कांग्रेसको आन्तरिक किचलोका कारण सिट बाँडफाँटा टुंगिएनः माधव नेपाल

कांग्रेसको आन्तरिक किचलोका कारण सिट बाँडफाँटा टुंगिएनः माधव नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसभित्रको किचलोका कारण आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्ने काम नटुंगिएको बताएका छन् ।

शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले केही दिनभित्रै गठबन्धनमा आबद्ध दलहरूले सिट बाँडफाँटको विषय टुंगो लगाउने बताए ।

आगामी निर्वाचनका लागि गठबन्धनभित्र दल सिट बाँडफाँटबारे सहमति जुटाउने प्रयास भइरहेको छ । तर, सबै दलले आफ्नो अडान नछाडेकाले सहमति जुटिसकेको छैन । खासगरी कांग्रेसभित्र संस्थापन पक्षइतर समूहले १०० सिटभन्दा कम लिएर गठबन्धन गर्न नहुने अडान राखिरहेको छ । सोही अवस्थाप्रति लक्षित गर्दै अध्यक्ष नेपालले कांग्रेसको आन्तरिक किचलोका कारण सिट बाँडफाँटको विषय टुंग्याउन नसकिएको बताएका हुन् ।

तपाईंहरूले कति सिट पाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले आफ्नो पार्टीको दाबी ४० सिटमा रहेको संकेत गरेका छन् । ‘बाहिर मिडियामा तपाईंहरूले नै ४० सिट भनेर लेखिदिनु भएको छ’, उनले भने । उनले जित्ने संभावनाका आधारमा गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनुपर्ने आफ्नो धारणा रहेको प्रष्ट पारे । ‘कुन ठाउँमा कुन दललाई दिँदा जित सुनिश्चित हुन्छ त्यहीअनुसार भागबन्डा गरौँ भन्ने मेरो मान्यता हो’, उनले प्रष्ट पारे । उनले अब केहि दिनभित्रनै सिट बाँडफाँटबारे सहमति हुने समेत बताए ।

अध्यक्ष नेपालले अब चुनाव अघि वाम एकताको सम्भावना नरहेको बताएका छन् । उनले चुनाव अघि वाम गठबन्धनको सम्भवना नरहे पनि चुनावपछि भने अवस्था हेरेर हुनसक्ने बताए । उनले तत्काल माओवादी केन्द्रसँग गठबन्धन हुने भए पनि पार्टी एकता भने नहुने उनले प्रष्ट पारे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्