खोटाङमा रामकुमार राईको पक्षमा यसरी बन्दैछ माहौल

खोटाङमा रामकुमार राईको पक्षमा यसरी बन्दैछ माहौल

खोटाङ । माओवादी केन्द्रका नेता रामकुमार राई (पासाङ) खोटाङबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार छन् ।
स्थानीय जनता र मतदातामाझ चिनिएका उनी यो पटक निर्वाचित भएर प्रतिनिधिसभामा पुग्ने उद्देश्यसहित चुनावी मैदानमा होमिएका छन् । उनी प्रदेश १ का बहालवाला उर्जा तथा सिंचाई मन्त्री पनि हुन् ।

पछिल्लो समय खोटाङमा उनको पक्षमा राम्रो माहौल बन्दै गएको समर्थक बताउँछन् । मुख्य प्रतिस्पर्धी देखिएका एमालेका नेता कार्यकर्ता नै चुनावको मुखमा माओवादी केन्द्रमा प्रवेश गरेपछि रामकुमारको पक्षमा माहौल बन्दै गएको हो ।

केही दिनअघि पत्रकार सम्मेलन गरेरै एमाले जिल्ला कमिटी सदस्य जेपी आचार्यको नेतृत्वमा एमालेका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यस्तै जसपाका नेता कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसपाका रबिन खम्बूको नेतृत्वमा ३८ जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

एकातर्फ प्रमुख प्रतिस्पर्धी पार्टीका नेता–कार्यकर्ता धमाधम माओवादी केन्द्रमा प्रवेश गरिरहेको र अर्कातर्फ सत्ता गठबन्धनको बलियो साथ पाउँदा रामकुमारको पक्षमा निकै सकारात्मक माहौल बनेको माओवादीका नेताहरू बताउँछन् ।

आफ्नो पक्षमा माहौल बन्दै गएपछि रामकुमार पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन् । ‘अहिले हाम्रो पक्षमा निकै राम्रो माहौल बनिरहेको छ । जनताहरू पनि हाम्रो पक्षमा हुनुहुन्छ, कार्यकर्ता पङ्क्तिमा उत्साह छ,’ रामकुमार भन्छन् ।

राष्ट्रियता र जनताको पक्षमा निरन्तर उभिएका रामकुमारले आफूले जनताको शीर झुक्ने काम कहिल्यै नगर्ने बताएका छन् । ‘मैले खोटाङे जनताको शीर झुक्ने काम गर्नेछैन । जहिले पनि खोटाङ जिल्लाको शीर ठाडो हुने गरी काम गर्नेछु,’ उनी भन्छन् ।

आफूले जनतासँग गरेका बाचा पूरा गर्ने प्रतिबद्धता जनाउँदै रामकुमारले आफू अरु जस्तो ढाँट्दै हिँड्ने मान्छे नभएको उल्लेख गरे । ‘कतिपय माननीय र जनप्रतिनिधिहरूले जनतालाई ढाँट्दै हिँड्नुभएको छ । जनतालाई झुक्याएर निर्वाचित हुने र गरेका बाचा पूरा नगर्ने काम भइरहेको छ,’ रामकुमार भन्छन्, ‘तर, रामकुमार ढाँट्दै हिँड्ने मान्छे होइन । जनतासँग गरेका बाचा पूरा गर्दै आएको छु । गर्दै जानेछु । म बोलेका कुरा पूरा गर्छु ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्