प्रदेश १ को चुनावी परिणामः एमालेले ३२ प्रतिशत गुमाउँदा काँग्रेस २७ र माओवादी ३३ प्रतिशत फाइदामा

विराटनगर । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आउँदा प्रदेश १ मा सबैभन्दा धेरै स्थानीय तह जितेर नेपाली काँग्रेस पहिलो दल बनेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा प्रदेशका १३७ स्थानीय तहमध्ये ५४ तह जितेको काँग्रेसले यसपटक ६९ स्थानीय तह जितेको छ भने २०७४ मा ६९ स्थानीय तह जितेको नेकपा एमाले ४७ तहमा सीमित भएको छ । ९ तह जितेको माओवादी केन्द्रले १२ तह जित्दा एकीकृत समाजवादीले २ जितेको छ ।

यो निर्वाचनमा एमालेले प्रदेशभरीमा २२ प्रमुख÷अध्यक्ष, १८ उपप्रमुख/उपाध्यक्ष र ७८ वडाध्यक्ष गुमाएको छ । यस्तै नेपाली काँग्रेसले थप १५ प्रमुख/अध्यक्षमा विजयी बन्दा २ उपप्रमुख/उपाध्यक्ष गुमाएको छ भने ३१ वडाध्यक्ष थपेको छ । माओवादी केन्द्रले प्रमुख/अध्यक्षमा ३, उपप्रमुख/उपाध्यक्षमा १४ र वडाध्यक्षमा १२ थप गरेको छ । जसपाले गएको निर्वाचनको तुलनामा ६ वडाध्यक्ष गुमाउँदा राप्रपाले १ प्रमुख गुमाउँदा १ उपप्रमुख र ५ वडाध्यक्ष थपेको छ ।

स्थानीय तहको नेतृत्वमा काँग्रेसले यो निर्वाचनमा २७ प्रतिशत स्थानीय तह थप गर्दा एमालेले ३२ प्रतिशत गुमाएको पाइएको छ । यस्तै अघिल्लो निर्वाचनमा ९ स्थानीय तह जितेको नेकपा माओवादी केन्द्रले १२ तह जितेको छ । उसले थप तीन तह जित्दा ३३ प्रतिशत सुधार गरेको छ ।

अघिल्लो निर्वाचनमा २ तहको नेतृत्व जितेको जनता समाजवादी पार्टीले यस पटक पनि २ तह नै जितेको छ भने ३ तह जितेको राप्रपा २ तहमा खुम्चिएको छ । नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा जित निकाल्दा ३ तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

नेकपा र एमालेको विभाजन तथा सत्तारुढ दलको चुनाबी गठबन्धनको कारण काँग्रेसले स्थानीय चुनावमा प्रदेश १ राम्रो फाइदा उठाएको देखिएको छ । काँग्रेसले उपप्रमुख÷उपाध्यक्ष ४६, एमालेले ६३, माओवादी केन्द्रले २१, एकीकृत समाजवादीले ५, जसपाले २ र राप्रपाले २ जितेको छ । २०७४ मा काँग्रेसले ४४, एमालेले ८१, माओवादीले ७, जसपाले २ र राप्रपाले १ उपप्रमुख÷उपाध्यक्ष जितेको थियो ।

अघिल्लो निर्वाचनको तुलनामा उपाध्यक्ष÷उपप्रमुखमा एमालेले २२ प्रतिशत गुमाएको छ भने प्रमुखमा २७ प्रतिशत सुधार गरेको काँग्रेसले पनि उपप्रमुख र उपाध्यक्षमा ४ प्रतिशत गुमाएको छ । माओवादी केन्द्रले भने अघिल्लो निर्वाचनको तुलनामा तीन गुणा धेरै अर्थात २०० प्रतिशत थप उपप्रमुख र उपाध्यक्ष जितेको छ । राप्रपाले १ उपप्रमुख थप गर्दा जससपाले २ उपप्रमुख कायमै राखेको छ ।

२०७४ को निर्वाचनमा प्रदेशका ११५७ वडामध्ये एमालेले ५५४, काँग्रेसले ४३९, माओवादीले ११५, जसपाले २६, राप्रपाले ९ र स्वतन्त्रले ७ वटा जितेका थिए । यस पटक एमालेले वडाध्यक्षमा १४ प्रतिशत गुमाएर ४७६ मात्र जितेको छ भने काँग्रेसले ७ प्रतिशत सुधार गर्दै ४७० वटा जितेको छ । माओवादी केन्द्रले १० प्रतिशत सुधार गर्दै १२७ वडा जित्दा जसपाले २३ प्रतिशत गुमाएर २० वटा मात्र जितेको छ । राप्रपाले ५५ प्रतिशत सुधार गर्दै १४ वडाध्यक्ष जितेकोमा स्वतन्त्र उम्मेदवार १८ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।

मङ्गलबार, १७ जेठ, २०७९, दिउँसोको ०३:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर