लोड हुँदैछ...

मेनु

प्याब्सन प्रतिविम्व

‘म संगठनको बफादर पाले हुँ’

‘म संगठनको बफादर पाले हुँ’

केहि समय रोकिएको प्याब्सन विराटनगरले प्रत्येक साताको आइतबार हाम्रोमत दैनिकमार्फत प्रकाशन गर्दै आएको ‘प्याब्सन प्रतिविम्व’ स्तम्भ पुनः सञ्चालन थालिएको छ । शिक्षा क्षेत्रको समस्या, संभावना, शैक्षिक व्यक्तित्वहरुको अनुभव, भूमिका र योगदान तथा उनीहरुले समाजमा दिएको योगदानलाई समेट्ने यो स्तम्भ विभिन्न कारणले केहि समय रोकिएको थियो । यो अंकमा प्याब्सन मोरङका अध्यक्ष तथा सुम्निमा बोर्डिङ स्कूलकी प्रिन्सिपल शितला सुब्बासँगको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ :

कोभिडबाट विद्यालयहरू आर्थिक तथा शैक्षिक रूपले कतिको प्रभावित भए

महामारीको रूपमा फैलिएको कोभिड १९ को कारण विश्व आक्रान्त भएको बेला विद्यालयहरू पनि त्यसबाट अछुतो रहने कुरै भएन । कोभिडबाट हाम्रो जिल्लाका संस्थागत विद्यालयहरू पनि प्रभावित भए । आफ्नो भवन, जग्गा नभएका विद्यालयहरू अझ धेरै प्रभावित भएका छन् । विद्यालय वन्द भएपछि घरभाडा तिर्न, कर तिर्न, गाडीको किस्ता तिर्न, इन्सुरेन्सको पैसा तिर्न पनि गाह्रो परेको थियो । त्यस अवस्थामा केन्द्रीय प्याब्सनले साना लगानीका विद्यालयहरूलाई विद्यालय नै एक आपसमा जमानी बसी संगठनका तर्फबाट प्रामाइम कमर्सियल बैंक र मेगा बैंकसँग बिनाधितो ऋण लिन पाउने व्यवस्था गरिदिएको हुँदा ठुलो राहत भयो । कोरोना माहामारीमा स्कूल ठप्प भएपछि विद्यार्थीहरूमा मानसिक असर पर्नथाल्यो । विद्यार्थीहरु शिक्षाबाट वञ्चित भए । त्यसबाट मुक्त गर्न प्याब्सन केन्द्रिय कार्यसमितिले अनलाइन कक्षा, टिभी, रेडियोबाट कक्षा नियमित सञ्चालन गरेको थियो ।

तपाईं प्याब्सन मोरङको अध्यक्ष भएपछि शैक्षिक समस्या समाधान र विद्यालयहरूको हकहितको लागि के काम गर्नुभयोे ?

अध्यक्ष भएको तीन महिनासम्म प्याब्सनको प्रदेश र केन्द्रीय अधिवेशनमै व्यस्त भइयो । त्यसपछि स्थानीय तहको निर्वाचन आयो । स्थानीय तहको निर्वाचनले गर्दा त्यसैमा अल्मलियौं । त्यसपश्चात नयाँ शैक्षिक सत्र शुरु भयो । हामी हाम्रो वार्षिक क्यालेण्डर बनाउनेतर्फ केन्द्रित भयौं । साथै भर्ना अभियानमा व्यस्त भयौं । त्यसपछि असार ४ गते जिल्लास्तरीय विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भयो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्याब्सन मोरङले यो प्रतियोगिता आयोजना गरेको थियो । त्यसलगत्तै हामीले हाम्रो शिक्षकहरूको क्षमताको विकास गर्न विषयगत पाठ्यक्रम (कक्षा ४, ७ र ९) प्रवोधिकरण कार्यक्रम सञ्चालन गरेका छौं ।

सदस्य विद्यालयहरू नेतृत्वप्रति असन्तुष्ट देखिनुको कारण के हो ? केहि सदस्य विद्यालयमाथिको कार्वाही किन ?

