विराटनगर । प्रत्येक चुनावताका दलहरुले भत्ताको लोभ देखाउँदै फकाउन प्रयास गर्ने पंक्ति हुन् ज्येष्ठ नागरिक । कहिले वृद्ध भत्ताको नाममा अनि कहिले अरु कुनै बहानामा पाका मतदाता फकाउने होडमा उम्मेद्वार लागेकै हुन्छन् ।
अहिले पनि त्यो क्रम सुरु भइसकेको छ । मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । अहिले पनि उम्मेदवारले मतदाता रिझाउन कुनै कसर बाँकी राखेका छैनन् । उनीहरुको लक्ष्यमा पाका मतदाता फकाउने बुँदा छुट्ने कुरै भएन ।
चुनावी ज्वरोको पारो लगातार बढिरहेका बेला ज्येष्ठ नागरिक के सोचिरहेका होलान् ? उनीहरुलाई आउँदो चुनावको चासोले कति उद्वेलित पारेको होला ?
विभिन्न पार्टी र स्वतन्त्र हैसियतमा प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका लागि उम्मेदवारी दिएकाहरूले चाडपर्वको बेला पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै मतदातालाई आफ्नो पक्षमा पार्न दिनरात प्रयास गरिरहेका छन् । उम्मेद्वार मात्रै होइन, कार्यकर्ताहरुसमेत फकाउन आइरहेका बेला ज्येष्ठ नागरिक ‘आफूहरु पर्ख र हेर’ को अवस्थामा रहेको भन्दै जवाफ फर्काइरहेका भेटिन्छन् ।
ज्येष्ठ नागरिक हर तरहबाट जाँच, परख र यकिन गरी काम गर्न सक्ने उम्मेदवारको पक्षमा मत खसाल्न इच्छुक देखिएका छन् । मोरङ विराटनगर–३ अरूण मार्ग बस्ने ७९ वर्षका ज्येष्ठ नागरिक मतदाता मातृकाप्रसाद लुइँटेलले यसअघिका निर्वाचनमा भाग लिएका उम्मेदवारले विभिन्न आश्वासन बाँडे पनि जितेर गएकाले वाचा गरेअनुसारको काम नगरेको बताए । उनले यसअघि चुनाव हारेका उम्मेदवारले पनि जनताका बीचमा मुख देखाउन जरूरी नसम्झिएको बताए ।
विराटनगर–३ मानगढ बस्ने ७० वर्षीया विष्णुकुमारी पोखरेलले उम्मेदवारले गुलियो आश्वासन बाँड्नुभन्दा पनि आफूले गर्न सक्ने काममा मात्र मतदातालाई आश्वस्त पार्नुपर्ने बताइन् । उनले जितेर जानेले जनताको मन बुझेर आ–आफ्नो क्षेत्रको विकास गर्नु पर्ने बताइन् । यद्यपि पोखरेलले पनि मत कसलाई दिने भनेर अझै निक्र्यौल गरिनसकेको बताइन् ।
विराटनगरस्थित ज्येष्ठ नागरिक हातेमालो समाजका संस्थापक अध्यक्ष ८२ वर्षीय खेन्द्रबहादुर बस्नेतले नेताले जनताको मन जित्ने गरी कमै काम गरेको भन्दै आक्रोश पोखे । उनले मङ्सिर ४ गतेको निर्वाचनमा उत्साहका साथ भाग लिने भए पनि हालसम्म कसलाई मत खसाल्ने भनेर निक्र्यौल गरिनसकेको बताए । बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका उम्मेदवारको विचार बुझ्ने र जसको ठीक लाग्छ उसैलाई मत दिने बताए ।
बुढीगङ्गा गाउँपालिका–२ बस्ने ७१ वर्षीय माधवप्रसाद उपाध्याय काफ्लेले मतदानका लागि योग्य नागरिकले आफ्नो मताधिकारको प्रयोग अनिवार्यरूपले गर्नुपर्ने बताए । निर्वाचनलाई पनि पर्वका रूपमा शान्तिपूर्वक मनाउनु पर्ने उनको भनाइ थियो । काफ्लेले प्रायः पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवार आफ्नो घरमा मत माग्दै आए पनि कसलाई दिने भनेर अझै ठोस निर्णय गर्न बाँकी रहेको बताए ।
झापा जिल्लाको दमक–८ बस्ने ६७ वर्षीय व्यवसायी एवं ज्येष्ठ नागरिक कुलप्रसाद बाराकोटीले नेताका लागि सबै कुरा पुगेको तर जनताका लागि सबै कुरा पुग्न अझै बाँकी रहेको बताए । बाराकोटीले प्रतिनिधिसभा र प्रदेशसभामा जनताको आवाज प्रतिनिधित्व गर्न सक्ने उम्मेदवारलाई मत हाल्ने बताए । जनताको पक्षमा विकासको मूल फुटाउन सक्ने, सामाजिक सुरक्षा भत्ता वृद्धितर्फ ध्यान दिने, कानून व्यवस्थालाई कसिलो बनाउन पहल गर्ने, महिला सशक्तीकरणको पक्षमा काम गर्न सक्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको समस्या बुलन्द रूपमा उठान गर्न सक्ने उम्मेदवारलाई मत हाल्ने इच्छा देखाए पनि कुन उम्मेदवारलाई मत हाल्ने भन्ने बारेमा अहिले नै मुख खोल्न छिटो हुने अधिकांश ज्येष्ठ नागरिकको ठहर छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!