त्रियुगामा पुनः मतदान नहुने, मतगणनाको तयारी

उदयपुर । त्रियुगा नगरपालिकामा पुनः मतदान नगर्ने निर्णय गर्दै निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

अधिकांश दलहरूले वडा नम्बर १२ मा पुनः मतदानको माग गरेपनि निर्वाचन आयोगले भने मतगणना गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आयोगको निर्देशन अनुसार मतगणना सुरु गर्ने जानकारी दिए। ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ उनले भने, ‘मतगणनाको तयारी गर्दैछौं ।’

त्रियुगा १२ को मतदानमै विवादित भएसँगै मतगणना स्थगित भएको थियो । पुनः मतदान गर्ने भन्दै सूचना टाँसिएको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुनः मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपालगायतले पुनः मतदानको माग राखेका छन् । नेकपा एमाले र कांग्रेसको मेयरका उम्मेदवार मतगणनाका लागि दवाव दिँदै आएका थिए । काँग्रेसको उपमेयरका उम्मेदवार भने पुनः मतदानको पक्षमा थिइन् ।

त्रियुगा १२ मा मतदान भइरहेको बेला वैशाख ३० गते पानी परेको भन्दै मतदान स्थगित गरेर मतदानको अर्को सूचना जारी गर्ने निर्णय गरेका थिए । मतदानको लाइन बसिसकेका मतदातालाई पनि फर्काइएको थियो ।

मङ्गलबार, १० जेठ, २०७९, बिहानको ११:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर