विराटनगर । निर्वाचन आयोगले सुनसरी क्षेत्र नम्बर ४ मा दुई दिनदेखि रोकिएको मतगणना अघि बढाउन निर्देशन दिएको छ।
आयोगले सुनसरी ४ मा शिलबन्दी गरिएको बाहेक मात्रै पुनःमतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
आयोगको सोमबार बसेको बैठकले पूरै निर्वाचन क्षेत्रको पुनःमतगणना गर्नुपर्ने नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको माग अस्वीकार गरेको छ । शिलबन्दी भइसकेको मतपत्र अदालतको आदेशमा मात्र गन्न सकिने आयोगले जनाएको छ । शिलबन्दी नभएको केन्द्रको मतपत्र भने पुनःगणना गर्नसक्ने आयोगले जनाएको छ ।
सुनसरी ४ मा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्कीले मतगणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि हिजोदेखि मतगणना रोकिएको छ। विवाद उत्पन्न भएपछि शनिबार अपराह्न सर्वदलीय बैठकमा काँग्रेस र एमालेका प्रतिनिधिहरुबीच विवाद भएपछि प्रहरीले गणनास्थलबाट केहीलाई बाहिर निकालेको थियो । कांग्रेस नेता कार्कीले एमालेले मतगणनामा धाँधली गरेको आरोप लगाएका छटन् । उनले आयोगकै मिलेमतोमा ६०६ मत एमाले उम्मेदवारका पक्षमा जोडेको आरोप लगाउँदै आएका छन् ।
कर्मचारीले मतपरिणाम इन्ट्री गर्दा त्रुटी भएको भन्दै कुनै मिलेमतो नभएको बताउँदै आएका छन् । मतगणनालाई लिएर गणनास्थलमै कार्की र एमाले नेताहरुबीच तनाव भएको थियो।
पछिल्लो मतपरिणामअनुसार कार्कीले २३४३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३३४१ मत पाएका छन् । कार्की कुसियतभन्दा ९८ मत अगाडि छन् । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ । अझै ८ वडाको मत गन्न बाँकी छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!