नरमाया भट्टराई ‘गरिमा’
मसँग दुखसुखमा सँधै सँगै हुने एकजना दिदी हुनुहुन्छ । वंसजको नागरिकता छ । श्रीमान्को जन्मसिद्ध छ । सानी छोरि हुर्किएर ठूली भइन् । बिहे भयो । छोरीको छोरा पनि ८ वर्षको भयो । छोरीको ससुराको नागरिकता छ, सासुको पनि नागरिकता छ । यता दिदीको छोराले १८ वर्ष पार गरिसक्यो । सारै दुःख गरेर पढाइरहनुभएको छ । तर, यी दुवै दिदीभाइसँग नागरिकता छैन र ज्वाइँसँग पनि छैन ।
उनको श्रीमान् मेरो जन्मनै नेपालमा भएको हो भन्छन् । दिदीको माइती पक्षका त सरकारी जागिरनै खान्छन् । जग्गा जमिन व्यापार सबथोक छ । दिदीको बाबुसमेत यहिँ जन्मिएका हुन् रे ! जो अहिले वृद्ध भएर पनि मरिसके । छोरीले अर्काको घरको धन्दा गरेर बचाएको पैसाले जग्गा किनिन् । तर, त्यो जग्गा पास गरेर आफूसँग ल्याउन पाएकी छैनन् । छोरो भए कुनै सिप सिकाएर लाइसेन्स निकालेर स्वरोजगार बनोस् या विदेश भए पनि पठाउथें भन्ने चाहना छ ।
ती दिदीले इण्डियाको जोगवनी र सुन्दरीमोठबाहेक जन्मेदेखि कतै देखेकी पनि छैनन् ,पुगेकी पनि छैनन् । ‘यता गयो नागरिकता चाहिन्छ, उता गयो नागरिकता चाहिन्छ, के गर्ने हामी गरिब त त्यतिकै मर्ने भयांै । गरेर खान पनि नपाउने भयौं,’ भन्दै रुनुहुन्छ दिदी । छोरीलाई कुनै संघ संस्थामार्फत् घरेलु तालिममा सहभागी गराउन खोज्दा नागरिकताकै कारण सकिएन र अन्त्यमा आमाको झैं घरेलु धन्दा गर्न बाध्य छिन् ।
छोराछोरीको अस्ट्रेलिया, युरोप र अमेरिकाको पिआर र ग्रिन कार्ड छिट्टो मिलोस् भनेर कामना गर्दै बसेका, आफूनै त्यो लाइनमा उभिएका, ट्राई मार्दा मार्दा गलेर बसेका, कुन विषय पढाउँदा भोलिका दिनमा त्यता पठाउन सजिलो हुन्छ भन्दै स–साना छोराछोरीलाईसमेत त्यही विषय पढ्न तयार पार्दै गरेका कथित देशभक्त रास्ट्रवादीहरु, राजनीतिलाई गाली गरेर ऐन मौकामा आफैं राजनीतिको तरमार्न कुँडे ढुकेर बसेका ढाडे बिरालोहरु–लु भन्देऊ त अब तिम्रा छोराछोरीको यो हालत भए के गर्छाै ? तिम्रो यो हालत भए के गर्छाै ? अनि भन त यो विधेयक रोकिदा जोगिने तिम्रो स्वच्छ राष्ट्रियता चैँ कुन हो ? अमुक पार्टी सत्तामा हुँदा र नहुँदा जाग्ने र निभ्ने तिम्रो राष्ट्रवाद चैँ कुन हो ? अनि अरुलाइ तुच्छ गाली गर्दा हुरुरु बल्ने तिम्रो राष्ट्रवादी सामाधान चैं के हो ?