विराटनगर । सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता अमान्य रहेको फैसला गरेसँगै किर्ते मुद्दामा उनलाई कार्वाही अगाडि बढ्ने देखिएको छ ।
नागरिकता अमान्य घोषित भएर सांसद, मन्त्री र पार्टी सभापतिबाट स्वतः पदमुक्त भएका लामिछानेले विदेशी नागरिक हुँदा झुटो विवरण पेश गरेर नेपाली राहदानी लिएको पुष्टि भएको छ । लामिछानेले अमेरिकाको नागरिकता त्याग नगरी पुरानो नेपाली नागरिकता नागरिकता प्रयोग गरेर राहदानी लिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गृह मन्त्रालयकै निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोहोरो नागरिकता प्रयोगको सम्बन्धमा छानबिन गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेखेर जिम्मेवारी तोकेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले दोहोरो नागरिकताको प्रयोगको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, अध्यागमन विभाग र नेपालस्थित अमेरिकी दूतावासबाट समेत सो सम्बन्धमा बुझ्ने काम गरिरहेको छ ।
लामिछानेले दोहोरो नागरिकता र पासपोर्ट लिएको कुरा यसअघि सार्वजनिकह भइसकेको छ । उनले ५ मार्च २०१४ मा अमेरिकी नागरिकका रुपमा पासपोर्ट बनाई नेपाल आएपछि अमेरिकी पासपोर्ट र नागरिकता त्याग नगरी २७ मे २०१५ मा नेपाली नागरिकता प्रयोग गरेर राहदानी लिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नेपाल नेगरिकता ऐन, २०६३ ले नेपालमा दोहोरो नागरिकता लिन प्रतिबन्ध लगाएको छ । कुनै विदेशीले झूटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेमा निजलाई एक वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।
नागरिकता ऐन, २०६३ को दफा २१ मा दण्ड सजाय सम्बन्धी व्यवस्था गरिएको छ । ऐनमा २१ को को उपदफा १ मा विदेशी नागरिकले झूठो विवरण दिई नागरिकता लिएमा वा प्राप्त गरेमा हुने सजायबारे उल्लेख गरिएको छ । सन् २०१५ मा रवि लामिछाने अमेरिकी नागरिक रहेकै समयमा झूठो विवरण पेश गरी नेपाली राहदानी प्राप्त गरेको कारण सोही दफा अनुसार फौजदारी कसुरमा अनुसन्धान र सजाय हुनक्छ ।
लामिछाने अमेरिकी नागरिक रहेकै समयमा झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएको लिएको सर्बोच्चको आजको फैसलाबाट प्रमाणित भएको छ । अदालतबाटै लामिछानेको राहदानी अमान्य घोषित भइसकेपछि उनलाई दोहोरो नागरिकताका सम्बन्धमा प्रहरीले पक्राउ समेत गरी अनुसन्धान गर्ने बाटो खुला भएको छ ।
अनुसन्धानका क्रममा लामिछानेले दोहोरो नागरिकता प्रयोगमा ल्याएको पुष्टी भएमा प्रहरी प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दायर गर्दै लामिछानेलाई जरिवानाका साथै जेल सजाय हुनसक्छ ।