जिसस प्रमुख बन्न वडासदस्यमा उठेका गाउँपालिका उपाध्यक्ष पराजित

दमक । झापाको कमल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष वडासदस्यमा पराजित भएका छन् । निवर्तमान उपाध्यक्ष बेनुप्रसाद सिवाकोटी गाउँपालिका–६ को वडासदस्यमा पराजित भएका हुन् ।

सिवाकोटी जिल्ला समन्वय समितिको प्रमुख बन्ने उद्देश्यसहित वडा सदस्यको उम्मेदवार बनेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष भएका उनी अहिले सदस्यमै पराजित भएका हुन् ।

उनी उम्मेदवार बनेको वडाको अध्यक्षमा भने एमालेका उम्मेदवार नै विजयी भएका छन् । एमालेका नरेन्द्र भट्टराई १ हजार ७५० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमकुमार राईले १ हजार ३६७ मत मात्र पाएका थिए ।

वडाका ४ सदस्यमध्ये सिवाकोटीबाहेक तीनै जना एमालेका निर्वाचित भएका छन् । खुल्ला सदस्यमा एमालेका टंकबहादुर खड्का १५१९ र काँग्रेसका ओमप्रसाद पराजुली १५११ मत प्राप्त गरि विजयी भए । सिवाकोटी भने १४८८ मत मात्र प्राप्त गरेर पराजित भएका हुन् । यस्तै महिला सदस्यमा एमालेकै गंगादेवि राई र दलित महिला सदस्यमा एमालेकै रोजिना विश्वकर्मा निर्वाचित भएकी छन् ।

वडा सदस्यमा पराजयसँगै सिवाकोटी जिल्ला समन्वय समितिमा जानबाट रोकिएका छन् । सिवाकोटी सधैँ सत्तामा रहेका पात्रका रूपमा स्थानीयस्तरमा परिचित छन् । उनी तत्कालीन लखनपुर गाविसको दुई कार्यकाल उपाध्यक्ष भएका थिए । २०७४ को निर्वाचनमा अध्यक्षको आकांक्षा राखेपनि एमालेले मेनुका काफ्लेलाई उम्मेदवार बनाएपछि उनी तेस्रो कार्यकालको लागि उपाध्यक्ष बनेका थिए ।

आइतबार, ०८ जेठ, २०७९, साँझको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर