सुरेन्द्र श्रेष्ठ
सन् २०१५ तिर घरायसी सामान खरिदका लागि नजिकै टेस्को गएको थिएँ । अपर्झट एउटा स्थानीय पत्रिकाको पहिलो पानामै एक परिचित व्यक्तिको तस्बिर देखेर समाचार पढ्दा खङ्ग.. भएँ । उनले आठ वर्षीय छोराको जन्म दिन मनाउन विद्यालयका साथीहरू बोलाएका रहेछन् । त्यहाँ भएको एउटा घटनाको आधारमा घरवाला बाबु पक्राउ परेका र बाल दुराचारको अपराधमा अदालतबाट दोषी ठहर भई ६ महिने कारावास सजायँ भोगिरहेका रहेछन् । राम्रो जागिर पाएर भारतबाट बेलायत आई घरजम गरिरहेका थिए । थप आम्दानीको लागि बहालमा दिन घर पनि किनेका रहेछन् । त्यही घरमा हामी एक वर्ष बसेका थियौँ ।
उमेर नपुगेका बालबालिकाको सहमतिमा पनि शारीरिक सम्पर्क गर्न हुँदैन भनेर सबै देशको कानुनमा स्पष्ट तोकिएको हुन्छ । यस्तो अपराध गर्नेलाई अन्य यौनजन्य अपराधभन्दा कठोर सजायँ दिइन्छ । विकसित देशमा अविकसित वा अल्पविकसित देशभन्दा कानुन कठोर हुने गर्छ । नेपालमा हालसालैका दुईवटा घटनाको कारण यो विषयमा सामाजिक सञ्जाल तातेको देखिन्छ । उमेरको हद घटाउने विषयमा छलफल चलाउन सकिन्छ तर वर्तमान कानुनलाई भने सबैले पालना गर्नुपर्ने हुन्छ । कुरै नबुझी सामाजिक सञ्जालमा सबै जना सबै विषयको जानकार भएझैं प्रहरी, वकिल र न्यायाधीश बन्ने होड चलाउनु उचित हुन्न ।
बलात्कार र बाल दुराचार नितान्त फरक विषय हुन् । निश्चित उमेर नपुगेसम्म त्यस्ता व्यक्तिले गर्ने कुनै पनि कार्य कानुन र व्यावहारिक रूपमा परिपक्व हुन सक्दैन, उमेरकै आधारमा समान प्रकृतिका अपराधमा पनि फरक–फरक सजायँको व्यवस्था गरिनुको पछाडि पनि यही सिद्धान्त निहित छ । उमेर हदमुनिका व्यक्तिसँग स्वेच्छाले नै उमेर पुगेकाले शारीरिक सम्पर्क गरे पनि सजायँको भागी हुन जान्छ । त्यस्तो अवस्थामा मलाई फसाएर वा बाध्यतामा पारेर शारीरिक सम्पर्क हुन गएको हो भनेर उम्कन पाइन्न । विकसित देशहरू स्वच्छन्दतावादी वा यौन मामिलामा निकै उदार हुन्छन् भन्ने मान्यता रहे पनि कसैको इच्छाविरुद्ध वा कम उमेरकाहरूको सहमतिमा शारीरिक सम्पर्क मात्र हैन आशय करणीलाई गम्भीर अपराध मानिन्छ । सजायँ भोगिसकेपछि पनि त्यस्ता व्यक्तिको छुट्टै तथ्यांक राख्ने, विशेष निगरानी गर्ने र संवेदनशील काममा जीवनभरि प्रवेशसमेत नपाउने व्यवस्था गरिएको हुन्छ ।
विभिन्न देशमा यौन क्रियाकलापमा सहमत हुन सक्ने कानुनी उमेर ११ देखि २१ वर्षसम्म तोकिएको छ । तथापि, केही राष्ट्रमा भने अविवाहित व्यक्तिबीचको यौन सम्बन्धलाई अवैध मानिन्छ । विवाहपछि मात्र यौन गतिविधिमा संलग्न हुन पाइने मुलुकमा अफ्रिकाको सुडान र लिबियादेखि मध्यपूर्व तथा एसियाका इरान, अफगानिस्तान, कुवेत, माल्दिभ्स, पाकिस्तान, ओमान, प्यालेष्टाइन, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र यमन छन् । नाइजेरियामा सहमतिको उमेर ११ वर्ष तोकिएको छ जुन विश्वमा सबैभन्दा कम उमेर हो । त्यसपछि फिलिपिन्स र अंगोला दुबै देशमा १२ वर्ष राखिएको छ ।
