गोकुल पराजुली
काठमाण्डौका मेयर बालेन साहले अतिक्रमणमा परेको सडक पेटी खाली गर्न काठमाण्डौका गल्लीहरुमा डोजर दौडाएको विषयले अघिल्ला महिनाहरुमा राम्रै चर्चा पायो । पैदल यात्रुहरुको सहजताका लागि सडक पेटी खाली गराउने कामको सकारात्मक चर्चासँगै सडक पेटीमा उभिएर हुँदै आएको फुटकर व्यापारलाई हटाउन आतंक सिर्जना गरेको विषयमा भने उनले समर्थन भन्दा बढी आलोचना खेपे । काठमाण्डौको टुकुचाबाट सुरु भएको बालेको डोजर सडक पेटी हुँदै थापाथलीको सुकुम्बासी बस्तीमा पुगेपछि भने अघि बढ्न सकेन । थापाथलीका सुकुम्बासीहरुले बालेको डोजरलाई यसरी ब्याक गरिदिए कि अब त्यो डोजरले न दुई चार ठाउँ खोतलेको टुकुचा खोलालाई पुरु खुला गर्न सक्छ, न सडक पेटीका बाँकी संरचना भत्काउन सक्छ । अब बालेनेका डोजर खुलामञ्चको भूमिगत पार्किङ स्थलमा कैद बनिरहेको छ ।
स्थानीय तहको निर्वाचनमा आफ्नो गाउँ र सहरलाई विकसित बनाउने उन्नत योजना छ भन्दै चुनाव जितेर गएका स्थानीय नेताहरु अहिले मुल कामबाट विचलित देखिएका छन् । जनतालाई प्रत्यक्ष अनुभूति दिने काम भुइँ तहको सरकार अर्थात् स्थानीय तहको हो । उसले अगाडि सार्ने कार्यक्रम र योजनाहरुले सुशासन स्थापना र विकासमा महत्वपूर्ण योगदान गर्छ । तर, हाम्रा स्थानीय तहको नेतृत्वमा त्यस प्रकारको नयाँ भिजनको अभाव प्रष्ट देखिन्छ ।
काठमाण्डौका मेयरले सडक पेटी खाली गर्न डोजर चलाएपछि पोखराका मेयरले पनि चर्चाकै लागि भएपनि डोजर कुदाए । यता विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले पनि डोजर अभियान थालेका छन् ।
काठमाण्डौमा सडक पेटी अतिक्रमणको समस्था थियो । जसले पैदल यात्रामा सकस पारिरहेको थियो । त्यस अर्थमा काठमाण्डौको सडक पेटी खाली गर्ने काम त्यहाँको आवश्यकता थियो । तर पोखरा र विराटनगरको अवस्था त्यस्तो थिएन । काठमाण्डौमा स्वीकृत नक्सा विपरित सडकपेटीसम्म पक्की संरचना बनाएर व्यापार गर्ने आम प्रवृत्ति छ । त्यसलाई निरुत्साहित गर्न आवश्यक थियो । त्यस अर्थमा बालेनको त्यो कामलाई कसैले गलत भनेन । तर विराटनगरमा न त सडक पेटीमा व्यापार गर्ने प्रचलन छ न त पक्कि संरचना बनाएर सडक पेटी अतिक्रमण गरिएको छ । तरपनि महानगर डोजर नचाउँदै हिडिरहेको छ ।
महानगरले विराटनगरमा हटाएको भनेको घाम र बाङ्गो पानी(बाछिटा) छेक्नका लागि लगाइएका ‘पाली’हरु मात्र हुन् । सडक पेटी खाली गर्ने नाममा ९–१० फिट माथी लगाइएका पालीहरु हटाउनु पर्ने कारण किन आइप¥यो भन्ने कुरा महानगरले नै स्पष्ट गर्ला । यो विषयमा घरधनी, पसल सञ्चालक र सर्वसाधारण कोही पनि स्पष्ट हुन सकिरहेका छैनन् । कञ्चनबारी चोकबाट पूर्वपट्टि एउटा चियाखाजा पसल छ । सडक पेटीबाट झण्डै पाँचफिभित्र बनेको घरमा उनले पनि सानो टिनको पाली राखेका छन् । सडक पेटीमाथि कुनै संरचना छैन । पेटीमा हिड्नेलाई कुनै अवरोध छैन । आफ्नै जग्गामा टिनको पाली लगाउँदा महानगरले हटाउन निर्देशन दिएको छ । त्यो पाली हटाउनु पर्ने कारण उनले बुझेका छैनन् । महानगरले पनि बुझाएको छैन ।
