बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी प्रदान

विराटनगर । धनकुटा पख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष भोगेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बालबालिकालाई सहयोग सामग्री वितरण गरिएको हो ।जाडोमा लगाउने ट्रयाकसुट सेट, टोपी र अन्य स्टेशनरी सहित करिब ६० हजार बढीको सामग्री वितरण गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष पाण्डेले सामुदायिक विद्यालयमा धेरै किसिमका अभाव र समस्या रहेका कारण विद्यालयहरू कमजोर बनिरहेको समयमा समाजले सहयोग गर्न अनिवार्य रहेको धारणा व्यक्त गरे । उनले भने, ‘राज्यले शिक्षा क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसमा पनि आधारभूत शिक्षालाई बेवास्ता गरिएको छ ।’ वडाको तर्फबाट आफूले सक्ने सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘विपन्न परिवारका बालबालिकाहरू पर्याप्त शैक्षिक सामग्री र न्यानो कपडा अभावकै कारण पनि विद्यालय नआउने समस्या छ । बालबालिकालाई नियमित विद्यालय पठाउने वातावरण बनाउन हामी पनि सक्रिय छौँ ।’
विद्यालयका प्रधानाध्यापक टेकनाथ न्यौपानेले विपन्न बालबालिकालाई न्यानो कपडा वितरण पश्चात् उनीहरू नियमित विद्यालय आउने वातावरण बनेको बताए । उनले भने, ‘अधिकांश अभिभावकको आर्थिक स्तर न्यून भएका कारण उनीहरू न्यानो कपडा किन्न नसक्ने र नियमित बालबालिकालाई विद्यालय नपठाउने समस्या अब अन्त्य हुनेछ ।’ आधारभूत विद्यालयलाई राज्यले गर्ने सहयोग अत्यन्तै न्यून भएका कारण अतिरिक्त गतिविधिहरूमा विद्यालय प्रत्यक्ष जोडिन नसकेको उहाँको गुनासो थियो ।

९५ विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा सहयोग प्रदान गर्न विराटनगर स्थित नोवल मेडिकल कलेज, लायन्स इन्टरनेश्नल, सेलो तेल, लायन्स क्लब अफ विराटनगर एलिट र लायन्स क्लब अफ विराटनगर एक्टिभले रकम प्रदान गरेको थियो । सामुदायिक विद्यालय सुधार अभियान, नेपालको सहजिकरणमा उक्त विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको हो ।

सोमबार, ०४ पुष, २०७९, साँझको ०५:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर