विराटनगर । माओवादी केन्द्रका नेता अजम्बर काङ्माङ राईले आफू समानुपातिक बन्द सूचीको आदिवासी जनजाति कोटामा १ नम्बरमा रहेर पनि सांसद नबनेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका हु्न् । ‘तपाईंले मलाई बधाई दिन पाउनु भएन । ठीकै छ,’ काङ्माङले लेखेका छन्, ‘गोर्खा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकोमा बधाई छ ।’
उनले लेखेको स्टाटस जस्ताको तस्तै
क. अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
हार्दिक बधाई !
नेकपा (माओवादी केन्द्र) ले हिंजो निर्वाचन आयोगमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका समानुपातिकतर्फका सदस्यहरूको नामावली बुझायो । निर्धारित समय सीमाभित्र पठाइएका सदस्यहरू कानुनतः निर्वाचित भएको घोषणा आयोगले गर्छ नै । प्रतिनिधिसभा समानुपातिकको सदस्यको उम्मेदवारमा आदिवासी जनजाति क्लस्टरको एक नम्बरमा म अजम्बर राई काङ्माङ पनि अटाएकै थिएँ । हिंजो आयोगमा बुझाइएको पत्रमा मेरो नाम चाहिँ अटाएनछ । पठाइने नामको सूचि बनाउन छलफलरत अध्यक्षलाई भेट्दा सांसद बनाइमाग्न आएको भान र दवाव पर्ला भनेर आजभन्दा अगाडि भेट्न गइनँ । आज चाहिँ जानै पर्छ भन्ने लाग्यो र क. समर काफ्लेसँग बिहानै खुमलटार गयौं । शालिन र न्यानो भेटघाट भयो र अध्यक्षले, ‘अनेकौं प्रयत्नका बाबजुद तपाईंलाई यसपटक सांसद बनाउन सकिएन । सानो मन नगर्नु होला’ भन्नुभयो । नाङ्गो पाइतालाले आगोको कोइला कुल्चदै हिँड्न अभ्यस्त मैले भनेँ, ‘म पनि बन्छु भन्नेमा विश्वस्तै थिएँ, तपाईंले एक प्रतिशत मात्रै मेरो पक्षपोषण गरिदिनुभएको भए एकाउन्न प्रतिशत हुनेमा म परिहाल्थ्येँ ।’ उहाँले सविस्तार गणित र प्रतिशतका सरल हिसाब सुनाउनु भयो । मनमनै उहाँलाई हान्न भनेर नाङ्गो हत्केलामा मुठ्याएर लगेको झर्राउदो आगोको कोइला तत्कालै भुइँमा खसालिदिएँ । हत्केला पनि सुरक्षित अनि मेरो मन पनि शान्त र स्थिर भयो । बालहठझैँ मैले मेरा आक्रोस पोख्दै रुँदै कराउदै गर्नुपर्ने, मैले त्यस्तो नगरि परिपक्व राजनीतिज्ञको रुपमा प्रस्तुत भएँ । ओहो ! नयनाग्निजस्ता प्रचण्ड चक्षु त नयानाश्रुमा परिणत भइसकेको देखेँ । अब सम्हालिने पालो मेरो थियो । ‘तपाईंले मलाई बधाई दिन पाउनु भएन । ठीकै छ । गोर्खा निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकोमा बधाई छ ।’ बिदार्इका कसिलो हात मिलाएर बैठक कक्षको ठेला नाघेर मुल गेटमा कुन लयमा फर्किसकेछु, फर्किसकेछौं, थाहा भएन । ‘कता जाने अब !’ समर काफ्लेको प्रश्नले झस्किएँः अजम्बरेका तपश्वीजस्ता जोर आँखा पनि कहाँ ओभानो रहेछ छ त ?
मैले भुइँमा फालेको झर्झराउँदो आगोको कोइलाले बैठक कक्षको कार्पेट पो सल्किदै छ कि ? हेर्न अनुरोध छ है, यो तस्बिर खिचिदिनुहुने प्रिय साथी रमेश मल्लजी । परिस्थितिले भन्यो, ‘माओवादीमा तेरो सेन्ट अपपरीक्षा पाइला पाइलामा अझै छ अजम्बरे !’
मन न हो, भुपाल राई कृत ‘नुमाफुङ’ सिनेमाको गीतांश सम्झेँ
‘….पाइलाभन्दा घुम्ति धेरै मेरो कहानीमा…!’
– अजम्बर राइको वालबाट