पहाडका विरामीको पीडा : जहाँ रोग पालेरै बस्न बाध्य छन् विरामी

मुढेशनिश्चरे । संखुवासभाका धर्मादेवी नगरपालिका–३ का २७ वर्षिय संगम पौडेलको सवारी दुर्घटना परि दाहिने खुट्टामा गहिरो चोट लागेका छ । उनी वैशाखीको सहारामा हिँडडुल गर्दै आएका छन् । शनिबार घरदेखि नजिकै धर्मदेवी नगरपालिकाबाट १ सय मिटर उत्तरमा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थाहा पाएपछि बुवा गोपाल राज पौडेलको सहारामा आए ।

स्कुलको कक्षा कोठामा चिकित्सक बस्ने ठाउँ बनाएको थियो । जहाँ थिए, विराटनगरस्थित न्यूरो हस्पिटलका अर्थोपेडिक सर्जन डा. अमित देव । उनले विरामीको स्वास्थ्य अवस्था हेरेपछि उपचारमा लागे । एक्स–सरे हेरेपछि खुट्टा फेक्चर देखिएन । दायाँ खुट्टाको घोडामा झण्डै आठ टाँचा लगाइएको थियो । घाउ पाक्न लागेको थियो । घाउलाई सरसफाइ गर्ने विधि र औषधी डा. देवले लेखिदिएपछि त्यहाँबाट विरामी पौडेल र उनका बावु गोपाल स्कुल परिसरमा राखिएको औषधी कोठामा पुगे । चिकित्सकले सिफारिस गरेको औषधी निःशुल्क पाएपछि हर्षित मुद्रामा बाहिर निस्किए ।

स्थानीयस्तरमा विशेषज्ञसहितको चिकित्सकको टोली आएर उपचार पछि निःशुल्क औषधी पाएपछि धर्मदेवी नगरपालिका स्थानीय खुसी भएको उनले बताए । ‘आर्थिक अवस्थाका कारण पहाडी जिल्ला संखुवासभाका विरामीले रोग पाल्न बिरामी बाध्य छन्,’ स्थानीय गोपालराज पौडेलले भने, ‘नगरपालिका रहेको ठाउँ धर्मदेवीमा अहिलेसम्म प्रथामिक उपचार केन्द्रहरु छैन । यहाँ एउटा स्वास्थ्य चौकी रहेको छ । त्यहाँ चिकित्सक छैन । एक जना नर्स छन् । हामीजस्तो विपन्नले खर्च गर्न सक्ने अवस्था पनि छैन ।’

स्थानीयस्तरमा भरपर्दो उपचार गर्ने अस्पताल नहुँदा यहाँका नागरिकले रोग पाल्नुपर्ने अवस्था रहेको छ । ‘धरान र विराटनगर उपचार गर्न जाँदा ठूलो धनराशी खर्च हुने गरेको छ । कोही विरामी भएर उपचार गर्न अस्पताल लानसक्ने अवस्था छैन,’ उनले भने, ‘त्यही भएर यहाँका स्थानीय यस्तै विभिन्न संघसंस्थाको सहयोगमा हुने स्वास्थ्य शिविरको भरपर्नुपर्ने अवस्था रहेको छ ।’

स्थानीय सरकार, प्रदेश र संघले पहाडी जिल्लामा भरपर्दो स्वास्थ्य उपचारमा ध्यान नदिएको प्रति यहाँका स्थानीयको गुनासो रहेको छ । ‘संविधानमै व्यवस्था गरेको छ, स्वास्थ्य उपचार नैसर्गिक अधिकार भनेर । तर, पहाडी जिल्लामा रहेको ग्रामिण क्षेत्रका विरामीको लागि राज्यले लगानी गरेको देखिँदैन,’ उनले भने, ‘समयैमा उपचार नपाउँदा यहाँका स्थानीयले मृत्यृवरण गर्नुपर्ने अवस्था रहेको छ ।’

धर्मादेवी नगरपालिका ३ का विरबहादुर सार्कीको पनि समस्या उस्तै छ । उनको पेट पोल्ने र खुट्टा झमझम गर्ने नशाको समस्याबाट ग्रसित भएको वर्षौ भयो । वर्षौदेखिको समस्या रहेको उनी आर्थिक अवस्थामा नाजुक भएको कारणले उपचार नगरि बसेका थिए । विशेषज्ञसहितको चिकित्सकहरु आउँदै गरेको पत्तो पाएपछि उनी पनि स्वास्थ्य शिविरमा आए । न्यूरो अस्पतालका न्यूरो सर्जन डा. आशिष जङ्ग थापाले उनको स्वास्थ्य अवस्थाको जाँच गरेपछि औषधी दिए । ‘चिकित्सकले स्वास्थ्य जाँच गरेपछि औषधी पनि निःशुल्क पाएँ । यस औषधीले कतिको काम गर्ने हो । त्यो औषधी खाएपछि थाहा हुन्छ होला,’ उनले भने, ‘यसरी आफ्नै गाउँघरमा एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य उपचार पाउँदा हामी एकदमै खुसी भएका छौं ।’

