विराटनगर । नेकपा माओवादी केन्द्रको तर्फबाट संघीय सरकारमा प्रतिनिधित्व गर्दा प्रदेश १ सँगै उपेक्षित रहँदै आएकोमा यस पटक भोजपुरका सुदन किराती मन्त्री बन्ने कन्फर्म हुँदा मोरङका अमनलाल मोदी छुट्ने अवस्था थियो । अघिल्लो ५ वर्षे कार्यकालमा करिब ४ वर्ष २ वटा सरकारमा माओवादी रहेकोमा प्रदेश १ का कसैले पनि मन्त्री बन्ने अवसर नपाएकोमा यसपटक छुट्नुहुन्न भन्ने चर्को दबाब थियो ।
मन्त्रीको दावेदार मोदी र किरातीमा किरातीले अवसर पाउँदा मोदी फेरि छुट्ने आशंका धेरैलाई थियो । मोदी आफैं सोमबारसम्म किराती मन्त्री हुने कन्फर्म हुँदा आफू बञ्चित हुने अवस्था रहेको निकट कार्यकर्ताहरुसँग बताइरहेका थिए ।
मंगलबार माओवादीको पदाधिकारी बैठक सकिँदा माओवादीको तर्फबाट मन्त्री बन्नेहरुमा भोजपुरका किराती र दाङकी रेखा शर्माको नाम फाइनल भएको थियो । अर्को एक मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पाएका थिए । उनले मोदी छानेपछि माओवादीका तर्फबाट ५ जना सहभागी रहेको सरकारमा प्रदेश १ बाट २ जनाले अवसर पाएका छन् ।
अघिल्लो निर्वाचनमा पूर्वमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई फराकिलो मतअन्तरले पराजित गर्दै सांसद बनेका अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै गत निर्वाचनमा प्रदेश १ का पूर्वमुख्यमन्त्री एवं एमालेको प्रभावशाली नेता शेरधन राईलाई पराजित गरेका किरतीले पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मा पाए ।
मोदी २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक सांसद भएका िथए । २०७४ सालमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेद्वार बनेका उनले काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गर । सो अबधिमा मन्त्री बन्ने चर्चा भएपनि उनले अवसर पाएनन् ।
२०४२ साल असोज ५ गते मोरङको बुढीगंगा गाउँपालिका तिलाठेमा जन्मिएका मोदीको शैक्षिक योग्यता भने १२ कक्षासम्म मात्रै हो । मोदीको राजनीतिक जीवन २०५७ देखि सुरु भएको हो । अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बनेका उनी अहिले पार्टीको केन्द्रीय सदस्य छन् ।
राजनीतिक रूपमा सक्रिय रहँदा मोदीले २०६० मा पक्राउ परी २ वर्ष ३ महिनासम्म जेल जीवन विताएका थिए । ३८ वर्षको उमेरमा कर्मचारी संयन्त्रको नेतृत्व गर्ने मन्त्रालयको जिम्मा पाएका मोदी खरो स्वभावकका नेता हुन् ।
गत निर्वाचनमा भोजपुरको चुनावी सभालाई सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदन किरातीलाई जिताए मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘सुदनजीलाई चुनाव जिताएर पठाउनु होला म मन्त्री बनाएर पठाउँछु ।’
नभन्दै प्रचण्डले किराँतलाई मन्त्री नियुक्त गरे । किराँती २०६४ साल र २०७४ सालमा पनि भोजपुरबाट निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए । ०६४ र २०७९ मा शेरधन राईलाई पराजित गरेका उनी २०७० मा भने राईसँगै पराजित भएका थिए ।
नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य किराती २०३५ साल फागुन १२ गते बाबु हर्कबहादुर राई र आमा स्व. रक्षाकुमारी राईको कोखबाट हङ्कङ्मा जन्मिएका हुन् । बाबु बेलायत आर्मी भएकाले उनको जन्म उतै भएको थियो ।
रामप्रसाद राई गाउँपालिका–१ भोजपुरका स्थायी बासिन्दा सुदनल २०५४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को सदस्यता लिएका हुन् । त्यसपछि गोपाल किराती नेतृत्वको किरात वर्कस पार्टी माओवादीमा आबद्ध भएपछि भूमिगत राजनीतिमा सक्रिय भए । जिल्लाबासीबीच सरल र सहयोगी स्वभावको कारण उनी लोकप्रिय छन् ।
उनले सेनाको ब्यारेक र मोरङ कारागारसहित करिब २३ महिना जेल जीवन विताएका थिए । उनी किराती राष्ट्रिय मुक्ति मोर्चा महासचिव र अध्यक्षसमेत रहिसकेका छन् । पार्टीको भोजपुर जिल्ला इञ्चार्ज रहेका उनी माओवादी र एमालेको एकता हुँदा पनि केन्द्रीय सदस्य थिए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!