विराटनगर महानगर काठमाण्डौको अन्धनक्कल गर्दैछ । बालेनले सडक पेटी खाली गर्दा पाएको चर्चाको लोभमा उस्तै प्रकृतिको काम गरिएको छ । तर विराटनगरमा त्यसको खास चर्चा छैन । किन चर्चा भएन यो कुरा महानगरको नेतृत्वले बुझेको होला ? बुझेको भए यो अभियानले निरन्तरता पाउने थिएन । यहाँ सडक पेटी अतिक्रमणको ठूलो समस्या थिएन । त्यसोभएपछि घामपानी छेक्न बनाइएको टिनका पाली हटाएर काम देखाउन खोजियो ।
महानगरले अहिले गरेको कामको असर वर्षात्को समयमा देखिने छ । सडक पेटीमा हिड्ने सर्वसाधारणले वर्षात्को बेला ओतिने र गर्मीको बेला घाम चल्ने पाली नहुँदाको असर भोग्ने छन् । सहरका अग्ला घरका छत्बाट खस्ने पानीको व्यवस्थापन गर्न महानगरले कुनै पहल गरेको छैन । अब सडक पेटीमा पानीको धारो खस्दा पसलभित्र पानी पसेर नोक्सानी हुनेछ भने सडक पेटीमा रुझ्दै हिड्ने सर्वसाधारणले सहरमा ओत पाउने विकल्प गुमाउने छन् ।
यतिबेला महानगर लगायत स्थानीय तहको नेतृत्वले लघु उद्यम र उत्पादनको क्षेत्रमा साना तर विशेष योजना बनाएर नयाँपन दिन सक्नुपथ्र्यो । विराटनगर ४ का युवाहरुको एउटा समूहले बाँझो जग्गा खोज्दै जोत्दै तोरी छर्दै हिडिरहेको छ । त्यसले खाली जमिनको उपयोग हुनुको साथै उत्पादन बढाउन महत्वपूर्ण योगदान गर्छ । स्थानीय सरकारले त्यस्ता कार्यलाई प्रोत्साहन गरेर १९ वटै वडामा यो अभियान विस्तार गर्न सक्दैन ? कि यो काम पनि बालेनले सुरु गरेपछि मात्र गर्नु पर्ने हो ?
यहाँ सञ्चालित सामुदायिक शिक्षालयहरुको दुरुह अवस्थामा सुधार ल्याउन स्थानीय तहहरुले कस्तो भूमिका खेले ? कतिपटक सुधारका प्रस्तावसहित बैठक बसे ? स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न वा स्वास्थ्य बिमामा देखिएको समस्याको गाँठो फुकाएर जनतालाई सेवा दिने विषयमा उनीहरु कति संवेदनशील देखिए ? त्यस्तो त केही पनि देखिएन । केवल चर्चा पाउने गर्ने प्रचारले जनताको सपना पुरा हुन्छ ? यहाँको आर्थिक समस्या र बेरोजगारी समस्या हटाउन, आफ्ना नागरिकलाई उद्यमशील बनाउन स्थानीय क्षेत्रको सम्भवनाहरु केलाउने काम स्थानीय तहको हो भन्ने बुझेर काम गर्नु पर्ने होइन ? यदि हो भने ती कामहरु किन सुरु नगरेको ? एउटाले डोजर कुदाउँदैमा सबैले डोजर चलाउने हो कि अरु काम पनि गर्न सकिन्छ ? हुन त काम गर्नलाई निश्चित लक्ष्य, दृष्टिकोण र योजना हुनुपर्छ । एक पटक मेयर वा अध्यक्ष भइहालियो अब फेरि हुनु छैन भनेर निच मार्ने प्रवृत्ति हुर्किरहेको छ । यसले हाम्रा स्थानीय तहहरु केवल प्रशासनिक इकाइ जस्ता बनिरहेका छन् । अनि मेयर वा अध्यक्ष कर्मचारीका हाकिम भन्दा बढी हुन सकिरहेका छैनन् ।