अनन्तराज न्यौपाने
नेपाली काङ्ग्रेसको डा. शेखर समूह यति वेला किंकर्तव्यविमूढताको अवस्थामा देखिन्छ । पछिल्लो घटनाक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने समयमा यस समूहमा केही विरोधाभास देखियो । समूहका नाइके डा. शेखर कोइराला बिना कुनै टिप्पणी प्रधानमन्त्री दाहालका समर्थनमा उभिए । उनकै समूहबाट महामन्त्री भएका गगन थापासहित केही नेताले भने पार्टीको बैठकमा नोट अफ डिसेन्ट लेखे । यस घटनापछि डा. शेखरले पार्टीभित्र र बाहिर फेस गर्न नसकेको स्पष्ट देखिन्छ । विराटनगर विमानस्थलमा आइपुग्दाका बखत पत्रकारहरूले घेरेका समयमा पनि उनी पहिलेझैँ ठोस र आक्रामक रूपमा प्रस्तुत हुन सकेनन् । विश्वासका पक्षमा मतदान गरेका उनलाई आफूलाई प्रतिपक्षी या विपक्षी दलको सांसद भनेर परिभाषित र प्रमाणित गर्न असहज भइरहेको अनुभव हुन्थ्यो ।
यति हुँदाहुँदै पनि राजनीतिका सचेत वर्ग र काङ्ग्रेस कार्यकर्ताले डा. शेखरसितै ठोस जबाफ चाहिरहेका छन् । मूलतः नेपाली समाजमा पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनको समूहलाई र डा. शेखर अनि उनको समूहलाई हेर्ने दृष्टिकोणमै व्यापक अन्तर पाइन्छ । शेरबहादुरले आफूलाई नेपालको इतिहासकै भ्रष्ट र सत्ताका लागि चाहिने–नचाहिने जे गर्न पनि पछि नहट्ने नेपालका थोरै नेतामध्ये एकका रूपमा आफ्नो छवि बनाइसकेका छन् । उनकै प्रधानमन्त्रित्व कालदेखि नेपालमा सांसद् अपहरणदेखि प्राडो–पजेरो काण्ड सुरु भयो । नेपालको निर्वाचित प्रतिनिधि सभालाई मध्यरातमा दरबारमा बुझाउनु शेरबहादुरका लागि जिन्दगीकै सबैभन्दा ठुलो कलङ्क सिद्ध भएको छ । प्रधानमन्त्री भएपछि भ्रष्टाचार, तस्करी, कमिसन र लुटतन्त्रको सञ्जाल फैलाउने व्यक्तिका रूपमा शेरबहादुरको व्यक्तित्व बनिसकेको छ । देशविदेशमा देउवा यसरी नै चिनिन्छन् ।
तर डा. शेखरको व्यक्तित्व र परिचयमा अहिलेसम्म भ्रष्टाचार, कमिसन र अनियमितताको गन्ध पाइएको छैन । उनी पार्टीभित्र सधैँ निष्ठा, आदर्श, विचार, र इमानको लडाईँ लड्ने नेताका रूपमा चिनिँदै आएका छन् । आज कुनै घटना भएपछि डा. शेखरले के बोले भनेर देशले खोज्न थालेको छ । तर देउवाले बोलेका कुरामा आजको समाज नाक चेप्य्राउँछ । यसरी डा. कोइरालाले नेपाली राजनीतिमा आफ्नो महत्तालाई स्थापित गरिसकेका छन् । त्यसैले आजको नेपाली काङ्ग्रेसको राजनीतिका सन्दर्भमा उत्तर दिने मूल पुरुष डा. शेखर नै हुन् । त्यसोत उनी पार्टीको हस्तक्षेपकारी नेतृत्वमा छैनन् । तर नेपाली काङ्ग्रेसबाट कतै हस्तक्षेप गर्नुपर्यो भने डा. शेखर नभई सम्भव हुँदैन । त्यसैले प्रश्नहरूका तिखा वाणबाट उनी उम्कन पाउँदैनन् र उनले उम्कनु पनि हुँदैन ।
एउटा मानिसले आफ्नो लामो राजनीतिक जीवनमा कतै न कतै त्रुटि गर्नसक्छ । अङ्ग्रेजीमा ह्युमन एरर भनिन्छ । त्यो स्वाभाविक हो । बीपीले २००७ सालको मुक्तिसेनालाई अस्तित्वमा नराख्नु आफ्नो गलती थियो भनेका छन् । मुक्तिसेना अस्तित्वमै हुन्थ्यो त, २०१७ सालमा राजा महेन्द्रको कू गर्ने दुस्साहस नहुन पनि सक्थ्यो । त्यसैले आफू राजाबाट थुनिएपछि बीपीलाई मुक्तिसेनाको सम्झना आएको थियो । बीपीजस्ता विराट पुरुषले त आफ्नो गलतीलाई सहजै स्वीकार गरेका छन् भने काङ्ग्रेसका आजका नेताले म यहाँ चुकेँ भनेर सजिलै भन्नसक्नु पर्छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने वेलामा डा. शेखर चुकेकै हुन् । उनले आफू चुकेको तथ्यलाई स्वीकार गर्नैपर्छ । यसले गर्दा उनको राजनीतिक उचाइ अझ बढ्छ ।
आजको नेपाली समाजले नेपाली काङ्ग्रेसभित्र कसैबाट आसा र भर गरेको छ भने त्यो पनि डा. शेखर नै हुन् । तर विश्वासको मतको काण्डपछि डा. शेखरले आफूलाई देउवा क्याम्पमा मर्ज गरे भन्ने सडकहल्ला राम्रैसित चलेको छ । तथापि उनले आफूलाई देउवा क्याम्पमा समाहित गरेको भए फेरि छुट्टै गुटको बैठक बोलाउने थिएनन् होला । गुटको त्यस भेलाबाट कुनै ठोस निर्णय आएन यो सत्य हो तर गुटको भेला गरेर कोइरालाले म अझै पनि छुट्टै छु है भन्ने सन्देश दिएका छन् । यो आफैँमा सकारात्मक हो । तर नेपाली काङ्ग्रेसलाई पार्टीको विचार, सिद्धान्त र आदर्शका साथ जीवन्त राख्ने हो भने डा. शेखर अहिलेको भन्दा खरो र आक्रामक भएर उत्रनुपर्छ । उनीसित कोइराला वंशको लिगेसी त छँदैछ, समसामयिक राजनीतिका कुनै पनि विषयमा स्पष्ट दृष्टिकोण र विचार दिनसक्ने खुबी पनि छ । यही कारण नेपालको समाज उनीसित बढी आशावादी भएको हो । अबको काङ्ग्रेसको राजनीतिलाई डा. कोइरालाले नेतृत्व गरेर लिएर जान सकेनन् भने यो पार्टी चटकेहरूका हातमा पर्ने निश्चित छ ।