प्रदेशसभा बैठकमा नामाकरण बहसः शुभकामना भन्दै आरोप प्रत्यारोप

विराटनगर । प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशनमा पुनः प्रदेश नामाकरणको बहस सुरु भएको छ । तर, नामको टुंगो लाग्ने कुनै गुञ्जायस भने देखिएको छैन ।

प्रदेश १ प्रदेशसभाको कार्यकाल सकिन केही महिनामात्रै बाँकी छ । प्रदेशको नामाकरण गर्न नसकेकोमा सांसदहरुलाई ‘ग्लानी’को महसुस भएको प्रदेशसभाको दशौं अधिवेशन उद्घाटनको क्रममा देखियो । तर, प्रदेशको नामाकरण गर्न नसकेको दलका नेताहरूले एकले अर्कोलाई अपजस बोकाउने प्रयास गरे ।

यो प्रदेशसभाको कार्यकालमा ३ वर्षभन्दा धेरै दुईतिहाई बहुमतको सरकार शेरधन राईले सञ्चालन गरेका थिए । राजधानी कहाँ राख्ने भन्ने विषयमा ठोस गरेको भएपनि नामाकरणको १० वटा अधिवेशनभर चर्चामा रहेपनि ठोस निर्णय हुन सकेन ।

‘अझै पनि नामाकरणको विषय टुंगो लाग्छ भन्ने विश्वास छैन’ के नामको टुंगो लगाउनुहुन्छ भन्ने प्रश्नमा एमाले प्रदेश १ संसदीय दलका सचेतक राजकुमार ओझाले बताए । उनले प्रदेशको नामाकरण गर्न नसक्नु नै समग्र प्रदेशसभाको ५ वर्षे कार्यकाल सफल भएको वा असफल भएको भन्न भने नसकिने बताए ।

अधिवेशनको सुरुवातमा बोलेका साना दलहरु संघीयल लिम्बूवान राष्ट्रिय मञ्च, राप्रपा, जसपालगायतले नामाकरणको विषय टुंगो लगाउन नसक्नु दुःखद विषय भएको बताएका थिए । तर, ठूला दलका नेताहरुले भने त्यो विषयलाई एकले अर्कोतिर थोपर्ने प्रयास गरे ।

एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्यले त आफ्नो पार्टीको भन्दा सरकारको दायित्व रहेको जवाफ दिए । ‘प्रदेशको नामाकरणको पहल सरकारले नै गर्ने हो, आजै गर्छौं, भोली गर्छौं जस्तो गरेर नयाँ सरकारले फुइँफाइँ लगाएको थियो,’ उनले भने, ‘प्रदेश सरकारको इज्जत जोगिने भयो भनेको त होईन रहेछ, नामाकरणको छलफल गर्ने भनेर समिति पनि बनाइयो, तर अहिलेसम्म भएन, जनताको भावनासँग खेलवाड किन भयो ? चर्का कुरा गर्ने नाम राख्न किन नसक्ने ? ।’

जवाफमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले भने कसैले पहल नगरेको कारण सरकारले पहलकदमी लिन खोजेको तर एमालेले चासो नदिएका कारण सम्भव नभएको बताए । ‘नामाकरणाको विषय हामीले सुरू गरेका हौं, सबैभन्दा धेरै सांसद रहेको एमालेले पहल नै गरेन, उदासिन भयो,’ राईले भने, ‘कसैले नगरेको हुँदा हामीले सरकारकोतर्फबाट पहल गरेका हौं । एमालेकै माननीय रहेको समिति बनाउँ । एमालेले नै पहल गरोस् । काँग्रेसले पनि गरोस् । सकेसम्म सहमतिमा गरौं । नभए प्रक्रियामा गएर टुंगोमा पुगौं ।’

नेकपा माओवादी केन्द्रका सांसद धिरेन्द्र शर्माले यो अधिवेशन नै कार्यकालको अन्तिम अधिवेशन हुने भएकोले नामाकरण गर्नुपर्नेमा जोड दिए । ‘नामाकरणमा हामी पछाडि परेका छौं,’ उनले भने । कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले नामाकरणको विषयमा पक्ष विपक्ष भन्दा पनि मिलेर टुंगो लगाउनु पर्नेमा जोड दिए ।

‘नामाकरणको विषय कहाँ अड्किएको छ हामीलाई थाहा छ । यही बजेट अधिवेशनबाटै नामाकरणको टुंगो लगाउँ । संविधानले नामाकरणको विषयमा पक्ष विपक्ष भनेको छैन मिलेर जाउँ,’ उनले भने, ‘काँग्रेस साझा सहमतिका आधारमा टुंगोमा पुर्याउने पक्षमा छ, प्रदेशको नामाकरण गर्ने विषयमा दोहोर्याएर, तेहर्एर भन्छु यही कार्यकालमा टुंग्याउँ ।’

शुभकामनासँगै आरोप र प्रत्यारोप
दशौं तथा बजेट अधिवेशनको पहिलो दिन सफलताको शुभकामना दिने कार्यसूचि रहेको भएपनि नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका थिए । एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्य सरकारको कटु आलोचनामा उत्रिएपछि र मुख्यमन्त्री राई जवाफी प्रतिवादमा ओर्लिएका थिए ।

