गोकुल पराजुली
खोटाङ सेवा समाजको भवनमा सोमबार झण्डै तीन घण्टा बिताइयो । धेरै दिनपछि साहित्यकारहरुको जमघटको बीचमा पुगेको थिएँ । त्यसैपनि भरत गुरागाई बर्बरिकको सञ्चालनमा हुने कार्यक्रम गज्जबकै हुन्छ । लामो बोल्ने वक्ता परेनन् भने समय बितेको खासै याद हुँदैन । हुन त साहित्यिक कार्यक्रम लामै हुन्छ । सबैलाई मानसम्मानको लेठोले निकै समय खाइदिन्छ । देखेजति, पुगेजति सबैलाई स्वागत, सत्कार, आथित्यता, बढाइचढाइले समयको सीमा बढाइरहेको हुन्छ । कार्यक्रम आयोजकले त्यसमा ख्याल त राखेकै देखिन्छ तर अक्सर गरेर समय व्यवस्थापनमा ध्यान पु¥याउने गरेको कमै भेटिन्छ ।
कल्पनामा रमाउने बानी परेका हुन्छन् साहित्यकारहरु । कल्पनाशील क्षमता भएका कथाकार, लेखक, कविहरुले मञ्चमा माइक भेटेपछि हत्तपत्त छोड्दैनन् । सोमबार साहित्यकार हरि कट्टेलले पनि बढो मुस्किलले मात्र माइक छोडे । मञ्जु घिमिरे दाहालको मुक्तकसङ्ग्रह विमोचनपछि कृति समिक्षा गर्ने जिम्मेवारी पाएका कट्टेलले कृतिको अध्योपान्त टिप्पणी गरे । उनले टिप्पणी मात्र गरेनन् सँगै बसेका समालोचक दधिराज सुवेदीलाई नै माथ खुवाउने गरी कृतिको समालोचनानै गरिदिए ।
समिक्षाको समय लम्बिएपछि मञ्चमा बसेकाहरुतिर ध्यान दिँए । एउटा दृश्यले मनमा खुल्दुली जाग्यो । मञ्चमा बसेका आधाभन्दा बढी चस्मा लगाएका थिए । यसो मञ्चाविमुखतर्फ टाउको मोडेर हेरें त्यहाँ पनि चस्माधारीहरुको बाहुल्यतानै थियो । अहो ! एउटा सानो भेलामा चस्माधारीहरुको यो अवस्था छ भने आँखा अस्पताल र चस्मा पसलेहरुको ब्यापार त खास्साकै रहेछ जस्तो लाग्यो ।
पत्रकार हुनुको नाताले कार्यक्रमहरुमा सहभागी हुनु नित्यकर्म नै हो । हरेक दिन केही न केही कार्यक्रममा सहभागी भइनैरहिन्छ । तर यसरी चस्मा लगाउनेहरुको संख्यामा ध्यान पुगेको रहेनछ । हुन त भनाइनै छ नि ‘जस्तो आफू उस्तै च्यापु’ । पहिले आफू चस्मा लगाइदैनथ्यो अरुले चस्मा लगाएको ख्याल नहुने रहेछ । तर, अहिले चालिसेले छोएपछि आँखाले चस्मा खोज्यो । आफूले चस्मा लगाएपछि समूहमा चस्मा लगाएका मानिसमात्र देखिँदो रहेछ ।
मुक्तकसङ्ग्रह विमोचन कार्यक्रममा मञ्चासीन बाबुराम पोखरेल, कार्यक्रम सञ्चालक भरत गुरागाईं, मधु पोखरेल, प्रमुख अतिथि विवश पोखरेल, प्राज्ञ दधिराज सुवेदीको आँखामा चस्मा थियो । साहित्यकार देवी पन्थीको चस्मा सायद कमिजको खल्तीमा झुण्डिएको थियो । अर्थात मञ्चमा चस्माधारीहरुको बहुमत थियो । मञ्चाविमुखमा बसेकाहरु चुडामणि नेपाल अकिञ्चन, स्वीकृति रेग्मी मुनालगायत थुप्रैको आँखामा चस्मा थियो । कार्यक्रमस्थलमा चस्मा लगाउनेहरुको बाहुल्यता थियो ।
पहिलेपहिले सानो हुँदा चस्मा लगाएका मानिस देख्दा यिनी विद्वान रहेछन् भन्ने लाग्थ्यो । धेरै पढेर आँखै कमजोर भएछ जस्तो लाग्थ्यो । बालसुलभको स्मरण गरेको । सोमबार साहित्यकारहरुको जमघटमा चस्मा गन्ने जमर्को गरिएछ । सबै पढेलेखेका साहित्यकारहरु, लेखकहरु, रचनाकारहरु छन् अनि धेरैको आँखामा चस्मा छ । ती चस्माहरु बढ्यौलीको कि विद्वताको परिचय होलान् !