लोड हुँदैछ...

मेनु

सामुदायिक विद्यालय पनि अब्बल बन्दै

सामुदायिक विद्यालय पनि अब्बल बन्दै

उदयपुर । साउनको चर्को घाममा खोला किनारमा तरकारी खेती गर्न निर्माण गरिएका टनेलमा २१ वर्षे वर्षा ताम्रकार असिनपसिन हुँदै ढुंगा छानिरहेकी छन् । नमूना माध्यमिक विद्यालय (१–१२) मा पढाइ हुने प्राविधिक धारले निर्माण गरेको टनेलमा उनले काम गरेकी हुन् ।
स्कूलले निर्माण गरेको टनेलमा राम्रो तरकारी उब्जाउने र बिक्री गरेर हातमा पैसा लिने सपना ताम्राकारको छ । बालिविज्ञानमा डिप्लोमा तेस्रो वर्ष अध्ययन ताम्राकार भन्छिन्, ‘पढेको कुरा व्यवहारिक रुपमा अभ्यास गर्दै आम्दानी पनि गर्न लागिरहेको छु ।’

किताबमा पढेका कुरा व्यवहारिक रुपमा अभ्यास गर्न पाउँदा धेरै कुरा जानिने उनको अनुभव छ । यसबाट भविष्यमा कृषि फर्म खोलेर पनि जीवन चलाउन सकिने आत्मविश्वास उनले लिएकी छन् ।

टनेलमै भेटिएका २२ वर्षे छत्रबहादुर खड्काको भनाइ पनि उस्तै छ । टनेलमा तरकारी खेती गरेर पढाइ खर्च जुटाउने उनको योजना छ । उनी पनि बालिविज्ञानमै तेस्रो वर्षमा अध्ययरत विद्यार्थी हुन् ।

विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कमाउँदै पढ्ने कार्यक्रम सञ्चालनमा छ । कार्यक्रमअन्तर्गत बालिविज्ञान अध्ययन गरिरहेका अतिगरिब, विपन्न, जेहेन्दार गरी जम्मा २० जना छनोट भएका छन् । उनीहरु नेपालटार क्षेत्रमा रहेको टनेलमा दैनिक दिउँसो ३ बजेदेखि ६ बजेसम्म काम गर्छन् ।

त्यहाँ निर्माण गरिएका ८ टनेलमा उनीहरुले काउली, टमाटर, खुर्सानीलगायत उत्पादन गर्ने भएका छन् । नमूना मावि खाटडाँडाका प्राविधिक धार संयोजक लिलाभक्त राउतभका अनुसार विद्यालयले नै जग्गा, विउविजन, मल, औषधीउपचार, विक्री वितरणको लागि सहयोग गर्नेछ । विद्यार्थीले मेहनत गरेर जति बढि उत्पादन गर्छन्, त्यो उनीहरुकै आम्दानी हो ।

विद्यालयमा बालिविज्ञान र पशुविज्ञान सम्बन्धी ३ वर्षे डिप्लोमा पढाइ सुरु भएको चार वर्ष पुगेको छ । बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीहरुको अभ्यासको लागि विद्यालयले झण्डै २ विगाहा ५ रोपनी जग्गामा खेती गराउँदै आएको छ । विद्यार्थीको व्यवाहारिक ज्ञान बढाउने उद्देश्यले सुरु गरिएको खेतीमा अहिले पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको राउतले बताए ।

नमूना मावि एक ग्रामिण क्षेत्रमा रहेको सामुदायिक विद्यालय हो । २०७५ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त गरी तीन वर्षे डिप्लोमाको बालिविज्ञान सम्बन्धि पढाई सुरु भएको थियो । त्यसपछि २०७६ सालदेखि नै पशुविज्ञान पढाई सुरु भएको हो ।

एक लाख ७० हजार रुपैयाँमा ३ वर्षे कृषि तथा पशुसम्बन्धी डिप्लोमा तहको पढाई हुने गरेको छ । विद्यालयले निःशुल्क पाठ््यपुस्तक, एक वर्षे आवास सुविधासमेत दिँदै आएको छ । संयोजक राउतका अनुसार विद्यालयमा भौतिक, रसायनिक, वनास्पति, जीवविज्ञान, भेटनरी, माटो प्रयोगशालाको सुविधा पनि उपलब्ध छ ।

विद्यालयले तरकारी, अन्नबालि, विउ, वेर्ना उत्पादन गर्दै आएको छ । उत्पादन गरेको कृषिजन्य वस्तु विक्री वितरण नभए शितभण्डारमा पनि राख्नमिल्छ । उत्पादिन बेर्ना स्थानीय कृषकलाई पनि वितरण गर्ने गरेको राउनले बताए ।

सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालनमा स्रोत जुटाउनु ठूलो चुनौती रहेको प्रधानध्यापक देवीबहादुर राईको भनाइ छ । विद्यालयमा करिब १ हजार ५० विद्यार्थीहरु अध्ययनरत छन् । तर, शिक्षकको दरबन्दी पर्याप्त छैन । नेपाली र अंग्रेजी गरी दुवै माध्यममा पठनपाठन हुने विद्यालयमा पूर्वाधारतर्फ ६ वटा पक्की भवनमा २ वटानिर्माणधिन छन् भने ५ वटा अर्धपक्की ट्रस्टवाला भवन छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधकुमार घिमिरले प्राविधिकधारमा धेरै चुनौती रहेको बताए । विद्यालयलाई आत्मनिर्भर बनाउन नसकिएको बताउँदै उनले अनुदान र सहयोगको भरमा चलाउनु परेको जानकारी दिए । प्रशिक्षक तथा शिक्षक शिक्षिका स्थायी नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।