फूलको आँखामा फूलै संसार काडाको आँखा काडै संसार.. । हेर्ने दृष्टिकोणमा फरक पर्छ । मलाई कुनै सेलीब्रेटी बन्नु छैन । संगठनको नेतृत्व गर्दा संगठनको मान मर्यादा विपरित जाने मेरो आशय होइन । मैले आफूले गर्नुपर्ने कर्तब्यलाई कदापी भुल्ने छैन । मलाई विश्वास गरेर यहाँसम्म पु¥याउनुभएको सदस्यहरुले नै हो । मैले सदस्य विद्यालयहरूको भावना, हक र हित विपरित कार्य गरेको जस्तो लागेको छैन । म कुनै भगवान होइन । मसँग कुनै जादुको छड़ी छैन । सोच्ने साथ कुनै चमत्कार गर्न सक्ने । म संगठनको बफादर पाले हँु । संगठनले निर्देशन गरेका कुराहरू सबै तह र तप्काले अक्षरस पालना गर्नुपर्छ भन्ने मेरो मान्यता हो । अतः मैले संगठनको नीति विपरित कार्य गरेको भए औल्याई दिनुहुन अनुरोध छ । संगठनभित्र रहेर आफ्ना भावना व्यक्त गरौँ, कागले कान लग्यो भन्दैमा त्यसको पछि नलागौं भन्न चाहान्छु ।
यसबीच्मा केही विद्यालयहरूलाई जिल्लाले स्पष्टिकरण मागेको हो । त्यसलाई कारवाहीको रूपमा लिनु हुदैन । स्पष्टिकरण किन होला भनेर इमान्दारितापूर्वक छातीमा हात राखेर आफैलाई प्रश्न गर्नुहोला । जवाफ स्वयम् पाउनुहुनेछ । हामीले संगठनको बोनाफाइट सदस्य बन्नको लागि संगठनको नीति नियम पालना गर्नुपर्छ भन्ने मान्यता राख्नुपर्छ । अरु केही भन्नु छैन ।

सदस्य विद्यालयहरूको शैक्षिक विकासको लागि कस्तो योजनाहरू अघि सार्नुभएको छ ?

सर्वप्रथम जिल्लाभरि विभिन्न असमान अवस्थाका विद्यालयहरू भएको कारण सुविधा सम्पन्न विद्यालयहरुलाई भन्दा कमजोर आर्थिक स्थिति भएका विद्यालयहरू जुन कोभिडको संक्रमणकालदेखि नै समस्यामा छन् । त्यस्ता विद्यालयहरुको स्तरोन्नतीमा सहयोग पु¥याउने प्याब्सन मोरङको पहिलो प्राथामिकता हो ।

विद्यालय व्यवस्थापन सञ्चालन गर्ने सम्बन्धमा संस्थापक, प्रिन्सिपलहरू समयसापेक्ष बन्न आवश्यक छ । विद्यालयको प्रिन्सिपल त्यस संस्थाका मालिक मात्र होइन, ऊ प्रशासक, सामाजिक अगुवा र शैक्षिक नेता पनि हो । अतः प्याब्सनले भबिष्यमा प्रिन्सिपलको नेतृत्व विकास, क्षमता विकास गर्नको लागि विज्ञहरूलाई आमन्त्रण गरी शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न तालिम, सेमिनार गोष्ठी, कार्यशाला आदि सञ्चालन गर्ने योजना बनाएको छ । विद्यार्थीहरूको शैक्षिक स्तर तथा प्रतिभा मापन गर्नको लागि चाँडै हिज्जे, नृत्य, गायनको साथै विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने प्याब्सनको तयारी छ ।

स्थानान्तरण प्रमाणपत्रविना विद्यार्थी भर्ना हुने समस्या समाधानको लागि के गर्दै हुनुहुन्छ ?

स्थानान्तरण प्रमाणपत्रबिना विद्यार्थी भर्ना लिनु नियम विपरित हो । भर्ना लिने विद्यालयले यसो गर्नुहुँदैन । विगतका वर्षभन्दा यो वर्ष धेरै नै कमी आएको हामीलाई जानकारी प्राप्त भएको छ । हामी यस विषयमा सम्बन्धित विद्यालयहरू चाहे सामुदायिक हुन या संस्थागत सबैलाई हार्दिकतापूर्वक स्थानान्तर प्रमाणपत्र लिएर मात्र भर्ना गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ ।

अन्त्यमा केही भन्नू हुन्छ ?

आफ्ना कुरा राख्ने मौका दिएकोमा प्याब्सन मोरङको तर्फबाट प्याब्सन विराटनगरलाई धेरै–धेरै धन्यवाद । प्याब्सन निजी विद्यालयहरूको साझा संगठन हो । सम्पूर्ण निजी विद्यालय सञ्चालकहरूको समान हैसियत, समान उद्देश्य र लक्ष्य भएका हुँदा आपसमा हार्दिकतापूर्वक सहकार्य गरौं । निजी विद्यालयहरूको हकहितको लागि सरकारसँग हामीले नीतिगत लडाइ लड्ने बेला भएको छ । यहाँहरूको सल्लाह सुझाब र सहयोगको प्याब्सन मोरङ सधै अपेक्षा राख्दछ ।

                                                                                                           प्रस्तुती : अर्जुन श्रेष्ठ, प्याब्सन विराटनगर उपाध्यक्ष

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।