विराटनगर । मंसिर ४ गतेको निर्वाचनपछि प्रदेश १ को मुख्यमन्त्री बन्ने आकांक्षामा आधा दर्जन बढि नेता चुनाबी मैदानमा छन् । निर्वाचन प्रचारप्रसारको अबधि सकिनलाग्दा नेताहरुले मुख्यमन्त्रीको दावीसहित मतदातासँग मत मागिरहेका छन् ।
मुख्यमन्त्रीको दावी गर्नेमा सबैभन्दा धेरै काँग्रेसका नेताहरु छन् । काँग्रेसका करिब आधा दर्जन नेताहरुले आफूलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन् ।
काँग्रेसका अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे, केदार कार्की, हिमाल कार्कीदेखि समानुपातिक उम्मेदवार भएका उद्धब थापासँग मुख्यमन्त्रीका दाबेदार हुन् । यस्तै नेकपा एमालेबाट प्रदेका पूर्वमन्त्री हिक्मतकुमार कार्की र जीवन घिमिरे दाबेदार देखिएका छन् भने माओवादी केन्द्रबाट बहालवाला आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मुख्यमन्त्रीका दाबेदार छन् । बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई पनि आगामी मुख्यमन्त्रीका दाबेदार हुन् ।
गठबन्धन भएका दलहरुबीच आन्तरिक समस्या भएन र सहज रुपमा मत आदनप्रदान भएमा प्रदेशका गठबन्धनकै सरकार बन्ने करिब निश्चित छ । त्यो अवस्थामा को मुख्यमन्त्री बन्ने भन्ने विषय केन्द्रीय गठबन्धनको निर्णयमा भर पर्नेछ भने दलभित्र को संसदीय दलको नेता बन्छ भन्ने विषय पनि प्रमुख हुनेछ ।
मुख्यमन्त्रीको दावीसहित प्रदेशसभामा उम्मेदवार भएका नेताहरुमध्ये गठबन्धन दलबाट उम्मेदवार भएकाहरु गत स्थानीय तहमा प्राप्त मतको अंकगणितको आधारमा बलियो अवस्थामा देखिएका छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार भोजपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिब राईको प्रतिस्पर्धामा उनकै पूर्व कार्यकर्ता हरिबहादुर राई नेकपा एमालेबाट चुनाबी मैदानमा छन् ।
साल्पासिलिछो गाउँपालिका, षडानन्दा नगरपालिका, अरुण गाउँपालिका, पौवादुम्मा गाउँपालिकाको वडा नं। १ र २ तथा ट्याम्केमैयुम गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा समेटिएको सो निर्वाचन क्षेत्रमा स्थानीय तहको मतको आधारमा मुख्यमन्त्री राईको पार्टीको मत १६६१ मात्र छ । तर, सत्तारुढ गठबन्धनको मतको आधारमा भने उनी ८५२१ मतले अगाडि छन् ।
सो क्षेत्रको वडाध्यक्षहरुको मतका आधारमा नेकपा एमालेको १३५०९, काँग्रेसको १४२६७, माओवादी केन्द्रको ६१०२ मत छ । जसअनुसार गठबन्धनको मत २२०३० रहेको छ । बहालवाला मुख्यमन्त्री रहेको र जिल्लामा आफैंले राजनीतिमा लगाएका कार्यकर्ताको ठूलो पंक्ति एमालेमा रहेकोले उनीहरुको पनि साथ पाउँदा मतान्तर अझै बढ्ने राईको दावी छ ।
भावी मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएका प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पाँचथर २ बाट प्रदेशसभामा उम्मेदवार छन् । प्रदेश सरकारमा प्रभाबकारी कार्यकुशलता देखाएका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य आङ्बो जिल्लाको विकासमा उल्लेखनीय काम गरेकोले लोकप्रिय छन् ।
उनको पहलमा गत स्थानीय तहको निर्वाचनमा पाँचथरमा गरिएको गठबन्धन ८० प्रतिशतभन्दा धेरै स्थानमा सफल भएको थियो । विकासप्रेमी नेताको पहिचान बनेकोले उनले गठबन्धनले स्थानीय तहमा प्राप्त गरेकोभन्दा धेरै मत प्राप्त गर्ने अनुमान गरिएको छ ।
