

विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
राईको हत्या आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बू पक्राउ परेका हुन् । लिम्बुले गत आइतबार दिउँसो आक्रमण गरेका थिए । लिम्बू आपराधिक पृष्ठभूमिका व्यक्ति भएको खुलेको छ । केराबारी–९ स्थित एउटा पसलअगाडि भेट हुनासाथ लिम्बू र राईबिच विवाद भएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
विवादले उग्र रूप लिएपछि लिम्बूले कुटपिट एवं आक्रमण गर्दै राईलाई भुईँमा पछारेका थिए । बायाँ कन्चटमा चोट लागेर अवस्था गम्भीर बनेका राईलाई तत्काल उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । उपचार सम्भव नहुने भन्दै परिवारका सदस्यले फर्काएर मंगलबार दिउँसो घर लगेका थिए ।
डिएसपी श्रेष्ठका अनुसार घर पुराइएका राईको मृत्यु भएको जानकारी प्रहरीले राति ९ बजेतिर पाएको हो । शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले लिम्बूलाई पक्राउ गरेको छ । उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।
लिम्बूविरुद्ध प्रहरीले यसअघि नै जबरजस्ती करणी उद्योग र अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।