विराटनगर । मोरङका बहुमत स्थानीय तहमा जित हासिल गरेको नेकपा एमालेले जिल्ला समन्वय समितिमा एकल नेतृत्व गर्ने भएको छ । नेकपा एमालेका तर्फबाट मोरङका १७ मध्ये ९ स्थानीय तहको प्रमुख र १२ उपप्रमुखसहित २१ जना निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समिति गठन गर्न १८ जना सदस्यको बहुमत आवश्यक पर्नेमा नेकपा एमाले एक्लैको २१ मतसहित स्पष्ट बहुमत भएकोले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यहरुमा एमालेका उम्मेदवारहरु नै निर्वाचित हुने निश्चित छ । तर, एमालेले जिससको नेतृत्वको लागि कुनै तयारी नगर्दा कसलाई लैजाने भन्ने अन्यौल भएको छ ।
स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन बनाएर चुनावमा गएका कारण नेकपा एमालेले जिल्ला समन्वय समितिको नेतृत्व आफूले पाउनसक्ने अनुमान गरेको थिएन । त्यसैले उसले जिससको नेतृत्व गर्ने ढंगको सिनियर उम्मेदवारहरु स्थानीय पालिकामा दिएको थिएन । चुनावी परिणाम आफ्नो पक्षमा आएपछि जिससमा कसरी प्रतिनिधित्व गराउने भन्ने उल्झन एमालेलाई आइपरेको हो ।
‘जिल्ला समन्वय समितिमा कसलाई पठाउने भन्ने विषयमा हामीले छलफल थालेका छौं,’ नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालले भने ‘अहिले निर्वाचित भएर आएका साथीहरुको बारेमा हामीले अध्ययन गरिरहेका छौं ।’ स्थानीय तहका कार्यपालिकाहरुमा निर्वाचित गराएर जिल्ला समन्वय समितिमा ल्याउने हो कि भन्ने पनि छलफलमा एमाले छ ।
स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालेले जिल्ला समन्वय समितिको नेतृत्व गर्नकै लागि भनेर पार्टीका पूर्वजिल्ला सचिब नरेश पोखरेललाई वडा सदस्य पदमा चुनाव लडाएको थियो । तर, यस पटकको निर्वाचनमा एमालेले त्यस्तो पूर्वतयारी गरेको थिएन ।
नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले भने जिसस गठनका लागि आफूहरुको पूर्वतयारी रहेको दावी गर्छन् । ‘हामीले जिससको नेतृत्व गर्नुपर्छ भन्ने पूर्व सोचअनुसार नै र तयारी गरेका थियौं’ उनले भने ‘अहिले हामी सिनियर नेतृत्वलाई नै जिससको प्रमुख बनाउने गरी छलफल गरिरहेका छौं ।’
अध्यक्ष पोखरेलले आवश्यकता अनुसार स्थानीय तह कार्यपालिकामा निर्वाचित गराएर भएपनि सिनियर नेतालाई जिससमा पठाउनेगरी छलफल भइरहेको छ । केहि दिनभित्रै जिससको प्रतिनिधित्वको विषयमा एउटा निर्णयमा पुग्ने उनले बताए ।
जिससको आकांक्षा राख्ने सिनियर नेताहरुमा रामलाल साह र खेम नेपाली भएको बुझिएको छ । विराटनगरका मतदाता उनीहरु दुबै स्थानीय तहमा निर्वाचित भएका छैनन् । विराटनगर महानगरपालिकाको कार्यपालिकामा निर्वाचित भएको अवस्थामा उनीहरु जिससमा जान पाउँछन् ।
तर, धेरै सदस्य जितेको भएपनि महानगरमा एमालेको बहुमत छैन । एमालेलाई सत्तारुढ गठबन्धनमा रहेको जसपाले सहयोग गरेको अवस्थामा भने महानगरसभामा बहुमत पुग्ने अवस्था छ । एमालेले जिससको उप्रमुख दिने सर्तमा जसपालाई गठबन्धनको लागि आग्रह गर्ने एक नेताले बताए । तर, गठबन्धनमा रहेको जसपाले एमालेलाई सहयोग गर्छ कि गर्दैन यकिन भइसकेको छैन ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मोरङमा एमालेले ९ पालिका प्रमुख र १२ उपप्रमुख जितेको छ । यस्तै काँग्रेसले ८ प्रमुख र ४ उपप्रमुख जित्दा माओवादी केन्द्रले १ उपप्रमुख जितेको छ ।
नेकपा एमालेबाट निर्वाचित विराटनगर महानगरपालिकाको उपप्रमुख शिल्पा निराला कार्की, सुन्दरहरैंचाको प्रमुख केदार गुरागाईं र उपप्रमुख अक्कली चौधरी, बेलबारीको प्रमुख दिलप्रसाद राई, उर्लाबारी नगरपालिकाको प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मिनाकुमारी खतिवडा, रतुवामाई नगरपालिकाको उपप्रमुख दमयन्तादेवी चुडाल, लेटाङ नगरपालिकाको प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी पोखरेल, सुनवर्षी नगरपालिका प्रमुख श्यामप्रसाद राजवंशी र उपप्रमुख मिरादेवी दास केवरत जिससका मतदाता हुन् । यस्तै, रंगेली नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवाल र उपप्रमुख भूमाकुमारी पराजुली, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो र उपप्रमुख देवीमाया काफ्ले, केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर र उपाध्यक्ष मनमाया मगर, कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम र उपाध्यक्ष भोलाप्रसाद अधिकारी, ग्रामथान गाउँपालिका उपाध्यक्ष गुणावतीदेवी थारु र कटहरी उपाध्यक्ष सीतादेवी राजवंशीले जिससमा मतदान गर्नेछन् ।
नेपाली काँग्रेसबाट स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष उपाध्यक्ष गरी १२ जना निर्वाचित भएका छन् । विराटनगर महानगरपालिबाट निर्वाचित प्रमुख नागेश कोइराला, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार, मिक्लाजुङ गाउँपालिका अध्यक्ष बवीकुमार राई, ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार, जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह र उपाध्यक्ष हन्ना सोरेन, धनपालथान गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदार र उपाध्यक्ष नसीमा वानो, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र बेलबारी नगरपालिका उपप्रमुख नितु थापा जिल्ला समन्वय समिति निर्वाचित गर्न मतदाताको भूमिकामा छन् । नेकपा माओवादी केन्द्रबाट मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेल एक जनामात्र निर्वाचित छन् । उनीसहित गठबन्धन दलसँग जम्मा १३ मत मात्र छ ।