जिल्लाको फाल्गुनन्द गाउँपालिका, कुम्मायक गाउँपालिका, तुम्बेवा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकासहित फिदिम नगरपालिकाको ५, ६ र ९ नम्बर वडा समेटिएको सो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारले एमालेका वडाध्यक्षका उम्मेदवारभन्दा ४२९३ बढि मत पाएका थिए । क्षेत्रमा एमालेका उम्मेदवारले १४०२६ मत प्राप्त गर्दा काँग्रेसको १०८८८, माओवादी केन्द्रको ६५६८ र एकीकृत समाजवादीको ८६२ सहित गठबन्धनको मत १८३१९ रहेको छ । सो क्षेत्रमा एमालेले आइन्द्रसुन्दर नेम्बाङलाई उम्मेदवार बनाएको छ ।
मोरङ क्षेत्र नं. ५ (२) मा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल पनि मुख्यमन्त्रीका दाबेदार हुन् । संविधानसभाका सदस्य रहिसेका उनी एमालेको समर्थन पाएका जसपाका जयराम यादवसँग चुनाबी प्रतिष्पर्धा गर्दैछन् । यादव बहालवाला स्वास्थ्यमन्त्री हुन् ।
विराटनगर महानगरपालिकाको ६ वटा र जहदा गाउँपालिकाको ५ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले १५१३७ मत प्राप्त गर्दा जसपा र एमालेले ५८५ कम अर्थात १४५५२ मत प्राप्त गरेका थिए । जसपाका उम्मेदवारलाई एमालेको मत नजाने बरु एमालेको धेरै मत अर्यालले नै सो क्षेत्रमा प्राप्त गर्ने अनुमान गरिएको छ ।
मन्त्री भएर पनि क्षेत्रको विकासमा ध्यान नदिएको, कर्मचारी सरुवामा कमिसनको खेल गरेको लगायतका विवादमा यादव मुछिएका छन् । जसको कारण अर्यालले सो क्षेत्रमा चुनाब जित्ने आँकलन गरिएको छ ।
अर्यालले प्रतिनिधिसभामै लड्ने चाहना राखेका थिए । तर, मोरङको क्षेत्र नं। ५ माओवादी केन्द्रको भागमा परेपछि उनी मुख्यमन्त्रीको दावीसहित प्रदेशसभाको उम्मेदवार बनेका हुन् ।
पहिलो प्रदेशसभामा काँग्रेस संसदीय दलका नेता रहिसकेका पार्टीका केन्द्रीय सदस्य राजिव कोइराला पनि मुख्यमन्त्री आकांक्षासहित सुनसरी क्षेत्र नम्बर २ (२) बाट पुनः उम्मेद्वार बनेका छन् । उनले पनि प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहेका थिए । तर, सो क्षेत्रमा पार्टीले निवर्तमान सांसद सिताराम मेहतालाई उम्मेदवार बनाएपछि उनी प्रदेशसभामा दोहोरिन उम्मेदवार बनेका हुन् ।
काँग्रेसभित्र मुख्यमन्त्रीको दावीसहित प्रदेशसभाको उम्मेदवार भएका अर्का नेता हुन्, गुरुराज घिमिरे । नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति भइसकेका घिमिरे मोरङ ४(१) बाट प्रदेशसभाको उम्मेदवार बनेका छन् ।
घिमिरेले एमालेबाट उम्मेद्वार बनेका ग्रामथानका जयप्रकाश चौधरीसँग प्रतिस्पर्धा गरिरहेका छन् । क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतका आधारमा गठबन्धन दल ६०० मतले अगाडि छ । त्यहाँ सत्ता गठबन्धनको १८९६९ मत हुँदा एमालेको १२९८० मत मात्रै रहेको छ । राप्रपाको ५७४ र जनता समाजवादी पार्टीको यो क्षेत्रमा १२७१ मत रहेको छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले पनि आफू मुख्यमन्त्री बन्नसक्ने बताउँदै आएका छन् । उदयपुरको क्षेत्र नं. १ (२) बाट प्रदेशसभामा उम्मेदवार बनेका उनले २०७४ को निर्वाचनमा बाम गठबन्धनलाई पराजित गरेका थिए ।
उदयपुरको त्रियुवा नगरपालिका उनको निर्वाचन क्षेत्र हो । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मत एमालेको ११२७१ रहेको छ भने गठबन्धनको मत ११५३५ बढि अर्थात २२८०८ रहेको छ । क्षेत्रमा काँग्रेसको १३६४३, माओवादीको ६२९६ र एकीकृत समाजवादीको २८६९ मत छ । स्थानीय तहको मतको आधारमा कार्की बलियो देखिएका उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार ईश्वरमणि राउत छन् ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि भावी मुख्यमन्त्रीको दावी गर्ने एक नेता हुन् । मोरङ क्षेत्र नम्बर ६ (२) मा उमेदवार बनेका उनको निर्वाचन क्षेत्रमा महानगरपालिकाको ५, ६, ७, ९, ११ र १२ नम्बर वडा समेटिएको छ । सो क्षेत्रमा स्थानीय तहको मतपरिणाम हेर्दा गठबन्धनको मत एमालेको भन्दा करिब दोब्बर बढि छ ।
