चितवन । नेकपा एमाले र राप्रपाको गठबन्धनलाई पराजित गर्दै चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन् ।
भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमध्य दाहालले ५२ हजार ३० मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत मात्र पाए । दाहालले १२ हजार ४४९ मतान्तरले एमाले र राप्रपाका साझा उम्मेदवार सुवेदीलाई पराजित गरेकी हुन् । गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनबाट काँग्रेसका अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३० हजार १९१ मत मात्र आएको छ ।
२०७४ मा पनि भरतपुरमा माओवादीको मेयर र काँग्रेसको उपमेयर थिए । भरतपुरका २९ वडामध्ये एमालेले ६ वडा, स्वतन्त्रले १ वडा र बाँकी २२ वडा गठबन्धनले जितेको छ ।
महानगरपालिकाको प्रमुखमा दाहाल दोस्रो पटक निर्वाचित भएकी हुन् । नेकपा माओवादी केन्द्रकी नेतृ दाहाल २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी हुन् । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी उनी पार्टीभित्र इमान्दार र संघर्षशिल नेतृत्वको रुपमा स्थापित छन् ।
माओवादी जनयुद्ध भएदेखि नै सक्रिय रेनु १० वर्षे जनयुद्धमा भूमिगत राजनीतिमा सक्रिय थिइन् । २०५१ सालबाटै पार्टीमा सक्रिय उनी जनयुद्धकालमा विकट ग्रामीण क्षेत्रमा रहेर काम गरिन् भने प्रवास विभाग अन्तर्गतको संगठनमा पनि काम गरिन् ।
जनयुद्धकालमा माओवादी आधार इलाकाको रूपमा रहेको रोल्पाको जिल्ला सह–इन्चार्ज भएकी उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव हुँदै अध्यक्षसमेत उनी रहिसकेकी छन् । शान्ति प्रक्रियामा आएपछि काठमाडौँमा पार्टीका जिल्ला सचिव बनेकी उनी अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रूपमा पनि काम गरिसकेकी छन् ।
समानुपातिकतर्फबाट २०६४ मा संविधानसभा सदस्य भएकी उनी दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँ १ मा काँग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन् ।
उनले भरतपुरको प्रमुख पदमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेका देवी ज्ञवालीलाई हराएकी थिइन् । उनले ४३ हजार १२७ मत ल्याउँदा एमालेका ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । त्यसबेला एक्लो एमालेलाई झिनो मतले हराएको रेनुले यसपटक राप्रपा र एमालेको गठबन्धनलाई भारी मतान्तरले पराजित गरेकी हुन् ।