यसरी एकै ठाउँमा विशेषयज्ञ चिकित्सकसहित ल्याएर उपचार गर्ने वातवरण छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गरिदिएको हो । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टीस्पेसिलिटी हस्पिटलले प्राविधिक सहयोग गरेको थियो । शिविरमा न्यूरो अस्पतालका बालरोग विशेषज्ञ डा. सुरेश प्रसाद साह, अर्थोपेडिक सर्जन डा. अमित देव, प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा. निशा अधिकारी, न्यू्रो सर्जन डा. आशिष जङ्ग थापा, डा. एमडि सिदिक, देबेश माझी, डा सुमन पण्डितलगायतका स्वास्थ्यकर्मीहरूले धनकुटा र संखुवासभाका धर्मादेवी नगरपालिका भित्रका पाँच सय २० जना स्थानीयको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरमा आएका मध्ये सबैभन्दा बढी महिलाहरु समस्या लिएर आएका थिए । पाठेघरको समस्या, सेतो पानी बग्ने, तल्लोपेट दुःख्नेलगायतका समस्या लिएर आएको स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. निशा अधिकारीले बताइन् ।

चिकित्सकका अनुसार ‘आङ खस्ने’ रोग सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी अवस्थामा गाह्रो भारी बोक्ने, राम्रो हेरचार नगर्ने कारणले देखा पर्छ ।

पडाडी जिल्लाको ग्रामीण क्षेत्रका धेरै महिलाहरूमा पाठेघरको समस्याबाट गुज्रने गरेको डा. अधिकारीले बताइन् । पाठेघर खस्ने समस्याका तीन चरणमध्ये पहिलो अभ्यास गर्ने, दोस्रो रिङ प्रेसरी राख्ने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनले बताइन् । यस्तै स्वास्थ्य शिविरमा आएका बालबालिकाहरुमा रुगाखोकी, टन्सिल, झाडा बान्ता र पेट दुख्ने समस्या भएको विरामीको स्वास्थ्य जाँच गरिएको बालरोग विशेषज्ञ डा. सुरेश प्रसाद साहले जानकारी दिए । शिविरमा हार्डजोर्नी, नशा, छालालगायतका विभिन्न रोगका विरामीहरूले स्वास्थ्य जाँच गरेका थिए ।

उनीहरूलाई आवश्यक पर्ने औषधी पनि ःशुल्क वितरण गरिएको छिमेक लघुवित्त विक्तीय संस्था लिमिटेड प्रदेश १ का क्षेत्रीय प्रबन्धक रामनाथ महतोले बताए । सामाजिक उत्तरदायित्व अन्तरगत रहेर आफ्नो सदस्य र स्थानीयलाई लक्षित गरि पहाडी जिल्लाको त्यो पनि विकट क्षेत्रमा विरामीलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर गरेको उनले बताए । ‘छिमेक लघुवित्तले देशका विभिन्न ठाउँहरुमा यसरी निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘जहाँ विपन्न परिवारले सेवा पाएका हुन्छन् ।’

न्यूरो अस्पतालका निर्देशक ई.रन्जित राज बस्नेतलले स्वास्थ्यको पहँुचभन्दा बाहिर रहेको पहाडी जिल्लाका ग्रामिण बस्तीका स्थानीयलाई लक्षित गरि छिमेक लघुवित्तसँग सहकार्य गरि स्वास्थ्य शिविर गरेको बताए । ‘पहाडी जिल्लाको ग्रामिण वस्तीमा सरकारी अस्पताल नहुनु दुर्भाग्य हो । साधरण चोटपट भएका विरामी टाढाका अस्पताल लैजानुपर्ने अवस्था रहेको छ । त्यही कुरालाई महसुस गरि यहाँका स्थानीयलाई सेवा दिन हामीले शिविर गरेका हौं,’ उनले भने । यस्ता स्वास्थ्य शिविर र सचेतना न्यूरो अस्पतालले आगमी दिनहरूमा गर्दै जाने बताए ।

कार्यक्रममा धर्मादेवी नगरपालिका प्रमुख उदयचन्द्र पौडेलले निजी क्षेत्रबाट स्थानीयस्तरमा निःशुल्क स्वास्थ्य शिविर गरेर सह्रानीय काम गरेको बताए । कार्यक्रममा धर्मादेवी नगरपालिका ३ का वडाअध्यक्ष श्याम बहादुर पौडेल, उद्योग वाणिज्य संघ धर्मदेवी नगरपालिका अध्यक्ष ऋषिकेशव चापागाइँ, सिंहेश्वरी माविका व्यवस्थापन समितिका अध्यक्ष ख्याम खड्कालगायतले बोलेका थिए ।

शनिबार, १८ असार, २०७९, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर