विराटनगर । प्रदेश १ प्रदेश सभाको दोस्रो बैठक मंगलवार बस्दै छ । सोमबार बस्ने भनिएको बैठक नवनियुक्त मुख्यमन्त्री हिकमत कार्कीको शपथ ग्रहणलाई असर पर्ने भन्दै मंगलवार सारिएको थियो ।
बैठक आज दिउँसो ११ बजे बस्ने छ । प्रदेश सभाको आजको बैठकले सभामुखको निर्वाचनको मिति तोक्ने छ । आइतबार बसेको कार्यावस्था समितिको बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो ।
उपसभामुखको निर्वाचन पुस ३० गते हुनेछ । आजको प्रदेश सभा बैठकले मिति तोक्नेछ । सभामुखको निर्वाचन कार्य तालिका सार्वजनिक गर्ने र मनोनयन पनि आज नै गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सत्तारुढ गठबन्धनबिच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । मुख्यमन्त्री आलोपालो हुनुपर्ने माग राख्दै माओवादी भने सरकारमा सामेल भएको छैन । मुख्यमन्त्री हिकमत कार्कीलाई समर्थन भने गरेको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!