विराटनगर । प्रदेश १ का १३७ स्थानीय तहमध्ये अब उदयपुरको कटारी र त्रियुगाबाहेक सबै स्थानीय तहको मतगणना सम्पन्न भइ परिणाम आइसकेको छ । अघिल्लो निर्वाचनको तुलनामा कमजोर बनेको नेकपा एमालेले अब गठन हुने जिल्ला समन्वय समितिमा पनि कमजोर हुने देखिएको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । स्थानीय तहमा अघिल्लो निर्वाचनको तुलनामा कमजोर बनेको कारण जिल्ला समन्वय समिति पनि एमालेले गुमाउने देखिएको छ । २०७४ सालमा एमालेले प्रदेशका १० वटा जिल्ला समन्वय समितिको प्रमुख र १० वटाको उप्रमुख एक्लै जितेको थियो भने ४ वटामा माओवादीलाई उपप्रमुख दिएर उपप्रमुख जितेको थियो । काँग्रेस भने २ वटाको प्रमुख र २ वटाको उपप्रमुखमा सीमित भएको थियो ।
२०७४ सालमा काँग्रेसले सुनसरी र ओखलढुंगाको समन्वय समितिको प्रमुख र उपप्रमुख जितेको थियो । एमालेले माओवादी केन्द्रसँग तालमेल गरेर पाँचथर, भोेजपुर, मोरङ र सोलुखुम्बुमा प्रमुख जितेको थियो । ताप्लेजुङ, इलाम, झापा, खोटाङ, धनकुटा, उदपयपुर, तेह्रथुम र संखुवासभामा एमालेले एक्लै जिससको प्रमुख र उपप्रमुख जितेको थियो ।
यस पटक भने एमालेले झापा, मोरङ र धनकुटामा मात्र एक्लै जिल्ला समन्वय समिति बनाउन सक्ने भएको छ । यस्तै सुनसरी र सोलुखुम्बुमा काँग्रेससँग एक्लै जिसस गठन गर्ने मत रहेको छ । बाँकी जिल्लामा सत्तारुढ गठबन्धन कायम रहेको अवस्थामा जिससमा एमालेको प्रतिनिधित्व हुनेछैन । इलाममा भने गठबन्धन र एमालेको बराबरी मत हुने अवस्था छ ।
अहिलेको निर्वाचनको प्राप्त परिणाम अनुसार जिसस गठनको लागि मोरङमा ३४ मतमध्ये एमाले एक्लैसँग २१ मत छ । मोरङमा एमालेले ९ तहको प्रमुख र १२ तहको उपप्रमुख जितेको छ । काँग्रेसले ८ तहको प्रमुख र ४ तहको उपप्रमुख जित्दा माओवादी केन्द्र १ तहको उपप्रमुखमा सीमित छ । मोरङमा एमाले एक्लैको जिसस गठन हुनेछ ।
यस्तै १५ स्थानीय तहमध्ये एमालेले ७ प्रमुख र १० उपप्रमुख जितेको झापामा जिसस गठनका लागि बहुमत पुगेको छ । झापामा काँग्रेसले ६ तहको प्रमुख र ३ तहको उपप्रमुख जितेको छ भने २ प्रमुख र २ उपप्रमुख राप्रपाले जितेको छ ।
धनकुटाका ७ स्थानीय तहमा जिससको लागि १४ मतदाता छन् । जसमा ३ प्रमुख र ६ उपप्रमुखसहित एमालेसँग एक्लै ९ मत छ । काँग्रेसका ४ प्रमुख र माओवादीको १ उप्रमुख रहेको धनकुटामा एमालेसँग बहुमत रहेकोले एकल जिसस गठन हुनेछ ।
सुनसरीका १२ स्थानीय तहमा जिसस गठनको लागि आवश्यक बहुमत काँग्रेस एक्लैसँग छ । सुनसरीका ७ प्रमुख र ६ उपप्रमुख उसले जितेको छ । सुनसरीमा एमालेले ३ प्रमुख र ५ उपप्रमुख, माओवादीले १ उपप्रमुख, जसपाले १ प्रमुख र स्वतन्त्रले १ प्रमुख जितेका छन् ।
उता सोलुखुम्बुमा ८ स्थानीय तह रहेकोमा काँग्रेसले ५ प्रमुख र ५ उपप्रमुख जितेकोले जिसस गठन गर्न उसँगै एक्लै बहुमत छ । जिल्लामा एमालेले २ प्रमुख र १ उपप्रमुख तथा माओवादी केन्द्रले १ प्रमुख र २ उपप्रमुख जितेको छ ।
इलामको अवस्था पनि झापाकै जस्तो रहेको छ । १० स्थानीय तहमध्ये एमालेले ५ प्रमुख र ५ उपप्रमुख जितेको भएपनि बहुमतको लागि उसँग १ मत कम हुने भएको छ । काँग्रेसले ४ प्रमुख र ३ उपप्रमुख, एकीकृत समाजवादीले १ प्रमुख र १ उपप्रमुख तथा जसपाले १ उपप्रमुख जितेकोले गठबन्धनका सबै दल मिल्दा एमालेसँग बराबरी मत हुनेछ ।
भोजपुर, तेह्रथुम, खोटाङ, उदयपुर, ताप्लेजुङ, संखुवासभा, पाँचथर र इलाममा सत्तारुढ गठबन्धनले जिसस गठन गर्ने भएको छ । त्यसमध्ये कतिपय जिल्लामा त निर्वाचन अगाडि नै दलहरुले जिससको भागबण्डासमेत गरिसकेका छन् ।
भोजपुरमा ९ स्थानीय तह रहेकोमा समन्वय समितिको लागि गठबन्धनसँग ११, एमालेसँग ६ र स्वतन्त्रसँग १ मत रहेको छ । जिल्लामा काँग्रेसले ३ प्रमुख र ३ उपप्रमुख, माओवादीले २ प्रमुख र ३ उपप्रमुख, एमालेले ३ प्रमुख र ३ उपप्रमुख तथा स्वतन्त्रले १ प्रमुख जितेका छन् । जिल्लाको समन्वय समितिको प्रमुखमा जसपा र उपप्रमुख माओवादीले लिने सहमति दलहरुले यसअघि नै गरिसकेका छन् ।
उता ताप्लेजुङ ९ स्थानीय तहमा पनि गठबन्धनकै जिसस बन्ने भएको छ । जिल्लामा काँग्रेसले ४ प्रमुख र २ उपप्रमुख, एमालेले ३ प्रमुख र ३ उपप्रमुख, माओवादीले २ प्रमुख र ३ उपप्रमुख तथा एकीकृत समाजवादीले १ उपप्रमुख जितेको छ । समन्वय समितिको १८ मतमध्ये एमालेसँग ६ र गठबन्धनसँग १२ मत छ । जिल्लामा निर्वाचन अगाडि नै दलहरुले समन्व्य समितिको प्रमुख माओवादी र उपप्रमुख एकीकृत समाजवादी हुने सहमति गरिसकका छन् ।
यसैगरि ६ स्थानीय तह रहेको तेह्रथुममा काँग्रेसले ३ प्रमुख र २ उपप्रमुख, एमालेले ३ प्रमुख र २ उपप्रमुख र माओवादीले २ उपप्रमुख जिेको छ । समन्वय समितिको १२ मतमध्ये एमालेसँग ५ र गठबन्धनसँग ७ मत छ । तेह्रथुममा जिसस गठन गर्दा एकीकृत समाजवादीको प्रमुख र माओवादीको उपप्रमुख रहने दलहरुको सहमति छ ।
यस्तै खोटाङका १० स्थानीय तहमध्ये काँग्रेसले ६ प्रमुख र ४ उपप्रमुख, एमालेले २ प्रमुख र २ उपप्रमुख, माओवादीले २ प्रमुख र २ उपप्रमुख तथा जसपा र एकीकृत समाजवादीले १र१ उपप्रमुख जितेका छन् । खोटाङमा जिससको २० मतदातामध्ये एमालेसँग ४ मात्र मत छ भने गठबन्धनसँग १६ मत रहेकोले गठबन्धनकै सहमतिबाट जिसस बन्नेछ ।
उदयपुरका ८ स्थानीय तहमध्ये २ तहको परिणाम आउन बाँकी रहेको भएपनि जिल्लामा गठबन्धनले नै जिसस बनाउने निश्चित भइसकेको छ । ६ स्थानीय तहको परिणाम आउँदा जिससका मतदातामध्ये गठबन्धनसँग ९ र एमालेसँग ३ मत छ । जिल्लामा काँग्रेसले १ प्रमुख र ४ उपप्रमुख, एमालेले १ प्रमुख र २ उपप्रमुख, माओवादीले ३ प्रमुख र एकीकृत समाजवादीले १ प्रमुख जितेका छन् ।
संखुवासभाका १० स्थानीय तहको परिणाम अनुसार जिससको लागि २० मतमध्ये गठबन्धनसँग १२ र एमालेसँग ८ मत रहेको छ । जिल्लामा काँग्रेसले ६ प्रमुख र ३ उपप्रमुख, एमालेले ४ प्रमुख र ४ उपप्रमुख, माओवादीले १ उपप्रमुख र एकीकृत समाजावादीले २ उपप्रमुख जितेको छ ।
पाँचथरका ८ स्थानीय तहमध्ये एमालेले १ प्रमुख र २ उपप्रमुख मात्र जितेकोले गठबन्धनले नै जिसस बनाउने अवस्था छ । जिल्लामा काँग्रेसले ६ प्रमुख र १ उपप्रमुख, माओवादी केन्द्रले १ प्रमुख र ५ उपप्रमुख जितेका छन् ।
अहिलेसम्म प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३४ स्थानीय तहको नतिजा प्राप्त हुँदा काँग्रेसले ६७ स्थानीय तहमा प्रमुख र अध्यक्ष तथा ४४ वटा उपप्रमुखरउपाध्यक्ष पद जितेको छ । यस्तै एमालेले ४६ वटा प्रमुख अध्यक्ष र ६० उपप्रमुखरउपाध्यक्ष पद जितेको छ भने माओवादी केन्द्रले प्रमुख र अध्यक्षमा १२ र उपप्रमुखरउपाध्यक्ष २१ वटा जितेको छ ।
राप्रपा र जसपाले समान २ तहको प्रमुख र २ उपप्रमुख जितेका छन् भने ३ जना स्वतन्त्र उम्मेद्वारले प्रमुख÷अध्यक्ष पदमा जीत हासिल गर्दा नेकपा एकीकृत समाजवादीले २ प्रमुख÷अध्यक्ष र ५ स्थानमा उपप्रमुख÷उपाध्यक्ष जितेको छ ।