएकोले तोरीको गुन्द्रुक उत्पादन गर्ने योजना प्रभावकारी बन्न सक्छ । खेतमा बाक्लो उम्रिएको तोरी छाँटेर गुन्द्रुक बनाउँदा एकातिर तोरी खेती राम्रो हुने र अर्कोतर्फ पर्याप्त गुन्द्रुक उत्पादन गर्न सकिन्छ । त्यसरी उत्पादन भएको गुन्द्रुकको बजार खोज्न गाउँपालिकाले नै सहयोग गर्ने भएकोले यो कार्यक्रम किसानमैत्री र उद्यमशीलतासँग सम्बन्धित पनि छ ।
गाउँपालिकाले नीति कार्यक्रम र बजेटमै समावेश गरेर गुन्द्रुक उत्पादनमा जोड गरेकोले पनि यो मोरङका लागि नयाँ अभ्यास पनि हो । यो कार्यक्रमको सफलताले अन्य पालिकाहरुलाई यस्तै उत्पादनमुखी र उद्यमशील कार्यक्रम अघि बढाउन उत्प्रेरित गर्न सक्छ ।
गुन्द्रुक नेपालीहरुमाझ लोकप्रिय तरकारी हो । सागपातलाई जमिनमुनी खाल्डा वा भाँडोमा राखेर अमिल्याएपछि सुकाएर तयार पारिएको गुन्द्रुकको माग विदेशमा बस्ने नेपालीहरुमा अधिक छ । विदेशमा बस्ने झण्डै ५० लाख नेपालीहरु नेपालमा उत्पादन भएको गुन्द्रुकको उपभोक्ता बन्ने सम्भावना छ । गुन्द्रुकको व्यापारलाई व्यवस्थित गर्न सक्दा स्वदेशी बजारमा मात्र होइन विदेशमा पनि ठूलो परिमाणमा गुन्द्रुक निर्यात गर्न सकिने अवस्था छ । यसले गर्दा कानेपोखरी गाउँपालिकाले गरेको यो प्रयास हाम्रो देशको अर्थतन्त्रका लागि सहयोगी बन्न सक्छ ।
आमाको सीप सन्तानलाई, अग्र्यानिक गुन्द्रुक मोरङलाई भन्ने कार्यक्रम ल्याएर यसलाई विदेशमा बस्ने नेपाली माझमा पु¥याउने उद्देश्य गाउँपालिकाले लिएको छ । त्यसका लागि पहिलो पटक ७ लाख ५० हजार रुपैयाँ बजेटको प्रबन्ध गरेका कारण किसानहरु पनि उत्साहित छन् । पहिलो पटक ८ बिघा खेतमा तोरी लगाएर गुन्द्रुक उत्पादन गर्न किसानहरु अग्रसर बनेका छन् । यो सुखद् सन्देश हो ।
नेपाली किसानहरु परम्परागत खेतीबाट अगाडि बढ्न सकेका छैनन् । उत्पादन विविधीकरण गर्दै अगाडि नबढ्ने हो भने किसानहरुको आर्थिक उन्नति सम्भव छैन । त्यसैले उत्पादन विविधीकरण गर्दै नयाँ बजारको खोजी गर्न सबै पालिकाहरुले सम्भव र परिणाममुखी कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । नेपाली विषेशता र स्वादमा गुन्द्रुक, सिन्कीमात्र होइन फलफूलका सुकुटी, मासुका सुकुटी, अचार आदि तयार गर्न व्यवसायिक कृषि र उद्यमशीलताको विकास गर्न ७५३ तहकै सरकारले ध्यान दिनुपर्छ । त्यसको बजारीकरणमा सरकारले नै सहयोग र समन्वय गरिदिनुपर्छ । उत्पादक र उपभोक्तालाई जोडेर बजारीकरण गर्न सरकारले पहल लिने हो भने यस्ता कार्यक्रमहरु प्रभावकारी बन्नेछन् ।