विराटनगर । सुनसरीको इटहरी र धरानलाई नेकपा एमालेको किल्लाको रुपमा चिनिन्छ । यसअघिका सबै निर्वाचनमा एमाले उम्मेदवार जितेका इटहरीको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएर नयाँ इतिहास कायम गरेका छन् ।
२०५७ सालमा इटहरीकै जनता क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको विरासत भत्काएर जित रचेका पौडेलले २२ वर्षपछि उपमहानगरको मेयर निर्वाचित भएका हुन् । पौडेललाई यसपटक सत्ता गठबन्धनका अन्य दलको सहयोग महत्वपूर्ण रह्यो।
२०४९ यताका हरेक स्थानीय निर्वाचनमा जित्दै आएको एमालेलाई सत्ता गठबन्धनका अन्य दलको सहायतामा काँग्रेसले हराएको हो। २०४९ मा भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन इटहरी गाविसमा एमालेका प्रमोद श्रेष्ठ विजयी भएका थिए । २०५४ सालको निर्वाचनमा सर्वध्वज साँवा मेयरमा निर्वाचित भए । २०७४ मा भने द्वारिकलाल चौधरी एमालेबाट मेयर निर्वाचित भए । चौधरीको विवादित ५ वर्षे कार्यकाल पनि पौडेललाई जित निकाल्न सहयोगी बन्यो ।
पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार यामकुमार सुब्बाले २८ हजार ३१ मत पाए । उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन्। ३२ हजार ४३६ मत ल्याएकी चौधरीले सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का केशव बिष्टलाई फराकिलो मतान्तरले हराइन् । बिष्टले १८ हजार ३१ मत ल्याए।
आम इटहरीवासीको सहयोगमा जीत सम्भव भएको बताउँदै पौडेलले गठबन्धनका सहयात्री दलहरू गरेको विश्वासले सफलता मिलेको उल्लेख गरे । इटहरीमा चुनाबी अभियानको क्रममा बाढी र डुबानको समस्यालाई पौडेलले उठाएका थिए । उनले मुख्य प्राथमिकता त्यसैलाई दिएर काम गर्ने बताएका छन् । इटहरीमा सामुदायिक अस्पताल निर्माण गर्ने मुद्दा पनि उनको प्राथमिकतामा छ ।
स्नातक तहसम्मको अध्ययन गरेका ४५ वर्षीय पौडेल जग्गाको कारोबारमा संलग्न छन् । उनीको विगत भने विवादित थियो । अघिल्लो स्थानीय चुनावताका उनी जेल पनि परेका थिए। शरीर बन्धक तथा अपहरण मुद्दामा जेलमा रहेका उनलाई सर्वोच्च अदालतले सफाइ दिएपछि रिहा भएका थिए।
कुनैबेला एमाले अखिलका कडा कार्यकर्ता पौडेल कांग्रेस प्रवेश गरेर स्ववियु सभापति भएका थिए । इटहरी काँग्रेसको सफल नेतृत्व गरेकोले उनलाई उपमहानगरको मेयर बन्ने बाटो सहज भयो । इटहरीका कांग्रेस कार्यकर्ताहरू यसपटकको चुनावी सफलतालाई ‘ऐतिहासिक’ ठान्छन्।