चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् ।
भरतपुरमा १११७३ मत गणना गर्न बाँकी रहँदै त्योभन्दा धेरै मतान्तर कायम गरिसकेकोले दाहाल विजयी भएकी हुन् ।
भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ११४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा धेरै हो ।
भरतपुरमा दाहाल काँग्रेस र माओवादीको गठबन्धनबाट उम्मेदवार बनेकी हुन् भने सुवेदी एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार बनेकी हुन् । मेयर पदमा नेपाली काँग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले १४२६३ मत पाएका छन् ।
यस्तै महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी पनि मतगणना गर्न बाँकी हुँदा नै विजयी भएका छन् । अधिकारीले ४७९५८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २७९२२ पाएकी छन् । अधिकारीले २० हजारभन्दा धेरै मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् ।