जापानको दण्ड संहिताअनुसार सहमतिको कानुनी उमेर १३ वर्ष हो । बुर्किना फासो, कोमोरोस टापु, नाइजर र सहरावी अरब लोकतान्त्रिक गणतन्त्रले पनि सहमतिको उमेर १३ वर्ष तोकेको छ । अल्बानिया, अष्ट्रिया, बंगलादेश, बोलिभिया, ब्राजिल, चीन, इरिट्रिया, इटाली, जर्मनी, हंगेरी, म्यानमार, कोलम्बिया तथा पोर्चुगललगायत ३२ अन्य देशमा १४ वर्ष रहेको छ । ग्रिनल्याण्ड, आइसल्याण्ड, अरुबा, क्रोएसिया, उत्तर कोरिया तथा पोल्याण्डलगायत २६ वटा देशमा १५ बर्ष, संयुक्त राज्य अमेरिका, युनाइटेड किंगडम, क्यानाडा, रूस, ताइवान, दक्षिण अफ्रिका, मंगोलिया, लेसोथोलगायत विश्वका अन्य ७६ राष्ट्रमा १६ वर्ष, साइप्रस, आयरल्याण्ड, मेक्सिको र नाउरुमा १७ वर्ष, केन्या, इराक, निकारागुआ, भ्याटिकन सिटी, भियतनाम, अर्जेन्टिना, रुवाण्डा, भारत, ग्वाटेमाला, नेपाललगायत अन्य ४० देशमा १८ वर्षलाई सहमतिको उमेर मानिन्छ । त्यस्तै ओसियनिक देश निउमा १९ वर्ष, दक्षिण कोरियामा २० बर्ष र संसारकै सबैभन्दा बढी उमेर बहराइनको कानुनअनुसार २१ बर्ष मानिएको छ ।
यस्तो कानुनलाई अनावश्यक रूपमा दुरूपयोग गर्न खोज्नेहरू पनि प्रशस्त हुन्छन् । त्यसैले कसैको विरुद्ध प्रहरीकोमा उजुर पर्ने बित्तिकै सबैले दोषी करार गरिहाल्नु हुँदैन । सामाजिक सञ्जालमा त यसलाई छलफलको विषय नै बनाउन हुँदैन । तर, विडम्बना हाम्रोमा यो गलत प्रचलन निकै झांगिएर गएको छ ।
एक जना चिनेको मान्छे लामो समयदेखि एक छोरीसहित भएको घरमा डेरा लिएर बसेका थिए । उनीहरूबीच राम्रो पारिवारिक सम्बन्ध थियो । सानी छोरीलाई काखमा राखेरै हुर्काएका थिए । बीचमा लामो समय अर्काे घरमा डेरा लिएर बसे तर फेरि त्यहीं फर्किए । सबै रामै थियो । घरबेटी महिला आफू नहुँदा कोठामा जाने गरेको थाहा पाई ठाकठुक परेपछि यो कुरा पुलिससम्म पुग्यो । मिलापत्र त भयो तर केही दिनपछि त्यो केटोलाई प्रहरीले हिरासतमा लियो । कारण १४ वर्ष पुगेकी छोरीसँग गलत मनशायसहित सम्पर्क बढाएको भन्ने थियो । केही दिन हिरासत बसेर घर आयो तर यही कारणले काममा जान पाएन । करिब तीन महिनासम्म निलम्बनमा प¥यो । प्रहरीले अन्ततः मुद्दा अगाडि बढाउनुपर्ने पर्याप्त आधार फेला परेन र आफ्नो काममा फर्कन पायो । तर, यो समयावधिमा उसले धेरै उतारचढाव भोग्नुप¥यो । मानसिक रूपमा अझैसम्म पनि सामान्य हुन सकिरहेको छैन ।
(लेखकः बेलायतमा बस्दैआएका नेपालका अधिवक्ता हुन् । उनको ब्लगबाट लिइएको)