स्थानीय तहमा उप्रमुखसँगै महिला वडाध्यक्ष पनि घटे

२०७४ सालमा प्रदेश १ मा १० जना महिला वडाध्यक्षमा निर्वाचित भएकोमा यस पटक ५ जना मात्र निर्वाचित

विराटनगर । प्रदेश १ का १३७ स्थानीय तहमध्ये दलहरुको गठबन्धनको कारण उपाध्यक्ष र उपप्रमुख पदमा पुरुष उम्मेदवार बन्दा महिला अवसरबाट बञ्चित मात्र भएनन् वडाध्यक्ष पनि गएको निर्वाचनभन्दा कम निर्वाचित भएका छन् ।

प्रदेश १ मा दलहरुबीचको गठबन्धनको कारण ३८ जना पुरुषहरु उपाध्यक्ष र उपप्रमुखमा निर्वाचित हुँदा ६ जना मात्र महिला प्रमुख र अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै प्रदेश १ का ११५७ वडामध्ये ५ वडाध्यक्ष मात्रै महिलाले जितेका छन् ।

दलहरुबीचको गठबन्धनको कारण उपप्रमुखको उम्मेदवारबाट बञ्चित भएका महिलाहरुलाई यसपटक दलहरुले वडाध्यक्षको उम्मेदवार बनाउन पनि कञ्जुस्याईं गरे । २०७४ को स्थानीय तह निर्वाचनमा प्रदेशभरीमा १७४ जना महिला वडाध्यक्षको उम्मेदवार रहेकोमा यसपटक उम्मेदवार संख्या नै १३६ मा झरेको थियो । त्यसमध्ये ५ जना मात्रै निर्वाचित भए ।

वडाको नेतृत्वलिन सफल भएका महिलाहरु सबै नेकपा एमालेका उम्मेद्वार छन् । तेह्रथुमको म्याङलुङ ७ मा तारा कार्की गुरुङले ४९५ मत प्राप्त गरि कांग्रेसका राजन गुरुङलाई ९२ मतान्तरले पराजित गरिन् भने धनकुटाको पाख्रीबास ९ को वडाध्यक्षमा सम्झना आलेले ६१२ मत ल्याएर काँग्रेसकै धनबहादुर तामाङलाई ७२ मतान्तरले पराजित गरेकी छन् ।

यस्तै मोरङको उर्लाबारी ७ मा एमालेकै उर्मिला थापाले १४५५ मत प्राप्त गरि काँग्रेसका निवर्तमान वडाध्यक्ष बिरबल थापालाई ३११ मतले पराजित गरेकी छन् । बेलबारी ७ को वडाध्यक्षमा सुनिता चौधरीले माओवादीका विन्देश चौधरीलाई पराजित गरिन् । विन्देशले ८५७ मत ल्याउँदा सुनिताले ८९७ मत ल्याइन् ।

उता सोलुखुम्बुको महाकुलुङ ४ मा सरस्वती कुलुङले कांग्रेसका विशाल कुलुङ राईलाई हराइन् । सरस्वतीले ३१८ मत ल्याउँदा विशालले २७९ मत ल्याए ।
प्रदेशमा वडाध्यक्षमा उठेका १९ जना महिलाले दोस्रो र २७ जना महिलाले तेस्रो मत प्राप्त गरेका छन् ।

 

शुक्रबार, १३ जेठ, २०७९, दिउँसोको ०२:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर