

धरान । धरानका मेयर हर्कराज राई(साम्पाङ)ले उपमहानगरपालिकाको महँगो सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।
स्वतन्त्रबाट चुनाव जितेका राईले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका हुन् ।
‘म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँड्न चाहन्छु, किनकि ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु,’उनले भने ।
उनले समस्या परे फोन गर्न भन्दै आफ्नो निजी नम्बरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई कल गर्नुहोला(९८१९०१२३७१ र ९७४६९६५१९८), तपाईँको सेवक, जय धरान,’उनले लेखेका छन् ।
उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को १ ज ६४० नम्बरको आरामदायी स्कोर्पियो तयारी अवस्थामा राखिदिएको छ । चालक पनि तयारी अवस्थामा छन् ।
यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए ।
लामो समयदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएका थिए ।