शेखरलाई भावी प्रधानमन्त्रीको रुपमा ‘प्रोजेक्ट’ गर्दै गठबन्धन

शेखरलाई भावी प्रधानमन्त्रीको रुपमा ‘प्रोजेक्ट’ गर्दै गठबन्धन

विराटनगर । काँग्रेस कार्यकर्ता डराइरहेको बेला माओवादी र नेकपा (एस)का नेताले भने काँग्रेस नेता डाक्टर शेखर कोइरालालाई भावी प्रधानमन्त्रीको रुपमा ‘प्रोजेक्ट’ गर्न थालेका छन् । पसार्वजनिक केही कार्यक्रमहरुमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)का नेताले मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचन जितेर गएपछि कोइराला प्रधानमन्त्री हुने बताएका हुन् ।
उनीहरुले विगतमा यो क्षेत्रबाट लालबाबु पण्डितलाई विजयी गराएर आफूहरुले गल्ती गरेको पनि बताएका छन् । ‘शेखर कोइराला जितेर अब मन्त्री बन्नुहुन्न । उहाँ प्रधानमन्त्रीको दाबेदार हुनुहुन्छ त्यसकारण हामीले भोट दिनुपर्छ,’ नेकपा एसका युवा नेता ओसिम आलमले भने, ‘हामीले गर्वका साथ भन्छौं सांसद हुँदा मन्त्री पद त्याग गरेर हिंड्ने शेखर कोइराला यो क्षेत्रको सांसदको उम्मेद्वार हुनुहुन्छ । अब उहाँलाई जिताएर यहाँको विकास निर्माणको जिम्मा पनि दिन चाहन्छौं ।’
आलमले मात्रै होइन नेकपा (माओवादी केन्द्र)की विराटनगर सचिव नमिता न्यौपानेले पनि ०७४ सालमा लालबाबु पण्डितलाई जिताउनु आफूहरुको गल्ती भएको स्वीकार गरिन् । ‘नेपालकै नेतृत्व गर्ने काँग्रेस नेता शेखर कोइराला’ भन्दै उनले प्रसंसा गरिन् । ‘हिंजो मैले जिताएर पठाएको यो क्षेत्रको सांसदलाई मैले भोट हालेको दिनदेखि उहाँको अनुहार देखेको छैन । विकासको त कुरै पर जाओस्, मैले कुनै पनि जनताको सुख र दुःखमा सहभागी भएको देखेको छैन । त्यतिखेरै मलाई लागेको थियो । म माओवादीको कार्यकर्ता हुँदाहुँदै पनि पछि मेरो मन खिन्न भएको थियो,’ उनले भनिन्, ‘झिनो मतले शेखरले हारेपछि मलाई लागेको थियो । हाम्रो विकासको ढोका बन्द भयो । यो क्षेत्रका जनताले राजनीतिक अभिभावक गुमायौं भन्ने अनुभूति भएको थियो । आज त्यो दिन हामीले गल्ती गर्यौं र अब त्यसको गुन तिर्छौं, अब शेखरलाई दुई चार हजार मतले मात्रै होइन १०, १५ हजार मतको अन्तरले जिताएर पठाउँछौं ।’

विराटनगर ११ को पिचरा चोकमा बुधबार आयोजित कार्यक्रममा गठबन्धन दलका प्रमुख घटकका नेता आलम र न्यौपानेले यस्तो बताइरहँदा काँग्रेसका कार्यकर्ता भने मौन थिए । प्रधानमन्त्रीको रुपमा काँग्रेस कार्यकर्ताले भने गर्न डराए । ‘अहिले हामीले डाक्टर कोइरालालाई भावी प्रधानमन्त्री भन्यौैं भने त पार्टीबाटै पराजित गर्न अभियान सुरु हुनसक्छ,’ एक नेताले भने, ‘त्यसो भएकोले हामी भन्दैनौं, अन्य दलले भन्दा हुन्छ ।’

