विराटनगर । प्रदेश १ का नवनिर्वाचित चार जना प्रदेश सांसदहरूले आफ्नो जातीय तथा परम्परागत पहिरनमा सझिएर र पद तथा गोपनीयताको शपथ लिएका छन् ।
एमालेकी सांसद मिना श्रेष्ठ, माओवादी केन्द्रकी सम्झना तामाङ, पर्यटन तथा संस्कृति मन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बुले र जनता समाजवादी पार्टीकी सांसद निर्मला राई आफ्नो जातीय तथा परम्परागत पहिरनमा शपथ लिएकी हुन् ।
उनीहरूको जातीय पहिरनले सदनमा समावेशी र विविधता झल्किएको छ । सांसदहरूको आफ्नो जातीय पोसाकसहितको दृश्यले प्रदेश सभामा परिसरमा रौनक थियो । केही राष्ट्रिय पोसाक दौरा सुरुवाल त कोही आफ्नै जातीय भेसभुसा र संस्कृति झल्कने पहिरनमा सजिएका थिए ।
प्रदेशसभामा नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिँदा बहुभाषिक, बहु जातीय र बहु सांस्कृतिक मूलक हो भन्ने सत्यलाई पुष्टि गर्ने गरी आ–आफ्नै मौलिक पोसाकमा सजिएर आए । पोसाक मात्रै होइन हरेक सदस्यका हाउभाउ, बोलचाल र गतिविधिले प्रदेश सभा भवन परिसरका दृश्य रोचक देखिए ।
फरक फरक पार्टीबाट निर्वाचन जितेर आएको भए पनि प्रदेशसभा भवनभित्र प्रवेश गरेपछि नयाँ र पुरानाबिचको चिनजान गरेको माहौल झनै अर्थपूर्ण थियो । केही सांसद भने रमाइलो मान्दै बैठक कक्षदेखि प्रदेशसभा परिसरमा मै सेल्फी र फोटो खिच्न व्यस्त भए ।
प्रदेशका ६ जना प्रदेश सांसदले मातृभाषामा पद तथा गोपनीयताको शपथ लिए । मातृभाषामा शपथ लिनेहरूमा प्रदेश सांसदमा पाँचथर १९२० बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजना मन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृति मन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बुले मातृभाषा यक्थुङ/ लिम्बु भाषामा शपथ लिएका छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी) का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, काँग्रेसका ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बुले मातृभाषा यक्थुङ÷ लिम्बु भाषामा शपथ लिएका हुन् । काँग्रेसकी सुनिता गच्छदार चौधरीले थारु भाषामा शपथ लिएकी हुन् ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् । उनीहरूलाई प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले प्रदेश सांसदहरूलाई शपथ ग्रहण गराए ।