बैठकमा शुभकामना मन्तव्य दिन रोष्ट्रममा पुगेका एमाले नेता आचार्यले सरकारको कार्यशैलीलाई ‘भुक्ने तर, नटोक्ने कुकुर’को संज्ञा दिए । सरकारले धेरै काम गर्छु भनेको तर नामाकरणसमेत गर्न नसकेको भन्दै कटाक्ष गरे । नामाकरणको विषयमा अन्य दलहरुसँग समन्वय र छलफलका लागि सरकारले सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मेवारी दिएको विषयमा पनि नेता आचार्यले अवमूल्यन गर्ने प्रयत्न गरे । ‘सरकार प्रदेशको नामाकरण गर्न गम्भीर छैन भन्ने कुरा त थोरै सांसद भएको जसपाका नेता तथा मन्त्री जयराम यादवलाई दिएर घाँडो भिराइदिएकै दिन हामीलाई महशुस भइसकेको थियो,’ नेता आचार्यले भनेका थिए ।

सरकारको चर्को आलोचना गरेका नेता आचार्यले संघीय प्रणाली माथिनै गम्भीर प्रश्न उठाए । उनले सरकारको कार्यशैलीले संघीयताको विरोधमा आवाजहरु बढ्न थालेको भन्दै व्यवस्थानै उल्टिनसक्ने सम्मको चेतावनी दिए । प्रदेश सरकारको ओैचित्य पुष्टि गर्न गाह्रो परिरहेको भन्दै उनले तीन तहको सरकार यसकारण आवश्यकता छ भन्ने पुष्टि गर्न जरूरी रहेको बताए ।

प्रमुख प्रतिपक्ष दलका नेताको भाषण धैर्यतापूर्वक सुनेका मुख्यमन्त्री राजेन्द्रकुमार राईले अधिवेशन आरम्भ हुनेदिन शुभकामना दिनुपर्नेमा गाली र आलोचनाको संस्कृति सुरु गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । पहिलो दिनमा नै वादप्रतिवादमा उत्रिनु राम्रो नलागेपनि बाध्य भएको भन्दै उनले प्रतिउत्तर दिएका थिए । ‘शुभकामना दिने क्षणमा आलोचना गर्ने, गालिगलोजको परम्परा बसाउने हो भने वर्तमान कार्यविधि सच्याउनु पर्छ जस्तो लाग्यो’ उनले दलहरुको यस्तै प्रवृत्तिले बालेनहरुको जन्म भएको कुरा नबिर्सन नेता आचार्यलाई सचेत गराए ।

सरकार छोड्नु परेको पीडा र कुण्ठाका कारण सरकारको अनावश्यक आलोचना गरेको भन्दै मुख्यमन्त्री राईले कुटनीतिक भाषमा भने ‘अंगुर अमिलो भइरहेको छ ।’प्रतिपक्ष कति धेरै उदासिन भइरहेको छ भन्ने यो एउटा उदाहरण पनि हो ।’ प्रतिपक्षी दलसँग अध्ययन र सूचनाको अभाव रहेको भन्दै उनले दुई वर्षदेखि वितरण हुन नसकेको लाखौं लाइसेन्स दुई महिनामै वितरण गर्ने प्रणाली स्थापना गरेको र यातायात कार्यालयको सेवा अहिले सबैभन्दा धेरै सुधार भएको जानकारी विपक्षीसँग नहुनु दुःखद् भएको बताए ।

प्रदेशको नामाकरणका विषयमा भुक्ने कुकुर र नबर्सने मेघको गर्जन भनि गरेको टिप्पणीको जवाफमा मुख्यमन्त्री राईले एमालेको दुई तिहाईको सरकारले नामाकरण गर्न किन उदासीनता देखाएको भनेर प्रश्न गरे । ‘अहिले पनि एमालेसँगै धेरै सांसद रहेकोले एमालेले नै प्रयत्न गर्नु पर्ने हो । दुईतिहाई हुँदा उदासीन बसेको एमाले होइन ?’ सरकारले काम नगरेको भन्ने आरोपको खण्डनमा उनले प्रदेश सरकारले पहिलो पटक ९० प्रतिशतभन्दा बढी बजेट खर्च गरेर कार्य दक्षता प्रस्तुत गर्ने अवस्था बनेको बारेमा पनि विपक्षी दलले अनदेखा गरेको उनको टिप्पणी गरे ।

वर्तमान सरकारले विगत सरकारको कमजोरीको मार खेपिरहेको भन्दै आर्थिक अनुशासन बाहिर गएर योजनाहरु अघि बढाउँदा प्रदेश सरकारलाई २७ अर्ब बढी आर्थिक दायित्वको भार परेको उनले बताए । प्रदेश सरकारले काम नगरेको भन्ने विपक्षीको आरोपको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रतिपक्ष रचनात्मक नभएको बरु उदासीन बनेर व्यवस्थानै गलत छ भन्ने ढंगले प्रस्तुत भएको, विपक्षी दल सुचनाबाट टाढा रहेको टिप्पणी गरे ।

सोमबार, १६ जेठ, २०७९, साँझको ०७:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर