विराटनगर । भारतदेखि तस्करी गरि ल्याएको मोटर पार्टसहरू विराटनगरको एक इलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरमा बिक्री वितरण हुने गरेको पाएपछि प्रहरीले संचालकलाइ पक्राउ गरेको छ ।
अवैध रूपमा भन्सार छली गरि ल्याएको इलेक्ट्रिक पाटपूर्जाहरू बिक्री वितरण गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ६ का ३० वर्षिय सेख अलतफलाई मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेका शेख विराटनगरस्थित अमन ईलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरका संचालक हुन् । उनले भारतबाट अबैध रुपमा राजश्व छली, चोरी पैठारी गरी राजश्व चुहावट गरेर बिभिन्न किसिमका पानी तान्ने मोटर पाट्स, मेसिनरी पाट्सहरु ल्याएर फिटिङ गरेर गैरकानुनी रुपमा बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘भारतदेखि अवैध रुपमा ल्याएको पार्टपूर्जाहरू आफ्नो पसलमा ल्याएर लुकाई छिपाइ स्टोर गरी राखेको बिशेष सूचनाको आधारमा छापा हानेर प्रहरीले बरामद गरेको हो ।
पसलमा बिभिन्न किसिमका मोटर पाट्स, मेसिनरी पाट्सहरु ल्याएर फिटिङ गरेपछि गैर कानुनी रुपमा अन्य कम्पनीको स्टिकरहरु तथा वारेन्टी कार्ड समेत प्रयोग गरी बिक्री बितरण गरेको पाइयो,’ डिएसपी श्रेष्ठले भने, ‘त्यसपछि बरामद गरेको पार्टपूर्जाहरुसहित संचालकलाई पनि पक्राउ गरिएको छ ।’ प्रहरीले बरमद गरेको पार्टपूजाहरु ४ लाख ८५ हजार मुल्य बरावरको रहेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका सेखलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ । शेखले क्यारिङ गर्ने तस्करहरूमार्फत भारतदेखि अवैध रूपमा इलेक्ट्रिक पार्टपूर्जाहरु ल्याउने गरेका थिए । भारतमा पाटपूर्जा खरिद गर्ने र शेखले निश्चित रकम क्यारिङ गर्नेलाई दिएपछि उनको पसलसम्म तस्करी धन्दा चलाउने क्यारिङ गर्नेले ल्याइदिने गरेको स्रोतले जानकारी दिएको छ ।
जोगवनीमा किनेको पाटपूर्जा विराटनगर ल्याउँदा क्यारिङ गर्नेले पिसको हिसाबले शेखले पैसाँ दिने गरेका थिए । आफ्नो पसलमा ल्याएपछि मेसिनरी पाट्सहरुमा गैर कानुनी रुपमा अन्य कम्पनीको स्टिकरहरु टासेर बिक्री वितरण गर्ने गरेका थिए । उनले आफ्नो पसलबाट बिक्री वितरण गर्ने गरेको इलेक्ट्रिक सामानहरुको वारेन्टी कार्ड समेत बनाएर दिने गरेका थिए ।