क्षेत्रमा एमालेको मत ६३४२ रहेको छ भने गठबन्धनको मत १२७७४ रहेको छ । सो क्षेत्रमा काँग्रेसको मत ९६१५, माओवादीको १९१४, एकीकृत समाजवादीको १२४५ र जसपाको २००९ मत रहेको छ ।
स्थानीय तहको मतको आधारमा कार्की बलियो देखिएपनि काँग्रेसभित्रको समस्याको दबाब उनीमाथि छ । तर, मतान्तर ठूलो रहेको र आफू हरेक मतदातासँग परिचित रहेकोले ढुक्कले चुनाब जित्ने कार्कीको दावी छ ।
काँग्रेसका प्रदेश १ सभापति उद्धब थापा पनि मुख्यमन्त्रीको दौडमा छन् । उनी काँग्रेसको समानुपातिक कोटाबाट सांसद बन्न सूचीको पहिलो नम्बरमा छन् । काँग्रेसको समानुपातिक सुचीमा खस आर्य कोटाको १ नम्बरमा उनको नाम छ । उनी सांसद बन्ने निश्चित भएका पात्र हुन् ।
मुख्यमन्त्री बन्ने प्रचारसहित प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की झापाको क्षेत्र नं ५ (१) बाट उम्मेदवार बनेका छन् । एमालेको सरकार बन्ने अवस्थामा एमाले अध्ययक्ष केपी ओलीका विश्वासपात्र उनी नै संभवत मुख्यमन्त्री बन्नेछन् ।
कमल गाउँपालिकाको १, २, ३ र ४, गौरादह नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८ र ९ तथा गौरिगञ्ज गाउँपालिकाको ३,४,५ र ६ नम्बर वडा समेटिएको क्षेत्रमा गत स्थानीय तहको वडा तहमा दलहरुले प्राप्त गरेको मतका आधारमा गठबन्धन झिनो मतले अगाडि छ । सो क्षेत्रमा एमालेको १८५२९, काँग्रेसको १३६७२, माओवादीको ३२९७ र एकीकृत समाजवादीको १९०४ मत छ । एमालेभन्दा गठबन्धन अगाडि भएपनि सो क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गरेकोले कार्कीको अवस्था बलियो देखिन्छ ।
मन्त्री र सांसद हुँदा आफ्नो घर रहेको गौरादह क्षेत्रमा मात्र ध्यान दिएको र अन्यत्र बेवास्ता गरेको तथा बजेटबाट गरिएको काममा आपूmनिकटलाई सामेल गरेर कमिसन लिएको कार्कीमाथि आरोप छ । सो क्षेत्रमा संविधानसभाको दुईवटा निर्वाचनमा उनकै सहोदर दाजु दिपक कार्की उम्मेदवार भएर निर्वाचित भएका थिए । क्षेत्रमा कार्की परिवारकै मात्र हालिमुहाली भएको भन्दै एमालेभित्रकै कार्यकर्ताहरु असन्तुष्ट छन् । त्यसको असर चुनाबमा देखिएमा कार्कीको संसद यात्रा रोकिनसक्छ ।
मोरङको क्षेत्र नं. ४ (२) बाट उम्मेदवार बनेका दुबै पात्रले भावी मुख्यमन्त्रीको रुपमा आफूलाई प्रस्तुत गर्ने गरेका छन् । पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे एमालेबाट र गठबन्धनबाट विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुली उम्मेदवार भएको क्षेत्रमा रोचक प्रतिस्पर्धा छ ।
कटहरी गाउँपालिकाको १,२ र ३ तथा विराटनगर महानगरपालिकाको १,२,३,८ र १० नम्बर वडा समेटिएको सो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडा तहमा दलहरुले प्राप्त गरेको मत हेर्दा गठबन्धनको भन्दा एमालेको मत २०९ बढि छ । क्षेत्रमा एमालेले ११०८३ मत प्राप्त गरेकोमा काँग्रेसले ८४६०, माओवादी केन्द्रले १९१५ र एकीकृत समाजवादीले ४९९ मत प्राप्त गरेको छ ।
स्थानीयवासीबीच भिजेका दुबै उम्मेदवार सो क्षेत्रमा छन् । स्थानीय तहमा काँग्रेसभित्रको किचलोको कारण वडाहरुमा एमाले विजयी भएको भएपनि यसपटक त्यो अवस्था नरहने पराजुलीको दावी छ । मोरङ क्याम्पसको स्ववियु सभापति हुँदै राजनीतिमा सक्रिय पराजुलीले अहिलेसम्म उम्मेदवार भएका कुनैपनि निर्वाचन हारेका छैनन् । यद्यपी उनलाई काँग्रेसभित्रको किचलो चुनौतिपूर्ण बनिरहेको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!