भोजपुर कांग्रेसमा आकांक्षीहहरु धेरै , ३५ जनाको नाम सिफारिस

विराटनगर । अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भोजपुरमा नेपाली कांग्रेसका आकांक्षीहहरु धेरै देखिएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभामा गरेर ३५ जनाको नाम जिल्ला समितिले प्रदेश समितिलाई सिफारिस गरेको छ । गठबन्धनमै रहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई तथा बहालवाला सांसद सुदन किराँतीले प्रतिनिधिसभामा दाबी गरिरहेका बेला कांग्रेसले भोजपुरबाट ३५ जनाको नाम सिफारिस गरेको हो ।

प्रतयक्ष तर्फ प्रतिनिधि सभामा ३ जनाको नाम कांग्रेसले सिफारिस गरेको हो । सभापति विनोद बान्तवाका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि उमेशजंग रायमाझी, विनोद बान्तवा र शिव खत्रीको नाम सिफारिस गरिएको छ । बान्तवा जिल्ला सभापति हुन् भने रायमाझी केन्द्रीय सदस्य हुन् । खत्री नेविसंघका पुराना नेता हुन् । खत्रीको नाम भने उनको सम्मानका लागि मात्रै पठाइएको सभापति बान्तावाले बताए । रायमाझी यसअघि गठबन्धन तर्फका माओवादी केन्द्रका किराँतीसँग पराजित भएका थिए ।

यस्तै, प्रतिनिधि सभामा समानुपातिकतर्फ सिफारिस हुनेमा धर्मराज राई, नन्दमणि राई, बालकृष्ण थापा, माया राई र शिशिरा राई रहेका छन् ।

प्रदेशमा सबैभन्दा बढी आकांक्षी देखिएका छन् । माओवादी केन्द्रले संघमा जितेकाले गठबन्धन हुँदा उसकै भागमा पर्ने डरले प्रदेशमा धेरै आकांक्षी देखिएको भोजपुरका जिल्ला स्तरका एक नेताले बताए ।

प्रदेश ‘ख’मा प्रत्यक्षतर्फ गोविन्दबहादुर कार्की, दिनेश कार्की, सूर्यप्रसाद राई, मदनबहादुर खुलाल, नारायणबहादुर राउत, अमृत राई, गणेश राई, दिनेश घिमिरे र महेश बस्नेतको नाम सिफारिस गरिएको छ । प्रदेश सभामा समानुपातिकतर्फ धीरेन्द्रकुमार श्रेष्ठ, विश्वनाथ पराजुली, निरकुमार विश्वकर्मा, सितारा राई, निर्मला खड्का, शुभचन्द्र राई, पार्वती श्रेष्ठ र राजन खतिवडाको नाम सिफारिस गरिएको छ ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रदेश ‘क’ मा प्रत्यक्षतर्फ उत्तमकुमार चापागाईँ, गजेन्द्रबहादुर कार्की, बाबुराम बस्नेत र हेमन्त मुकारुङ राईको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने आङबाबु शेर्पा, टंकबहादुर पाण्डे, बालकृष्ण राई, बिरबल राई, राजेन्द्र राई र रोहित विकको नाम प्रदेश समितिलाई सिफारिस गरिएको छ । सबैले राजनति गर्ने भएकाले प्रतिष्ठामा आँच नओस भनेर आकांक्षीहरू सबैको नाम सिफारिस गरिएको सभापति बान्तवाले बताए ।

भोजपुर ‘क’ मुख्यमन्त्री राजेन्द्र राईको निर्वाचन क्षेत्र हो । राई नेकपा एकीकृत समाजवादीका सचिव समेत हुन् । मुख्यमन्त्री राईले भने गठबन्धन गर्दा संघ नेकपा एसको भागमा नपरे प्रदेशको तयारी गर्ने मनस्थिति बनाएका छन् ।

भदौ १६, २०७९, साँझको ०६:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर