विराटनगर । विराटनगर– १८ मटेरूवाकी अजमेरी खातुनलाई बच्चा जन्माउने बेथा लागेर छटपटी सुरु भएपछि उनका परिवारले कोशी अस्पतालमा ल्याए । उनलाई अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमा ल्याइएको थियो । तर, अस्पतालको शय्या भरिभराउ भएपछि सुरुमा मेटरनिटी वार्डको वेटिङमा राखियो । उनलाई प्रसूति वार्डमा ल्याए पनि त्यहाँ ठाउँ नभएपछि उनलाई भुईँमा राखेर उपचार गर्न थालियो ।
वेटिङ वार्डको २७ शय्या भरिभराउ भएपछि उनलाई भुईँमा राखेर उपचार गर्न थालिएको हो । बेथाले च्याप्दै लगेपछि उनको खातुनको अप्रेसन थियटरमा लगेर चिकित्सक टोलीले शल्यक्रिया मार्फत बच्चालाई जन्म दिए । शल्यक्रिया गरेपछि बिरामीलाई २४ घण्टासम्म पोस्ट अप वार्डमा राखेर उपचार गर्नुपर्छ । कोसीको गाइनो वार्डमा १० शय्याको पोस्ट अप वार्ड मात्रै । अधिकांश समय पोस्ट अप वार्ड भरिभराउनै हुन्छ । प्रदेश १ कै सबै भन्दा ठूलो अस्पताल रहेको कोसीमा पोस्ट अप वार्डमा शय्या नभएपछि सिमेन्टको चिसो भुईँमा म्याट्रेस ओछ्याएर भर्खरै शल्यक्रिया गर्ने गरिएको छ । जाडो मौसम खुल्ला भुईँमा बिरामीको उपचार भइरहेको छ । शल्यक्रिया गरिएको बिरामीलाई संक्रमणबाट जोगाउन सुरक्षित ढंगले पोस्ट अप वार्डमा राखेर उपचार गर्नुपर्ने भए पनि कोसी अस्पतालमा त्यो सुविधा पहुँच भएकाले मात्रै भोग गर्न पाउँछन् । अस्पतालमा वार्डमा राखेर उपचार गराउनका लागि नेताहरूकै फोन आउनु पर्ने अस्पतालमा उपचारमा खटिएका एक स्वास्थ्यकर्मीले भने ।
भुईँमै म्याटमाथि तन्ना ओच्छाएर बच्चा र आमालाई राख्ने गरिएको छ । नेताहरूको फोन आएमा भुईँमै राखेका बिरामीलाई बेडमा राखिन्छ एक स्वतथ्यकर्मीले भने प्रशासनले ध्यान नदिँदा उपचारमा खटिने स्वास्थ्यकर्मी बिरामीको गाली पनि खानुपर्ने हुन्छ । दैनिक १५ जनासम्म गर्भवतीको शल्यक्रियामार्फत शिशुलाई जन्म दिने अस्पतालमा १० शय्याको पोस्ट अप वार्ड छ । शल्यक्रिया गरेपछि २४ घण्टा अब्जरबेसन र थप उपचारको लागि बिरामीलाई पोस्ट अप वार्डमा राखेर उपचार गरिनुपर्ने चिकित्सकहरू बताउँछन् । तर, शय्या अभावको कारण अहिले पोष्टअप वार्डमा ८ घण्टा मात्र राख्ने गरिएको र त्यसपछि पोस्टनेटल वार्डमा लैजाने गरेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । यसरी बिरामी अलपत्र परेर उपचार भइरहँदा पनि कसैले चासो देखाएका छैनन् । अस्पताल प्रशासन भने भवन अभाव भएको जवाफ दिँदै आएको छ ।
पुरानै भवन अलपत्र तर मन्त्रीको ध्यान शिलान्यास
बिहीबार कोशी अस्पतालका चिकित्सकहरू बिरामीको उपचार गर्न भन्दा पनि अतिथि सत्कारमा केन्द्रित थिए । विभागीय सहित अन्य एक जना मन्त्री आउने भएपछि उनीहरू अस्पताल प्राङ्गणको सरसफाइ गर्न र पाहुनालाई खुसी बनाउन घन्टौँ लाइनमा बसे । दिउँसो ४ बजे तिर भवनको जनजसंख्या मन्त्री भवानीप्रसाद खापुङ र सहरी विकास मन्त्री मेटमणि चौधरी आएका थिए । दुवै जना मन्त्रीले पाँच सय शय्याको आठ तले मेडिकल भवनको शिलान्यास गरे । सहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि कर बाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रुपैयाँ १३ पैसामा कुल लागत अनुमान गरिएको उक्त भवनको निर्माण कम्पनीको जिम्मा भने केसी कन्स्ट्रक्सन काठमाण्डौंले पाएको छ । तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम सुरु गर्ने संघीय आयोजना कार्यान्वयन इकाई विराटनगर मोरङका प्रमुख गणेशबहादुर महर्जनले जानकारी दिए । यसअघि एक वर्ष अगाडि शिलान्यास भएर निर्माण सुरु भएको पाँच तले भवन निर्माणको भने अलपत्र रहेको छ । ठेकेदार कम्पनी रमन भूमि, बि.आई. पी.एल. जेभी सम्पर्क विहीन भएपछि ५ महिनादेखि काम रोकिएको हो । पाँच तलाको भवन ३३ करंोड २२ लाख ४८ हजार ९११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो ।
उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो । अस्पतालको आइसियु, न्युरो एन्ड नेफ्रोलोजी भवनको निर्माणको काम सुरु गरेको केही महिनामै ठेकेदार भागेपछि उक्त निर्माणाधीन भवन अलपत्र बनेको हो । रमणर भूमि रवि आइपिएल जेभीले २०७८ असार २३ गते सम्झौता गरी २०८० पुस २२ मा निर्माण सम्पन्न गर्ने गरी ३० महिने ठेक्का सम्झौता भएको थियो ।
निर्माण सुरु गरेको केही महिनामै ठेकेदार कम्पनी कामै नगरी सम्पर्क विहीन भएको संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर अशोककुमार रामले जानकारी दिए । २०७८ कात्तिक देखि २०७९ असारसम्म निर्माणको काम भए पनि त्यसयता काम नभएको उनले बताए ।