मोरङ क्षेत्र नम्बर ४ काँग्रेसले पाउनु पर्छ : आचार्य

विराटनगर । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री महेश आचार्यले मोरङ क्षेत्र नम्बर ४ नेपाली काँग्रेसले पाउनु पर्नेमा जोड दिएका छन् ।

विराटनगरमा आयोजित एक कार्यक्रमका क्रममा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै आचार्यले माओवादी केन्द्रलाई भन्दा एमालेसँग प्रतिस्पर्धा गर्न काँग्रेसलाई सहज भएको दाबी गरे । उक्त क्षेत्रबाट यसअघिको निर्वाचनमा माओवादीका उम्मेद्वार अमनलाल मोदीले विजय प्राप्त गरेका थिए । माओवादी केन्द्रले मोरङको क्षेत्र नम्बर ४ र क्षेत्र नम्बर ५ आफ्नो पार्टीले पाउनु पर्ने बताउँदै आएको छ ।

आचार्यले क्षेत्र कसले पाउँछ भन्ने विषय भोलीसम्ममा टुंगो लागिसक्ने बताए । ‘भोलीसम्ममा क्षेत्र कसले पाउँछ भन्ने टुंगो लाग्छ होला’, उनले भने, ‘हामी यो क्षेत्रमा लामो समयदेखि काम गरेको हुँदा काँग्रेसले नै पाउनु पर्छ भन्ने कुरा हो । किनभने सांगठनिक हिसावले र जनमतको हिसावले काँग्रेसले मात्रै प्रतिस्पर्धा गर्ने र जित्न सक्ने सम्भावना हुन्छ ।’

२०७४ सालको निर्वाचनमा माओवादीका उम्मेद्वारले जितेको भएपनि समानुपातिक मत भनेको ७ हजार ७ सय ३५ मात्रै रहेको आचार्यको दाबी छ । ‘अहिलेको स्थानीय चुनावमा उहाँहरुको वडाध्यक्षले पाएको मत ९ हजार ९ सयको हाराहारीमा छ । यो मतले झण्डै तीन गुणा बढी भएको एमालेसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ, उनले भने, ‘काँग्रेसलाई नै जित निकाल्न सहज हुन्छ भन्ने लाग्छ । यो विषमा ठोस भएर आएपछि हामी काँग्रेसको आन्तरिक पार्टीमा छलफल गरेर उम्मेद्वारको टुंगो लगाउँछौं ।’

उनले जितेको कारण एउटा आधारले माओवादीले पाउनुपर्छ भन्ने कुरा भएको भएपनि समानुपातिकमा सोही क्षेत्रमा पाएको मतको अवस्था पनि हेर्नुपर्नेमा जोड दिए । ‘त्यो हेर्दा खेरि काँग्रेसको ३० हजार भन्दा बढी मत छ । माओवादीको कम छ । त्यसो हुँदा हामीले पाउनु पर्छ भन्ने हो,’ उनले भने ।

शुक्रबार, ०७ असोज, २०७९, साँझको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर