गोरखाको रिसोर्टमा एमाले कार्यकर्ताबीच कुटाकुट

गोरखाको रिसोर्टमा एमाले कार्यकर्ताबीच कुटाकुट

गोरखा । गोरखा क्षेत्र नम्बर २ मा चुनाव प्रचारमा हिँडेका नेकपा एमालेका नेता तथा कार्यकर्ताबीच मदिरा सेवनपछि कुटाकुट भएको खुलेको छ ।

एमाले उम्मेदवार अब्दुस मियाँको चुनाब प्रचारमा रहेको टोलीमाथि एमालेकै युवा संगठन युवा संघ नेपालका नेता कार्यकर्ताले कुटपिट गरेका हुन् ।

पालुङ्टार नगरपालिका–७, च्याङ्ली स्थित म्याङ्गो रिसोर्टमा आइतबार राति युवा संघ नेपालको भानु गाउँपालिकाका अध्यक्ष चिजबहादुर लामा नेतृत्वको टोलीले एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरी काफ्लेमाथि आक्रमण गरेका हुन् । उनको टाउकोमा बियरको बोत्तलले हानेर गम्भीर घाइते बनाइएको प्रहरीले जनाएको छ ।

लामासहित राम सापकोटा, अन्जन पन्तलगायतका युवाहरु दिउँसोदेखि नै रक्सी खाएर बसेकोमा खाना खान चुनाव प्रचारमा हिँडेका काफ्लेसहितको टोली रिर्सोटमा पुगेपछि कुटाकुट भएको पाइएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न तनहुँका अजित पन्त र राम सापकोटालाई प्रहरीेले नियन्त्रणमा लिएको छ । घटनमा संलग्न थप दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । ‘उहाँहरू आफ्नै मान्छेहरूबीच कुटपिट भएको रहेछ’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदै छ ।’

रिसोर्टमा भनाभन हुदाँ लामाको समुहले काफ्लेमाथि बियरको बोतलले हानेको बनाइएको छ । चुनाव प्रचारबाट फर्केका अब्दुस मियाँ, हरी काफ्ले बसन्त श्रेष्ठसहित ४ जनाको टोली खाना खान रिर्सोटमा पुगेको थियो ।

घटनामा घाइते भएका काफ्लेको तनहुँको डुम्रेमा रहेको स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । काफ्लेको टाउकोमा ७ टाँका लगाइएको छ । पीडित काफ्लेले खाना खाईरहेको बेला एक्कासी आक्रमण भएको भन्दै उनीहरुलाई नचिन्ने बताएका छन् । आफ्नो टाउकाको गम्भीर चोट भएका कारण थप उपचारका लागि काठमाण्डौ जान लागेको उनले बताए ।

काफ्लेसँगै रहेका एमालेकै खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङ पनि सामान्य घाइते भएका छन् । आफूहरूको टोलीमाथि सुनुयोजित तवरले आक्रमण भएको गोरखा क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका मियाँले दावी गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्