मोरङ २ का मतदाता सचेत भई मतदान गरौँ

 पुण्य पी अधिकारी

०७४ को संसदीय निर्वाचनमा मोरङ क्षेत्र न.२ बाट विजयी भएका काँग्रेस नेता डा.मिनेन्द्र रिजालले यसपटक टिकट पाएनन् । डा.रिजाल बौद्धिक साथै राजनीतिक वृत्तमा खरो सावित भएपनि निर्वाचन क्षेत्र न.२ मा पाँच वर्षको अवधिमा उल्लेखनीय काम गर्न सकेनन् । निर्वाचन क्षेत्र न.२ का मतदाता रिझाउन उनले रतुवा खोलामा निर्माणाधीन पुलको काम सम्पन्न गरीदिएका भए यति बेला निर्वाचनको माहोल अलग्गै हुने थियो ।

तर, पुल निर्माणलगायतका विषयमा डा.रिजाल चुक्दा निर्वाचन क्षेत्र २ यतिबेला फरकफरक प्रसङ्गले चर्चामा छ । आज कात्तिक १७ गतेदेखि आगामी मङ्सिर १ गतेसम्मका लागि निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र कार्यकर्तालाई चुनावी अभियानको बाटो खोली दिएको छ ।

राजनीतिक दलले आआफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरी सोही आश्वसनमा मतदाताको घरदैलोमा अभियान सुरूआत गरेका छन् । संसदीय निर्वाचनका सन्दर्भमा मोरङ क्षेत्र न.२ विविध विषयले चर्चामा आउने गरेको छ । ०४८, ०५१ र ०५६ मा बाबु गिरिजाप्रसाद कोइरालाले जितेको क्षेत्रमा यस पटक सुजाता कोइरालाको उम्मेदवारी छ । काँग्रेसीजन कतिपयले सुजाता दिदीको उम्मेदवारीलाई खरो ढङ्गले अथ्र्याए पनि गुदी भने शून्यप्रायः नै भएको निर्वाचन क्षेत्र न.२ मा मतदाताको बुझाइ छ । अबको निर्वाचन भिजन र मिसनको भएपनि गिरिजापुत्री भन्दैमा निर्वाचनको नतिजामा पक्ष हुन्छ भन्ने विश्वास मतदातामाहरूमा क्षीण हुँदै गएको छ ।

देशकै प्रतिष्ठा र चर्चाको विषयलाई जोड्ने हुलाकी राजमार्गले निर्वाचन क्षेत्र न.२ लाई प्रशस्त मात्रामा समेटेको छ । तर हुलाकी राजमार्गको विकास कछुवा गतिमा छ भन्दा कसैको विमति नहोला । हुलाकी राजमार्गको निर्माणसँगै रतुवाखोलामा पुल निर्माण गर्ने हो भने दक्षिणी मोरङले आर्थिक रूपान्तरणका विभिन्न ढोकाहरू सहजै खोल्न सक्दछ । तर, त्यसतर्फ जुनकुनै पार्टीका उम्मेदवार विजयी भएपनि ध्यान गएको पाइदैन । निर्वाचन क्षेत्र न.२ का मतदाताले विकास र आर्थिक रूपान्तरणलाई पर्खिएको धेरै समय व्यतित भइसकेको छ ।

आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि गिरिजापुत्री भन्दैमा जनमत बटुल्न फलामको चिउरा चपाउनु सरह छ । किसानको छोरो, भेटिने उम्मेदवार भन्दैमा मात्र पनि जनतम प्राप्त गर्न त्यति सहज पक्कै छैन । अबका दिनमा भिजन र मिसन बिनाको राजनीति र सेवाबिनाको निर्वाचित पदको खास अर्थ रहन्न । १ लाख २४ हजार ७२९ जना मतदाताले मङ्सिर ४ गते पर्याप्त मात्रामा विश्लेषण गरी मतदान गर्नु श्रेयष्कर हुनेछ । सन्थाल, मुसहर, झाँगडलगायतको बसोबास रहेको निर्वाचन क्षेत्र नं. २ मा भौतिक पूर्वाधारसहित शिक्षा, स्वास्थ्यलगायतका प्रशस्त विषयमा आमूल परिर्वतनको खाँचो छ । जसलाई आगामी मङ्सिर ४ गतेको निर्वाचनमा मतदान गर्दा यस क्षेत्रका मतदाताले निधार खुम्च्याएर सोच्न अनिर्वाय छ । प्रदेशसभा तर्फ (१) र (२)का उम्मेदवारलाई मतदान गर्नुअघि यस क्षेत्रका मतदाताले हजार पटक सोच्न जरूरी छ । कसैको लहड वा उक्साहटको मतदानले समृद्धि होइन, पीरको ढोका खोल्नेतर्फ होसियार बन्नै पर्छ । यस क्षेत्रमा यस पटक स्वतन्त्र उम्मेदवारकोसमेत उम्मेदवारी छ । कुनै पार्टीको नाममा उम्मेदवारी दर्ता गराएर स्वतन्त्र उम्मेदवार भन्दै जनमत माग्नेहरूसँग यस क्षेत्रका मतदाता सचेत हुन आवश्यक छ ।

बिहिबार, १७ कार्तिक, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर