विराटनगर । निजी विद्यालय सञ्चालकहरुको संस्था प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।
विराटनगरस्थित एभरेष्ट स्कूल र एम्स कलेजका सञ्चालक रहेका पुरीलाई नेकपा एमालेले मोरङ क्षेत्र नं. ६ को उम्मेदवारको लागि सिफारिस गरेको हो ।
नेकपा एमालेको बुद्धिजीवी संगठनमा आबद्ध रहेका पुरीलाई एमाले क्षेत्रीय कमिटि बैठकले प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेको हो । सो क्षेत्रबाट लालबाबु पण्डितको नाम पनि सिफारिस भएको छ । पण्डित अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यद्यपी क्षेत्रमा उनीप्रतिको असन्तुष्टि चुलिएकोले एमाले विकल्प खोजीरहेको बेला पुरीको नाम सिफारिस भएको हो ।
नेपालमा राजनीतिक स्थायीत्व र विकास जनताको आकांक्षा पुरा गरेर जानुपर्ने थियो त्यो हुन नसकेकोले हामीजस्तो पेशागत अनुभव भएका व्यक्तिहरु सो क्षेत्रमा जानु आवश्यक रहेको ठानेर राजनीतिमा सक्रिय हुने निर्णय गरेको पुरीले बताएका छन् । आफ्नो अनुभवलाई इमान्दारीताका साथ देशको हितमा प्रयोग गर्दै भ्रष्टाचारमुक्त राष्ट्र र समाज निर्माण गर्ने आकांक्षा राखेको उनको भनाइ छ ।
आइतबार बसेको संघीय निर्वाचन क्षेत्र कमिटिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पुरी र पण्डितलाई सिफारिस गरेको एमालेले जनाएको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!