कार्यक्रममा मन्तव्य राखेका काँग्रेसका नेता तथा क्षेत्र नम्बर ६ (२) का प्रदेशसभाका उम्मेद्वार केदार कार्कीले पनि कोइरालाको विजय सुनिश्चित भइसकेको बताए । यद्यपि भावी प्रधानमन्त्रीको रुपमा प्रचार गरेनन् । ‘डाक्टर शेखर कोइरालाको विजय सुनिश्चित भइसकेको छ । नेपाली काँग्रेसका दोस्रो ठूलो नेतालाई मतदान गर्न पाउनु पनि यहाँका जनताको लागि गौरवको कुरा हो,’ उनले भने, ‘देशको राष्ट्रियता बचाउने, देशको संविधान बचाउने शेखर कोइरालालाई जिताउनु पर्छ । विराटनगरको विकास र समृद्धिका लागि पनि कोइरालालाई जिताउनै पर्छ ।’

भावी प्रधानमन्त्री भन्न किन डराउनु भएको भन्ने प्रश्नमा उनले पनि त्यो निर्वाचन जितेपछिको कुरा भएको बताए । ‘भावी प्रधानमन्त्री भनेको निर्वाचन जितेपछिको कुरा भयो, अहिले नै सबै कुरा भन्नु आवश्यक छैन,’ कार्कीले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले गठबन्धनको आवश्यकता र औचित्यको बारेमा बोलेका थिए । देशको विकास र समृद्धि, सुशासन, संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण गर्न गठबन्धन गरेको उनको भनाइ थियो ।

‘यही गठबन्धन पछिसम्म जान्छ भन्ने लागेको छ । संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन । भ्रष्टाचारलाई न्यूनीकरण गर्न गठबन्धन बनाएका हौं,’ कोइरालाले भने । उनले विराटनगरको केशलिया खोलामा तटबन्धन गरेर सँधैको डुबान र कटानको समस्या समाधान गर्ने योजना पनि सुनाए । ‘डुबानमा पर्दा सँधै आफू विराटनगर आएको छु, कोरोनाको बेलामा पनि आएको छु । यस पटक दुहबीदेखि जोगवनी सम्म केशलिया कोरिडोर डिपिआर गरिसकेका छौं । १४ अर्बको टेन्डर लाग्नेवाला छ । त्यसलाई छिट्टै काम सुरु हुनेवाला छ । त्यसपछि ११, १२, १३ नम्बरको पश्चिमी भेग बाढी र डुबानबाट सुरक्षित हुनेवाला छ,’ उनले शिक्षा र स्वास्थ्यबारे पनि आफ्ना एजेण्डा सुनाए, ‘प्रत्येक वडामा गुणस्तरीय शिक्षा दिने गरी माध्यामिक शिक्षाको व्यवस्था गर्ने । तपाईका छोराछोरी पनि म जस्तै डाक्टर बन्न सकुन् । म पनि सरकारी स्कुलमै पढेर डाक्टर भएको हुँ ।

त्यस्तै गरी सरकारी स्कुलको सुधार गरेर गुणस्तरीय बनाउने संकल्प छ । त्यस्तै कोही पनि व्यक्ति पैसाको अभावमा उपचार नपाएर मर्न नपरोस् भन्ने विपी कोइरालाको सोच अनुसार हामी अगाडि बढ्छौं । जेष्ठ नागरिकलाई घरघरमै उपचार गर्ने व्यवस्था गर्ने हाम्रो संकल्प छ ।’

मोरङ ६ मा शेखर र एमालेका लालबाबु पण्डितबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यो क्षेत्रमा ३ स्वतन्त्रसहित १५ जना प्रतिनिधिसभाका उम्मेद्वार छन् । पण्डितले कोइरालालाई २०७४ सालको निर्वाचनमा पराजित गरेका थिए । त्यसको बदला लिने दाउमा कोइराला रहेका छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट उम्मेद्वार बनेका पण्डितले ६ सय मतले कोइरालालाई पराजित गरेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्