विराटनगरको सिटी मार्बल्सलाई २ लाख जरिवाना

विराटनगर । विराटनगर–२ स्थित सिटी मार्बल्स फर्मलाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ । उपभोक्ताको ढाड सेक्ने गरि अधिक मुनाफा राखि शौचालयमा प्रयोग हुने ‘कमोड’ बिक्री बितरण गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले २ लाख जरिवाना गराएको हो ।

सिटी मार्बल्सले ४३ प्रतिशतसम्म मुनाफा लिएर उपभोक्तालाई कमोड बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन अनुसार कारवाहीको दायारमा ल्याएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । १८ हजार ५ सय ३५ रुपैयाँमा खरिद गरेको कमोड सिटी मार्वल्सले उपभोक्तलाई २६ हजार ५ सयमा बिक्री बितरण गरेको अनुगमनको क्रममा भेटिएपछि कारवाही गरिएको उनले बताए ।

सिटीले उर्लाबारीकी ताराकुमारी बस्नेतलाई एकथान कमोड (शौचासन) बिक्री गर्दा ४३ प्रतिशत मुनाफा लिइएको भेटिएको हो । विराटनगरमा सस्तो मूल्यमा सामान पाइएला भनेर आएकी बस्नेतले एउटा कमोडलाई २६ हजार ५०० भुक्तानी गरेकी थिइन् । सिटी मार्बल्सले २०७८ फागुन २६ गते १८ हजार ५३५ रुपिँया मूल्यमा सामान खरिद गरेको थियो । कम मूल्यमा खरिद गरेर स्टकमा रहेको सामान बढी मूल्यमा बिक्री गरेको पाइएको हो । ‘ज्याकवार ब्राण्डको कमोडको अधिकतम बिक्री मूल्य कम्पनीले मुल्य २३ हजार ८६० रुपैयाँसम्म तोकेको रहेछ । तर,सिटी मार्बल्सले अधिक मुनाफा राखि कमोड बिक्री गरेको भेटिएपछि कारवाहीको दायारमा ल्याएको हो,’ कार्यालय प्रमुख पोखरेलले भने, ‘गलत व्यापारिक क्रियाकलपले उपभोक्तासँग बढी लिएको ५ हजार ३५० रुपैयाँ फर्मबाट फिर्ता दिलाएका छौं ।’
सामान खरिद गरेको मितिको मूल्यमा अधिकतम २० प्रतिशत मात्रै नाफा लिन पाइन्छ । तर, सिटी मार्बल्सले स्टकमा रहेको सामानलाई नयाँ मूल्य सूचिका आधारमा बिक्री गरेर बढी मुनाफा आर्जन गरिएको हो ।
वाणिज्य कार्यालयले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा १०७ वटा फर्मको अनुगमन गरेको छ । जसमध्ये २८ वटा फर्म जरिवानामा परिसकेका छन् । जरिवाना भराएका २८ फर्मबाट चालु आर्थिक वर्षमा १२ लाख ५७ हजार रुपिँया असुल गरिएको पोखरेलले जानकारी दिए ।

बुधबार, ११ जेठ, २०७९, साँझको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर